coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

गण्डकी प्रदेशमा प्रधानमन्त्रीले सम्बोधन गर्ने, अवरोध गर्ने कांग्रेसको तयारी

पोखरा- गण्डकी प्रदेशको संसदलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक सम्बोधन गर्ने भएका छन्। गण्डकी प्रदेशसभाको बिहिबारको बैठकलाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। तर प्रतिक्षी नेपाली कांग्रेस भने सम्वोधन गर्ने कार्यक्रममा अवरोध गर्ने मनसायमा देखिएको छ। प्रदेशका उपसभामुख सिर्जना शर्माले प्रधानमन्त्री ओलीले दिउँसो १२:४० बजे संसद बैठकमा सम्बोधन गर्ने जानकारी दिईन्। प्रधानमन्त्री ओलीले बैठक सम्बोधन गर्ने भएपछि त्यसकै तयारीको लागि बुधबार दिउँसो ४ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक डाकिएको उनले जनाईन्।

प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्ने भएपछि संसद सचिवालयले सबै सांसदलाई साढे १२ बजे उपस्थित हुन सूचना जारी गरेको छ। यस्तै, सुरक्षा व्यवस्थाको तयारीको लागि सर्कुलर जारी गरिएको संसद सचिवालयका सचिव शम्भु खड्काले जानकारी दिए।

संसदमा प्रधानमन्त्री ओलीले गण्डकी प्रदेशका सम्भावनका विषयमा धारणा राख्ने अनुमान गरिएको छ । प्रदेशको नाम र स्थायी राजधानी तोक्ने दोश्रो प्रदेश गण्डकी हो । राजधानीमा सर्वसम्मत भएतापनि नाममा भने केही असन्तुष्टि देखिएको थियो । यद्यपि दुईतिहाई बहुमतले गण्डकी नाम पारित गरेसँगै असन्तुष्टिहरु पनि साम्य भएका छन् ।

संविधानको धारा १८४ तथा प्रदेशसभा नियमावलीको नियम ३५ अनुसार प्रदेश प्रमुखले नीति तथा कार्यक्रम पेश गर्दा मात्रै संसद बैठकलाई सम्बोधन गर्न पाउने व्यवस्था छ । तर, संविधान र प्रदेश नियमावलीमा राष्ट्रप्रमुख वा सरकार प्रमुखले प्रदेशसभालाई सम्बोधन गर्ने व्यवस्था छैन।

प्रधानमन्त्रीको सम्बोधनलाई कांग्रेसले अवरोध गर्ने संकेत

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको संसद बैठकलाई सम्बोधन गर्ने कार्यक्रममा अवरोध गर्ने भएको छ । संसदीय दल स्रोतका अनुसार दलले लिखित रुपमा नै निर्णय नगरेतापनि कांग्रेसले गोविन्द केसीको मुद्दालाई लिएर सदन अवरुद्ध गर्ने जनाईएको हो।

देश र जनताको हितमा ल्याईएको चिकित्सा शिक्षा विधेयकलाई कांग्रेस सरकारको पालामा ल्याएजसरी नै लागु गर्नुपर्ने, डा. गोविन्द केसीको जीवनरक्षाको विषयमा सरकार जिम्मेवार नभएको विषय उठान गरेर कांग्रेसले सदन अवरुद्ध गर्ने स्रोतले जानकारी दिएको छ।

यस्तै, प्रधानमन्त्रीको सम्बोधनबारे प्रतिपक्षीसँग छलफल नभएकोमा पनि कांग्रेसले असन्तुष्टि जनाएको छ। प्रदेश सभामा प्रधानमन्त्रीको सम्वोधनमा अवरोध भएमा दुखद हुने नेकपाका प्रदेश सभा सदस्य राजिव पहारीले बताए। 'गणडकी प्रदेशका लागि प्रधानमन्त्रीको सम्वोधन अवसर हो',उनले भने, 'यहाँको विकासको बारे उहाँले बोल्नु हुनेछ। प्रतिपक्षले अवरोध गर्दैन भन्ने विश्वास लिएका छौं।'

प्रकाशित: २ श्रावण २०७५ १०:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App