१६ चैत्र २०८० शुक्रबार
राजनीति

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपीडी सेवा बन्द

डा. केसीलाई फिजियोथेरापी गर्दै चिकित्सकहरु। तस्बिरः नागरिक

काठमाडौं – १८ दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ओपीडी सेवा ठप्प पारिएको छ।

डा. केसीको जीवन रक्षा र उनका माग सम्बोधनको माग गर्दै आकस्मिक बाहेकका सेवा अनिश्चित कालका लागि ठप्प पारिएको प्रतिष्ठानका निर्देशक डा. धर्मराज गोसाईले जानकारी दिए। डा. केसीका मागप्रति वेवास्ता गरिएको भन्दै उनले माग सम्बोधन नहुँदासम्म सेवा सुचारु नगरिने चेतावनी दिए। डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको बताउँदै गोसाईले वार्ता टोलीसँग केसीका माग सम्बोधन गरी चाँडो अनशन तोडाउन आग्रह गरे।

ओपीडी सेवा अवरुद्ध हुँदा बिरामी मर्कामा परेका छन्। एकजना बिरामीका कुरुवा हिक्मत रावलले सरकार केसीका मागप्रति उदासीन बन्दा आफुहरुले सास्ती खेप्नु परेको गुनासो गरे। उनले डा. केसीका माग सम्बोधन गरी सजहरुपमा उपचार पाउने जनताको अधिकार सुनिश्चित गर्न पनि सरकारसँग आग्रह गरे।

उता डा. केसीको स्वास्थ्य अवस्था निकै नाजुक बन्दै गएको उपाचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। उपचारमा  संलग्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाका अनुसार डा. केसीको घाटीमा संक्रमण देखिए छ। उनका हात सुन्निएका छन् भने मुटुको चाल निकै बढेको छ।

रोकायाले डा. केसीले औषधि लिन नमानेका कारण समान्य सलाइन पानी र अक्सिजनको भरमा उपचार भइरहेको बताए।

प्रकाशित: १ श्रावण २०७५ ०६:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App