coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मस्यौदा समितिमा सहमति नजुट्दा कांग्रेसका सबै कार्यक्रम प्रभावित

काठमाडौं – नेपाली कांग्रेस शीर्ष नेताबीच विधान संशोधन मस्यौदा समिति गठनमा सहमति जुट्न नसक्दा पार्टीका अन्य कार्यक्रमसमेत प्रभावित हुन थालेका छन्। सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच मस्यौदा समितिमा सहभागी गराउने व्यक्तिमा सहमति जुट्न नसक्दा आसान्न महासमिति बैठकसमेत प्रभावित हुने संकेत देखिएको हो।

वैशाख १६ गते सम्पन्न केन्द्रीय समितिले नयाँ संविधानअनुसार पार्टी परिर्वतन गर्नका लागि आगामी भदौमा महासमिति बैठक गर्ने निर्णय गरेको थियो। त्यसका लागि तत्काल विधान संशोधनका लागि मस्यौदा समिति गठन गर्ने निर्णय गरेको थियो। दुवै पक्षीय नेताहरू समितिमा सहभागी गराउने व्यक्ति र संख्यामा आ–आफ्नो अडानमा कायमै रहँदा समिति गठन हुन नसकेको हो।

सभापति देउवा विधान संशोधन समितिका साथै पार्टीका विभागसमेत गठन गरेर अघि बढ्ने रणनीतिमा छन्। त्यसका लागि देउवाले नेता पौडेल पक्षसँग नाम मागेको निकटहरुले बताउँदै आएका छन्। फरकफरक विषय त्यहीअनुसार टुंगो लगाउनुपर्ने पक्षमा पौडेल पक्षीय नेताहरूरहेपनि सभापति देउवा आफ्नो अडानमा कायमै रहेपछि सोमबार निकट नेताहरूको बैठक बोलाएका छन्।

सभापति देउवा विधान संशोधन मस्यौदा समिति गठन हुन नसकेको विषयलाई देखाएर महासमिति बैठक पर सार्ने रणनीतिमा रहेको भन्दै पौडेल पक्षीय नेताहरुको बैठकले त्यस विषयमा ठोस निष्कर्षमा पुग्ने निकट स्रोतको दाबी छ।

मस्यौदा समितिमा नेताहरू रुमलिन पुग्दा साढे दुई महिनाअघि सम्पन्न केन्द्रीय समिति बैठक निर्णयअनुसार संगठन सुदृढीकरणको कार्यक्रम पनि कांग्रेसले तय गर्न सकेको छैन। त्यसका साथै प्रतिनिधि र प्रदेशसभा निर्वाचनका मुखमा विजयकुमार गच्छदार नेतृत्वका रहेको फोरम लोकतान्त्रिकसँग कांग्रेसले पार्टी एकता गरेको थियो। तर अन्य नेता र कार्यकर्ता समायोजन नहुँदा गच्छदारले असन्तुष्टी जनाउँदै आएका छन्। बैठकले एक महिनाभित्र गच्छदार नेतृत्वमा रहेको फोरम लोकतान्त्रिकका नेताहरूको समायोजन र सदस्यता दिने निर्णय लिएको थियो।

प्रकाशित: ३२ असार २०७५ ०१:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App