१५ चैत्र २०८० बिहीबार
राजनीति

दाहालको चिन्ता : प्रदेश राजधानी एउटा बदल्यो भने चारैतिर बदल्ने हावा चल्ने हो की ?

चितवन– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रदेशको स्थायी राजधानीका बारेमा पार्टीले आधिकारिक धारणा बनाइ नसकेको बताएका छन्। संविधानले नै प्रदेशको राजधानी तोक्ने जिम्मा प्रदेश सभालाई दिइएको उनले बताए।  

बिहीबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग गरेको कुराकानीमा उनले भने, ‘मैंले त चितवन भए राम्रो हुन्छ भन्छु।’ अस्थायी राजधानी तोकेर काम, कारबाही सुरु भइसकेकाले राजधानीका सन्दर्भमा एकचोटी तोकिसकेको ठाउँ नबदल्ने होकी भनेर छलफल समेत चलेको उनले बताए। ‘एउटा बदल्यो भने चारैतिर बदल्ने हावा चल्ने हो की’, उनले प्रश्न गर्दै भने, ‘यो चिन्ता राजनीतिक नेतृत्वमा रहेको छ।’  

समसामयिक विषयमा गरिएको कुराकानीमा उनले डा. गोविन्द  केसीको स्वास्थ्य स्थिती बुझेर काठमाडौं ल्याएर उपचार गर्न सल्लाह दिएको उनले बताए। डा. केसीको उपचारसँगै वार्ताको पहल थाल्नुपर्ने उनको भनाई छ। डा. केसीका माग हुबहु पुरा नहुने उनले बताए। 

कृष्णप्रसाद अधिकारी हत्या प्रकरणका बारेमा अध्यक्ष दाहालले अदालतको फैसलालाई सम्मान गरेर समस्या समाधानको सकारात्मक वातावरण बनाउने प्रयास गरिएको बताए। चितवन क्षेत्र नम्बर तीनका सभासद् समेत रहेका अध्यक्ष दाहाल चितवनको विकासको निम्ती विशेष दायित्व भएपनि देशकै विकासका लागि र समृद्धिका लागि ध्यान दिनुपर्ने जिम्मेवारी रहेको बताए। 

जनताले देख्नेगरी काम गरेर मात्र जनताको अगाडि पर्न चाहेको उनले बताए। यसअघि माडी पुगेर जनतासँग गरेको कुरामा केही काम गर्न नसकेकाले माडीबाट बोलावट भएपनि आफु नगएको उनले बताए। माडीका जनताले देख्नेगरी काम नगरी भाषण मात्र गर्न आउँदिन भनेर माडी नगएको उनको भनाई थियो।

प्रधानमन्त्री र अर्थमन्त्रीसँग सल्लाह भए अनुसार माडीको तटबन्धको लागि हालै पाँच करोड रुपैयाँ निकासा गरेको जानकारी गराउँदै दाहालले जनताको बीचमा बोलेका कामहरु अगाडि बढाउन तत्पर रहेको स्पष्ट पारे।

प्रकाशित: २८ असार २०७५ १२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App