१६ चैत्र २०८० शुक्रबार
राजनीति

‘कांग्रेस नेताले मेडिकल कलेज खोल्दा चुप लाग्ने, नेकपाकाले खोल्दा अनशन बस्ने?’

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य योगेश भट्टराईले डा. गोविन्द केसीलाई वार्तामा आउन आग्रह गरेका छन्। नेता भट्टराईले केसीको जीवन रक्षा र जायज माग पूरा गर्नका लागि सरकार र आफ्नो पार्टी दुवै तयार रहेको स्पष्ट पारे।

डाक्टर केसीको हठले समस्या समाधान हुन नसक्ने भन्दै भट्टराईले काठमाडौं आएर उपचार गरिसकेपछि वार्तामा बस्न आग्रह गरे। ‘तपाई काठमाडौं आउनुस्। वार्ता गर्न सरकार तयार छ। अनशन बसिरहनु पर्दैन’, उनले भने। 

जनताको शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारीजस्ता अधिकार दिनका लागि सरकार तयार रहेको जिकिर गर्दै भट्टराईले गोविन्द केसी कहिले काठमाडौं र कहिले जुम्ला पुगेर अनशन बस्न नपर्ने बताए। ‘गोविन्द केसीसँग बन्द कोठाभित्र होइन, खुला मञ्चमा बसेर वार्ता गर्न तयार छौं। सबै टेलिभिजन बोलाएर प्रत्यक्ष प्रशारण गर्दै वार्ता गरौं। यसका लागि अनशन तोड्नुस, स्वस्थ हुनुस्’, भट्टराईले भने। 

केसीको अनशनको उद्देश्य नै शंकास्पद 

नेता भट्टराईले हरेक पटकको अनशन मेडिकल शिक्षाको भर्ना खुल्ने समयमा बस्ने गरेको भन्दै केसीको अनशनको उद्देश्य नै शंकास्पद रहेको दाबी समेत गरे। जायज मागलाई सकारात्मक रुपमा लिन सकिने भएपनि केसीले नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले लगानी गरेको कलेजलाई सम्बन्धन नदिने खेल खेलेको उनको आरोप छ।

‘फलानो मेडिकल कलेजलाई सम्बन्धन देउ, ढिस्कानोलाई नदेउ भन्ने अधिकार गोविन्द केसीलाई कसले दियो? देशभर नेपाली कांग्रेसका नेताहरुले १८ वटा मेडिकल कलेज खोल्दा चुप लागेर बस्ने, नेकपाका नेताहरुको कलेजले सम्बन्धन पाउने बेलामा अनशन बस्ने? मनमोहनसँग के दुश्मनी छ?’ आक्रोशित हुँदै भट्टराईले प्रश्न गरे। 

मेडिकल कलेज सञ्चालन गर्ने नेपाली कांग्रेसका नेताहरु चाँही राम्रो अनि नेकपाका नेताले मेडिकल कलेज खोल्न खोज्दा चाँही माफिया भनी भट्टराईले प्रश्न थपे।

अहिलेसम्म खुलिसकेका मेडिकल कलेजको पनि छानबिन गर्नुपर्ने भट्टराईको तर्क छ। संसदीय छानबिन समिति बनाएर सबै मेडिकल कलेजलाई छानबिनको दायरामा ल्याइने भट्टराईले बताए। 

माथेमा प्रतिवेदन सुझाबमात्रै भएकाले हुबहु त्यसैका आधारमा नियम बनाउनुपर्छ भन्ने कुरा जायज नभएको उनको भनाई छ। 
नेपाल चिकित्सक संघले केसीको मागप्रति समर्थन जनाउँदै आन्दोलन गरेकामा भट्टराइले आपत्ति जनाए। ‘गोविन्द केसीलाई लडाएर अनशन बस्न लगाउने अनि आफू आन्दोलन गर्ने ? अरुको जीवनमाथि किन खेलवाड ? सक्नुहुन्छ भने तपाईहरु आफै अनशन बस्नुस्’, उनले चुनौति दिए। 

‘केसीलाई हामीले उचालेका छैनौं’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेले गोविन्द केसीले उठाएका माग कुनै राजनीतिक दल वा समुहका पक्षमा नभई नेपाली जनताको पक्षमा रहेकाले सरकारले गम्भीरतापूर्वक सोच्नुपर्ने बताए। 

माथेमा प्रतिवेदनले दिएका सुझाबका आधारमा ल्याईएको अध्यादेशको साटो प्रतिवेदनको भावनाविपरित सरकारले प्रतिस्थापन विधेयक ल्याएकाले अहिलेको समस्या निम्तिएको पाण्डेले बताए। 

चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि १५ औँ पटक अनशनमा बसेका गोविन्द केसीको माग जायज भएकाले कांग्रेसले समर्थन गरेका बताउँदै पाण्डेले केसीको जीवनरक्षाका लागि सरकार गम्भीर हुनुपर्ने बताए। 

केसीलाई कांग्रेसले उछालेको भन्ने आरोपको खण्डन गर्दै पाण्डेले भने, ‘केसीलाई हामीले उचालेका छैनौँ। उहाँलाई देखाएर कांग्रेसले राजनीति गरेको होइन। त्यो अवस्था आइसकेको छैन। कांग्रेस कमजोर छैन। जनताको हितमा भएका जायज मागको पक्ष लिएका मात्रै हौं।’ 

प्रधानमन्त्री केपी ओलीले केसीको मागलाई बेवास्ता गरेको आरोप लगाउँदै पाण्डेले अधिनायकवादको संकेत देखिन थालेको जिकिर गरे। ‘प्रधानमन्त्री ओलीले संसदमा भन्नुभयो, कोही एउटा व्यक्ति मर्छ भन्दैमा माग पूरा गर्न सकिँदैन। कोही व्यक्ति यति भाग्यमानी छन् कि जुम्लातिर गएर सुतेपनि ठूला–ठूला समाचार बन्छन्। यस्तो भनाई सर्वसत्तावाद नभए के त ?’ पाण्डेले प्रश्न गरे। आफूमात्रै सत्य अरु सबै मिथ्या भन्ने ओलीको सोच अधिनायकवाद भएको उनको तर्क थियो।

प्रकाशित: २७ असार २०७५ १०:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App