१६ चैत्र २०८० शुक्रबार
राजनीति

प्रयोग भएका मतपत्र जलाइए

निर्वाचनमा प्रयोग गरिएका मतपत्र जलाउँदै जिल्ला निर्वाचन कार्यालय खोटाङका कर्मचारी । तस्बिर : दमन राई/नागरिक

खोटाङ– खोटाङमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उपयोग गरिएका मतपत्र जलाइएको छ।

२०७४ साल मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनक्रममा उपयोग गरिएका मतपत्र, मुचुल्का, मतदाता नामावलीलगायतका सामग्री जलाएर नष्ट गरिएको हो । दिक्तेलस्थित पूर्वाञ्चल सिँचाइ सबडिभिजन कार्यालयको स्टोरमा सिलबन्दी गरेर राखिएका प्रयोग भइसकेका मतपत्र, मतपत्रको अर्धकट्टी, मतदाता नामावली, सदर तथा बदर मतपत्रलगायत कागजात बुधबार नष्ट गरिएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए।

निर्वाचनको मतपरिणाम घोषणा भएको ३५ दिनभित्र उम्मेदवारको योग्यता सम्बन्धमा कुनै पनि उजुरी नपरे ३ महिनाभित्र निर्वाचनक्रममा प्रयोग गरिएका सम्पूर्ण सरकारी कागजात धुल्याउने नियम २०२७ को नियम ५ अनुसार १ लाख २५ हजार मतदाताले मतदान गरेपश्चात सिलबन्दी गरेर राखिएका मतपत्र, खाली मतपत्र र नामावली जलाएर नष्ट गरिएको छ ।

निर्वाचनसँग सम्बन्धित कागजात सिँचाइ सबडिभिजन कार्यालय परिसरमै जलाइएको थियो । ६४ प्रकारका निर्वाचन सामग्रीमध्ये काम नलाग्ने २-३० प्रकारका सामग्री नष्ट गरिएको छ । निर्वाचन आयोगले चालू आर्थिक वर्षभित्रै कागजात धुल्याउन जिल्ला निर्वाचन कार्यालयलाई दिएको निर्देशनअनुसार निर्वाचनमा प्रयोग भएका कागजातको संवेदनशीलतालाई ख्याल गरेर निर्वाचनको गोपनीयता भंग नहुने गरी धुल्याइएको हो । ‘मतपरिणाम सार्वजनिक भएपछि निर्धारित म्यादभित्र कसैको उजुरी नपरे मतपत्र जलाउने व्यवस्था छ,’ खत्रीले भने ।
 

 

प्रकाशित: २१ असार २०७५ ०१:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App