७ वैशाख २०८१ शुक्रबार
राजनीति

फेरिदै माओवादी विद्रोहको सुरुवाती ठाउँ ‘होलेरी’

होलेरी बजार । तस्बिर दिनेश सुवेदी

रोल्पा– रोल्पाको ‘होलेरी’ माओवादी १० वर्षे शसस्त्र विद्रोहको सुरुवाती ठाउँ हो । २०५२ साल फाल्गुन १ गते यहाँको इलाका प्रहरी कार्यालयमा हमला गरेर तत्कालीन माओवादी विधिवत भूमिगत भएको थियो । त्यो आक्रमणका ३ जना हस्तीहरु अहिले रोल्पाबाट निर्वाचित भएका छन्। प्रतिनिधि सभामा जितेका बर्षमान पुन, प्रदेशसभा ‘क’ बाट निर्वाचित कुलप्रसाद केसी सोनाम र ‘ख’ बाट निर्वाचित दिपेन्द्र पुन सिजल ‘होलेरी’ आक्रमणमा सहभागी पात्र हुन् । त्यसो त आक्रमणका मुख्य पात्र नन्दबहादुर पुन अहिले उपराष्ट्रपति छन्।

कुनै समय सुनसान र निरश होलेरी हिजो आज फेरिएको छ । द्वन्द्वताका उकुस मुकुसमा रहेको यो ठाउँ अहिले शान्त र परिवर्तनको तयारीमा छ। दाङ, थवाङ हुदै रुकुम जोड्ने शहिद मार्ग होलेरीसम्म कालोपत्रे भईसकेको छ भने थप कालोपत्रेको काम पनि भईरहेको छ। दाङबाट ३० किलोमिटर र रोल्पा सदरमुकाम लिवाङबाट ६३ किलोमिटरको दुरीमा रहेको पश्चिम रोल्पाको होलेरी यतिबेला परिवर्तनको आशामा छ । ‘पहिला भन्दा व्यापार दोब्बर बढेको छ । गाउँपालिका भएर हो कि किन हो मान्छेहरु आउने जाने क्रम थपिएको छ । अहिले त गाडिले दिनभरि बाटो खाली हुदैन । कहिले कसो त केटाकेटीलाई बाटो काट्नै हैरान हुन्छ’ लामो समयदेखि व्यापार गरेर बसेकी चन्दा किराना पसलकी चन्दा थापाले भनिन्।

यहाँ अन्य व्यापार त फस्टाएकै छ झनै होटल व्यवसाय अत्यन्त राम्रो छ। ‘बाटो पिच भयो। गाउँ गाउँ बाटो खुले। मान्छे आउने जाने गरिरहन्छन्। गाउँपालिका आएदेखि त झनै चहलपहल बढेको छ। स्वर्गद्वारी जानेको पनि भिड लाग्छ। हिजो आज त उपभोक्ता समितिले पनि चहलपहल थपेको छ’ स्थानिय शिक्षक कुलबहादुर डाँगीले भने।

स्थानीय तहको निर्वाचन पछि गाउँमै सरकारी सेवा आए पछि होलेरीले मुहार फेर्न थालेको हो। त्यसो त दाङदेखि यहाँसम्म सडक कालोपत्रे भएपछि धार्मिक पर्यटकीयस्थल स्वर्गद्वारी जानेको पनि घुईचो हुन्छ। यहि बाटो भएर सदरमुकाम लिवाङ, घर्तीगाउँ, थवाङ, रुकुम जानेहरु पनि होलेरी हुँदै निस्कन थालेका छन्। ‘समग्रतामा एकीकृत विकास हुनुपर्छ। नगरपालिका उन्मुख यो गाउँपालिकामा क्याम्पस र प्राविधिक शिक्षाको आवश्यकता छ । होलेरी सदरमुकाम लिवाङसँग भन्दा पनि दाङसँग जोडिन चाहन्छ। सँगै होलेरी विकासका लागि पर्यटनलाई पनि भुल्नु हुँदैन’ पुराना शिक्षक दामोदर न्यौपाने भन्छन्।

हिजोआज यो ठाउँ हुँदै दैनिक ४÷५ दर्जन ठूला साना सवारी साधन ओहोर दोहोर गर्छन्। उहिले एउटामात्र मावि रहेको यो क्षेत्रमा हाल ४ वटा मावि खुलेका छन् भने एउटा १० जोड २ पनि सञ्चालनमा छ। बजार अलि व्यवस्थित र ठूलो भएको छ । बत्ति छ, इमेल इन्टरनेट छ, सुविधा सम्पन्न होटेल खुलेका छन्। दुईवटा एफएम रेडियो, एउटा साप्ताहिक पत्रिका होलेरीमै छ। दर्जन बढि अन्य जिल्लाका रेडियो पनि सुनिन्छ। ४ वटा लघुवित्तिय बैंक छन् भने एउटा सहकारी पनि छ।

सखी, झेनाम, डुब्रिङ, दुविडाँडा गरी चार गाविसको संगम रहेको होलेरी बजार समेटिएको रुन्टीगढी गाउँपालिकामा मसिना, जौलीपोखरी र जेदबाङ्गको केहि भाग पनि थपिएको छ। स्थानीय तह निर्वाचन, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सकिएसँगै होलेरीको अपेक्षा पनि थपिएको हो। ‘आमरुपमा जनताको अपेक्षा आधारभूत सेवाहरु गाउँसम्म आओस् भन्ने छ। शिक्षा, स्वास्थ्य, बाटो, बत्ती, रोजगार यिनै अपेक्षा बढि छन्। तर हामी सुसासन र पारदर्शिताका बिषयमा गम्भिर छौ।’ रुन्टीगढी गाउँपालिका प्रमुख बालाराम बुढाले बताए । ‘आधारभूत विकास शिक्षा, स्वास्थ्यसँगै कृषिलाई पनि प्राथमिकतामा राखेर काम गर्दैछौ । कर्मचारीतन्त्रमा अभ्यस्त जनताहरुमा पनि भर्खरै जनप्रतिनिधि प्रतिको मोह बढ्न थालेको छ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पनि सकिएको छ अब होलेरी पनि समृद्धिको बाटोमा जानेछ’ बुढाले थपे।

होलेरी बजार । तस्बिर दिनेश सुवेदी
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App