७ वैशाख २०८१ शुक्रबार
राजनीति

सिंहदरबारमा झल्किएन नेकपाको एकता

काठमाडौं - तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भए पनि सिंहदरबारभित्र भने त्यस्को झल्को अझै देखिन सकेको छैन। पार्टी एकीकरण भएपछि सिंहदरबारभित्र ‘नेमप्लेट’ र ‘होर्डिङ बोर्ड’मा मात्रै परिवर्तन भए पनि व्यावहारमा दुवै पार्टीका नेताका कार्यालय पूर्ववत आ– आफ्mनै ठाउँमा रहेका छन्।

नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङले संसद् सचिवालयले एउटै भवन उपलब्ध गराउन नसक्दा पहिलेकै ठाउँमा रहेर काम गर्नुपरेको बताए। ‘संसदीय दललाई कुन भवन दिने हो ? सो निर्णय संसद् सचिवालयले गर्ने हो,’ गुरुङले नागरिकसँग भने, ‘सो निर्णय गरिदिन नसक्दा अलग अलग रहेको जस्तो देखिएको हो।’ उनका अनुसार अलगअलग जस्तो देखिए पनि नेकपाको काम कारबाही भने रोकिएका छैनन्।

जहाँ तत्कालीन एमालेको कार्यालय रहेको थियो, त्यहाँ पूर्व माओवादी नेता पुग्दैनन् भने तत्कालीन माओवादीको कार्यालय रहेको स्थानमा पूर्व एमाले नेता पनि पुगेको देखिँदैन। सिंहदरबार हाताभित्र अझै पनि पूर्व एमाले र पूर्व माओवादीका नेताको छुट्टाछुट्टै कार्यालय र सम्पर्क स्थान यथावत नै रहेको जस्तो देखिएको छ।

नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको तत्कालीन एमालेले प्रयोग गर्दै आएको पुरानै भवनमा नै कार्यालय छ भने उपनेता सुवासचन्द्र नेम्बाङ पनि पुरानै स्थानमा कार्यालयमा नै बस्दै आएका छन्। त्यस्तै, प्रमुख सचेतक देवप्रसाद गुरुङ संसदीय सचिवालय भवन नम्बर १ मा बस्दै आएका छन्। जहाँ यसअघि माओवादी संसदीय दलको कार्यालय रहेको थियो । तर, सचेतक शान्ता चौधरीको कार्यालय भने पुरानै एमालेको भवनमा रहेको छ, जुन रेडियो नेपालको सामुन्ने रहेको छ।

तर, एमाले÷माओवादीको संसदीय दलको कार्यालय, नेता, उपनेता, प्रमुख सचेतक र सचेतक भन्दै आएकोमा एकीकरणपछि ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतक’ जस्ता शब्दावली भने परिवर्तन गरिएको छ।

तर, एकै स्थानमा कार्यालय नहँुदा पूर्व एमाले नेताहरू एमाले संसदीय दलको कार्यालयमा र पूर्व माओवादी नेताहरू पुरानै माओवादीको कार्यालयतिर आउजाउ र भेटघाट गर्दै आएको दृश्य देखिन्छ।

पार्टी एकीकरणपछि पनि संसदीय दल र सो दलका पदाधिकारीको कार्यालयसमेत एकै ठाउँमा नहुदाँ भावनात्मक एकता अझै हुन नसकेको कार्यकर्ता बताउँछन्। ‘पार्टी एकीकरण भएपछि कार्यालय र पदाधिकारी कक्ष एकै ठाउँमा भएमा कामकारबाही गर्न मात्रै होइन, भावानात्मक एकता भएको पनि झल्को जान्थ्यो तर त्यो देखिएन,’ रौतहटका पूर्व एमाले सचिव तुल्सीराज गिरीले भने, ‘कार्यालय अलगअलग भवनमा भन्दा एउटै भवन र एउटै आँगनमा भएको भए त्यसले भावनात्मक रूपमा एक बनाउन सहज हुने थियो। उनका अनुसार पार्टी एकीकरण प्रक्रिया जारी नै रहेकाले त्यसमा प्राविधिक विषयभन्दा भावनात्मक विषयले बढी अर्थ राख्ने हुँदा सो मनोविज्ञानलाई नेतृत्वले बुझनुपर्ने देखिन्छ।

नेकपा संसदीय दलका उपनेता नेम्बाङले एकै ठाउँमा कार्यालय राख्नेबारे अझै कुराकानी भइनसकेको वताए। ‘काम चलिरहेको छ, त्यसैले माग पनि गरिएको छैन, आवाश्यकता परेमा गरौंला।’ उनका अनुसार पार्टी एकताको जानकारी गराएपछि नाम र जिम्मेवारी भने हेरफेर गरेर एकीकरणको सन्देश भने दिइसकिएको छ।

एमाले र माओवादीविच गत जेठ ३ गते औपचारिक रूपमा पार्टी एकता भएको थियो, सो पार्टी एकता गर्ने २०७४ असोज १७ गते निर्णय गरेर प्रदेश र संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को निर्वाचनमा होम्मिएको थिए। पार्टी एकताको प्रक्रियासहित निर्वाचनमा गएका दुवै पार्टीले झन्डै दुईतिहाइ मत प्राप्त गरेर आठ महिनापछि पार्टी एकीकरण गरेलगत्तै तत्कालीन एमाले कार्यालयलाई पार्टीको केन्द्रीय सचिवालय र पेरिसडाडास्थित माओवादीको केन्द्रीय कार्यालयलाई केन्द्रीय विभागका कार्यालय बनाउने अनौपचारिक सहमति गरिसकेका छन्।

तर, सिंहदरबार हाताभित्र अन्य पार्टीको एउटै भवन र आँगन भए पनि नेकपाको भने दुईवटा भवनमा र दुईवटा आगनमा रहेका छन्, जसले दुवै पार्टीबीच एकीकरण भएको झल्को भने सिंहदरबारमा नपाइने गरेको कार्यकर्ता बताउँछन्।

प्रकाशित: १३ असार २०७५ ०१:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App