२९ असार २०७७ सोमबार
राजनीति

ओलीको जवाफ : हाम्रो सेना पनि ‘युनिफर्म’मा भारत जानसक्छ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मित्र राष्ट्रका प्रमुखको सुरक्षाका लागि सुरक्षाकर्मी आउनु सामान्य कुरा भएको बताएका छन्। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणका क्रममा भारतीय सेनाको जम्बो टोली नेपाल आएको र यसले नेपाली सेनाको क्षमतामाथि नै प्रश्न उठेको, नेपालको असुरक्षित छ भन्ने सन्देश गएको भनी चौतर्फी आलोचना भएपछि ओलीले सोमबार संसद बैठकमा जवाफ फर्काएका हुन्।

‘केही समयअघि भारतका प्रधानमन्त्री नेपाल आउनुभयो, उहाँको भ्रमणमा भारतीय सेना आउन दिइयो भनेर गुनासो छ। सुरक्षाका लागि आफ्नो सेना साथमा लाने प्रचलन विश्वभर चलिआएको छ’, ओलीले चीन भ्रमणबारे जानकारी गराउने क्रममा संसदमा भने– ‘हामी जाँदा पनि युनिफर्ममै सेना लान सक्छौं। भारतले किन ल्यायौ भन्दैन। यथोचित सुरक्षा लिन पाउँछ। यो विषय अनावश्यक ढंगले उठ्यो। तर भ्रमण सफल रह्यो।’

यसअघि सत्तारुढ नेकपाकी प्रवक्ता पम्फा भुसालसहित विपक्षी सांसदहरुले नेपालभित्र भारतीय सेना मोदीको सुरक्षाका लागि ल्याइनु नेपाली सुरक्षाकर्मीको अपमान भन्दै सरकारको आलोचना गरेका थिए। भुसालले नेपाली सुरक्षाकर्मी नै सक्षम भएकाले भारतबाट सेनाहरु ल्याउनु पर्ने थिएन भन्दै त्यो रोक्न नसक्नुमा सरकारको कुटनीतिक लाचारी भएको तर्क गरेकी थिइन।

‘भारतसँग सम्बन्ध सुदृढ हुँदैछ’

सरकारले छिमेकीसँगको सम्बन्धलाई विशेष जोड दिइरहेको बताउँदै प्रधानमन्त्री ओलीले भारत र चीनसँग सन्तुलिन सम्बन्ध कायम गरिने बताए। उनले भारतसँग सम्बन्ध सुधारका धेरे संकेत देखिएको पनि बताए।

‘प्रधानमन्त्री भइसकेपछि म भारत भ्रमणमा गए। सम्बन्ध सकारात्मक ढंगले विकास हुने कुरामा तीव्रता आएको छ। सम्बन्ध सुदृढ हुन्छ भन्ने संकेत देखियो। जस्तो जुलाईभित्र १९५० को सन्धि जो उपयुक्त छैन, संयुक्त टोली प्रबुद्ध समूहले सहि निष्कर्षका साथ टुंग्याउनेमा आशावादी मात्र होइन विश्वस्त छु। त्यस्तै, विराटनगरको फिल्म कार्यालय हटायौं। एयर हवाई रुटमा समझदारी बनेको छ। पानी जहाजको सर्वे भइरहेको छ। काठमाडौं वीरगञ्ज रेलवे लाइनका लागि सर्वे टोली भारतबाट काठमाडौं आएर सर्वे गर्दैछ। यस्ता काममा प्रगति भइरहेको छ। माननीयहरुलाई अप्ठेरो लाग्ला कि काम सरासर भइरहेको छ। देशको हित र पारस्परिक लाभमा कामहरु भइरहेको छ। यी सम्बन्ध सुधारका संकेत हुन्।’

 

प्रकाशित: ४ असार २०७५ १७:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App