७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेस जिल्ला सभापति भेला : प्रदेश १ ले संयुक्त एजेण्डा लैजाने

विराटनगर– असार ५ गते देखि हेटौंडामा हुन गइएरहेको नेपाली कांग्रेसको जिल्ला सभापतिहरूको राष्ट्रिय भेलामा प्रदेश १ ले साझा एजेण्डा लैजाने भएको छ। प्रदेश १ बाट साझा एजेण्डा तय गर्न आइतबार प्रदेश १ को राजधानी विराटनगरमा प्रदेशका जिल्ला सभापतिहरूको बैठक सुरू भएको छ।

बैठकमा प्रदेश १ का १३ जिल्लाका पार्टी सभापतिहरू सहभागी छन्। उदयपुरका सभापति काठमाडौंमा भएका कारण बैठकमा उपस्थित नभए पनि साझा एजेण्डामा समर्थन गर्ने नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुले जानकारी दिए। भेलामा  प्रदेश १ का सबै जिल्ला सभापतिहरूले साझा एजेण्डा तय गरेर पार्टी नेतृत्वलाई सुझाव दिने तयारी भइरहेको छ। विराटनगरमा सुरू भएको बैठकमा प्रदेशमा पार्टी संगठनहरूको समस्या र समाधानका उपायबारे छलफल गरी निश्कर्षमा पुगिने लिम्बुले बताए। 

चुनावमा भएको हारका विषयमा कस्ले जिम्मेवारी लिने भन्नेमा पनि कांग्रेस भित्र विवाद छ। यस्तै पार्टीको संरचना कस्तो हुने भन्ने विषयमा पनि मतभेद रहेको छ। साथै प्रदेश समिति तदर्थ बनाउने कि निर्वाचन गर्ने भन्ने विषयमा पनि मतभेद छ। पार्टीमा सभापतिलाई कार्यकारी अधिकारसहित बलियो बनाउने वा सामूहिक नेतृत्वमा जाने भन्ने विषयमा पनि पार्टीभित्र फरक धारणा आउने गरेको छ। 

पार्टीमा देखिएका विभिन्न खालका मतभेदलाई छलफलका माध्ययमबाट प्रदेश १ का सबै जिल्ला सभापतिहरूले साझा धारणा बनाएर नेतृत्वलाई सामूहिक सुझाव दिइने नेपाली कांग्रेस तेह्रथुमका  पार्टी सभापति गोविन्द ढुंगानाले  बताए। उनले भने, ‘कांग्रेसलाई बलियो बनाउने विषयमा प्रदेश १ ले साझा धारणा राष्ट्रिय भैलामा लगिने छ।’ कांग्रेसलाई नेतामुखी नभई नीति मुखी बनाउने विषयमा पनि प्रदेशले स्पष्ट र साझा धारणा तय गर्ने नेपाली कांग्रेस ओखलढुंगाका सभापति प्रदीप सुनुवारले बताए। 

प्रकाशित: ३ असार २०७५ ११:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App