१६ चैत्र २०८० शुक्रबार
राजनीति

दाताको प्रवेश रोक्न माग

काठमाडौं – दाताको रकमले सांसदलाई प्रशिक्षण दिएको भन्दै सांसदले आपत्ति जनाएका छन्। आइतबारको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै नेकपाका सांसद झपटबहादुर रावलले सरकारले विनियोजन गरेको बजेटलाई थन्काएर युएनडिपीको बजेट संसद्भित्र कसरी र किन प्रवेश गराइयो र कसको निर्देशनमा भएको हो भन्दै प्रश्न उठाए।

तीन दिनअघि युएनडिपीअन्तर्गतको ‘पार्लियामेन्ट सपोर्ट प्रोजेक्ट’को आर्थिक सहयोगमा सांसदहरूलाई दुई दिने प्रशिक्षण दिइएको थियो। सांसदलाई सामान्य अभिमुखीकरण गर्नका लागि पनि राज्य सक्षम छैन त भन्दै उनले छैन भने संसद्लाई जानकारी गराउन माग गरे। संसद् र सरकार दुवै नेकपाको भएका बेला सरकारले चुनावी घोषणा विपरित संसदमा दातालाई प्रवेश गराएको उनको उनको टिप्पणी थियो। उनले भने ‘चुनावी घोषणापत्रविपरीतको काम किन हुँदैछ, घोषणापत्रमा उल्लेख भएका कुरा सरकार र संसद्ले के बिर्सेको हो?’ पार्टीको घोषणापत्रले राष्ट्रिय प्राथमिकताका आधारमा विदेश सहयोग परिचालन गरिने किटान गरेको छ उनले भने। रावले आफ्नै स्रोत र साधनबाट सम्पन्न गर्न सकिने काममा पनि परियोजनाको बजेटले प्राथमिकता पाएकोमा यसलाई रोक्नुपर्ने बताए।

संयुक्त राष्ट्रसंघको बडापत्रले सदस्य राष्ट्रको सार्वभौमिकतालाई समान महत्व दिएको भन्दै उनले आफ्नो देशले आफ्नो निर्णय गर्न कसैले रोक्न नसक्ने बताए। ‘विकासित मुलुलहरूले अविकसित मुलुकमा यस्ता विभिन्न परियोजना मार्फत नीति निर्माण तथा न्यायलयसम्म प्रवेश गराएा छन्,’उनले भने।

सार्वभौम सांसदहरूलाई दाताको निर्देशनमा हिडाउन मिल्दैन भन्दै उनले भने २००८ देखि संसद भवन प्रवेश गरेको यो परियोजनाका कारणले संविधान जारी हुन नसकेको हो। ‘लिगल अडिट’ समेत गर्न नमिल्ने निकायले राज्यको प्राथमिकता भन्दा बाहिर गई पकड जमाइरहेको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने उनले बताए। उनले राष्ट्रले तोकेको राष्ट्रिय आवश्यकताका विषयमा परियोजनाले खर्च गर्छ भने मात्र त्यस्तोलाई मान्यता दिनुपर्ने धारणा राखे।

संयुक्त राष्ट्रसंघको बडापत्र, नेपालको संविधान, निर्वाचनमा एमाले र माओवादीको चुनावी घोषणा पत्र, नेकपाको विधानले स्वतन्त्र र सार्वभौमिक अधिकारलाई महत्व दिएको उनले बताए। ‘दातालाई संसद् भवनभित्र प्रवेश गराएर द्वन्द्वकालीन अवस्थाको झझल्को दिन खोजिएको कारण बुझ्न नसकेको उनले बताए। दाताहरूलाई राज्यका विभिन्न निकायमा प्रवेश गराएर सार्वभौमसत्तामाथि प्रहार गरी कमजोर बनाउने काम नहोस् र यस्ता खालका घटनाको पुनरावृत्ति नहोस्,’ उनले भने।

प्रकाशित: २८ जेष्ठ २०७५ ०१:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App