८ वैशाख २०८१ शनिबार
राजनीति

प्रमाणपत्र धितो राखेर ७ लाख पाउनु युवाहरुको जित : नविना लामा

काठमाडौं– नेकपाकी युवा नेतृ एवं सांसद नविना लामाले शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँ ऋण पाउने निर्णय युवाहरुका निम्ति जित भएको बताएकी छिन्। 

संसदमा प्रस्तुत आर्थिक वर्ष २०७५/०७६ को बजेटमाथि आइतबार आफ्नो धारणा राख्दै सांसद लामाले ३० वर्षअघि युवाहरुले सुरु गरेको संघर्षले साथर्कता पाएको टिप्पणी गरिन। 

‘३० वर्षअगाडि म जस्तै युवा सडकमा भौतारिएर भनेको कुरा आज साँच्चै साकार भएको छ। अदृश्य शक्ति लगाएर पाएको प्रमाणपत्र हामीले कहिले दराजमा राखेर, कहिले प्लास्टिकको झोलामा बोकेर, कहिले मन्त्रालय धाउने। व्यापारी, कम्पनी एनजिओ सबैमा धाउँदा धाउँदा निराश भएर डिप्रेशनको औषधि खान बाध्य भएका युवाहरुको यथार्थलाई सम्बोधन गराएर प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँ दिनेगरी बजेट आएको छ, नेपालको युवाहरुको निम्ति एउटा जित हो, खुसीको दिन हो’, उनले भनिन्।

बजेटको स्वागत र पूर्ण समर्थन गर्दै उनले शैक्षिक प्रमाण दुरुपयोग नहोस भनी अर्थमन्त्रीको ध्यानाकर्षण समेत गराइन्। 

बजेटले विगतको अर्थतन्त्रलाई समीक्षा गर्दै वर्तमान अर्थतन्त्रको सहि विश्लेषण गरेर भावी एउटा कार्यनीति ल्याएको टिप्पणी गर्दै उनले थपिन– ‘मलाई लाग्छ इतिहासको सबैभन्दा महत्वपूर्ण दस्तावेजको रुपमा यो बजेट रहन्छ। यो बजेटले सुखी नेपाल समृद्ध नेपालको अठोट जाहेर गरेको छ।’ 

बजेटले सार्वजनिक शिक्षाको गुणस्तरको विषय, विश्वविद्यालयको गुणस्तर, विश्वबजारमा प्रतिस्पर्धा गर्ने शिक्षाको विषयमा आफूहरुले आवाजलाई सम्बोधन गरेको लामाको भनाई छ। ‘आज विज्ञानयुक्त इ लर्निङ प्रविधिबाट पढाउने कुराको ग्यारेन्टी गरेको छ। यो समृद्ध नेपाल निर्माणको अठोट हो’, उनले भनिन्। 

उनले बजेट सर्वमान्य र निष्पक्ष भएको जिकिर गरिन। ‘यो बजेटले खाडीमा रहेका युवाहरुलाई रोजगार, स्वरोजगार नाममा रकम छुट्टाएको छ। बजेटले आमुल परिवर्तनको अठोट गरेको छ’, उनले भनिन्। 

प्रकाशित: २० जेष्ठ २०७५ १५:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App