६ वैशाख २०८१ बिहीबार
राजनीति

सबैखाले सिण्डीकेटको अन्त्य हुन्छ : थापा

विराटनगर – गृह मन्त्री रामबहादुर थापाले सबै क्षेत्रका सबैखाले सिण्डीकेट अन्त्य गर्ने बताएका छन्। शुक्रबार विराटनगरमा सुरू भएको प्रदेश स्तरीय सुरक्षा गोष्ठिमा पत्रकारहरूसँग कुरा गर्दै थापाले सबै क्षेत्रका सबैखाले सिण्डीकेट अन्त्य गर्ने बताएका हुन्।

सरकार गठन भएदेखि सरकार सिण्डीकेटविरुद्ध कडारुपमा उत्रिएको उनको भनाई छ। सरकारले सबै खाले कार्टेलिङविरुद्ध कदम चाल्छ मन्त्री थापाले बताए।  थापाले सुरक्षालाई समृद्धि र विकाससँग जोडेर अघि बढ्ने सरकारको नीति रहेको बताए।

कानुन उलंघन गरी समयमा विकास निर्माणको काम सम्पन्न नगर्ने ठेकदारविरुद्ध सरकार कडारुपमा प्रस्तुत हुने उनका भनाई छ। प्रदेश सरकार अधिकार विहीन भएको गुनासोका विषयमा सोधिएको प्रश्नमा थापाले प्रदेशलाई अधिकार सम्पन्न बनाउनेक्रम सुरू भइसकेको बताए।

संघिय सरकारले कर्मचारीको तलव भत्तालगायतका  धेरैजसो साधारण खर्च राखेका कारण संघलाई धेरै बजेट राखे जस्तो  देखिएको थापाले स्पष्ट पारे। सुनलगायतका सबै खालका तस्करी  नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहनुका साथै तस्करी काण्डका विषयमा समिति बनाएर छानविन गरीरहेको बताए।

प्रदेशको सुरक्षा नीति तय गर्न, शान्ति सुरक्षा कायम गर्न, जिल्लाको सुरक्षा स्थिति बुझ्न, सुरक्षा चुनौतिहरूको समाधान गर्ने लगायतका उद्देश्य राखेर १ नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठि आयोजना गरीएको गृहमन्त्रालयका प्रबक्ता रामकृष्ण सुवेदीले जानकारी दिए।

सुरक्षा गोष्ठीमा नेपाल प्रहरी, शसस्त्र प्रहरीका महानिरिक्षकहरू, प्रदेश प्रहरी कार्यालयका प्रमुख, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलगायतको सहभागिता रहेको छ।

प्रकाशित: १८ जेष्ठ २०७५ ०७:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App