१६ चैत्र २०८० शुक्रबार
राजनीति

सहसचिव भट्टराईलाई ९ दिनमा तीन सरुवा

काठमाडौं – यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक तथा सहसचिव रुपनारायण भट्टराईलाई सरकारले ९ दिनमा तीन पटक सरुवा गरेको छ।

यातायात क्षेत्रको सिन्डिकेट हटाउन प्रभावकारी कदम चालेका भट्टराईलाई तीन पटक सरुवा गरिएकोछ। सिन्डिकेट तोडिएपछि यातायात व्यवसायीको चौतर्फी दबाब र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आफ्नो स्वार्थअनुकूल काम नगरेकोमा भट्टराईलाई जेठ ४ मा मन्त्रालयमा तानेका थिए। जेठ ९ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भट्टराईलाई भौतिक पूर्वाधार मन्त्रालयबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरेको थियो। ११ गते रमाना लिएर श्रम मन्त्रालय जाने तयारीमा रहेका भट्टराईलाई सामान्य प्रशासन मन्त्रालयका कर्मचारीले बाटैमा चिठी थमाएर यातायात मन्त्रालयमै सरुवा भएको चिठी थमाए। त्यसपछि उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुगेर हाजिर गरे।

भौतिक पूर्वाधार मन्त्रालयमा प्रशासनतर्फ सहसचिवमा धुव्र जोशी छन्। प्रशासनतर्फ एउटै मात्रै सहसचिवको दरवन्दी भए पनि भट्टराईलाई प्रशासनतर्फ सरुवा गरिएको हो। प्राविधिक तर्फ भने मन्त्रालयमा सात जना सहसचिव रहेका छन्।

पूर्वसचिव भीमप्रसाद उपाध्यायायले सरकारको अपरिपक्क निर्णय र चलखेलकै कारण कर्मचारीको बारम्बार सरुवा हुने बताउँछन्। ‘एउटा गल्तीलाई ढापछोप गर्न अर्काे गल्ती गर्छन्। अहिले पनि त्यस्तै भएको हो,’ उनले भने, ‘मन्त्री र कर्मचारीबीचको अह्मका कारणले यस्तो हुने गर्छ।’ सरकारको अपरिपक्क निर्णयले कर्मचारी र जनतामा नकारात्मक सन्देश जाने उनी बताउँछन्। ‘कहिले सरुवा गर्ने, फेरि मन्त्रालयमै तान्नु राम्रो हैन,’ उनले भने, ‘हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने प्रवृत्तिले मन्त्री र कर्मचारी दुवैलाई फाइदा गर्दैन। त्यसतर्फ सबै सचेत हुनुपर्ने देखिन्छ।’

सहसचिव भट्टराईले सरकारले ९ दिनमा तीन पटक सरुवा गरेर आफू अलमलमा परेको बताए। ‘सरकारको निर्णयले म आफैं अलमलमा परिराखेको छु। सरकारले के गर्न खोजेको हो थाहा पाउन सकेको छैन्,’ आइतबार भौतिक पूर्वाधार मन्त्रालयमा पुगेर हाजिर गरेको उनले बताए, ‘हामी त राष्ट्रसेवक हौं। सरकारले जे निर्णय गर्छ सोहीअनुसार चल्नुपर्छ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका स्रोतका अनुसार संघीय समाजवादी फोरम सरकारमा आएसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको अन्य मन्त्रालयमा नै सरुवा हुने भएकाले सहसचिव भट्टराईलाई फेरि मन्त्रालय ल्याएको दाबी ग-यो। ‘मन्त्रीज्यूको व्यक्तिगत इगोको कारणले नै सहसचिवको सरुवा भएको थियो,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूको ठाडो आदेशमा नै भट्टराईलाई फेरि मन्त्रालयमा ल्याइएको हो।’

सिन्डिकेटको विपक्षमा लागेका भट्टराईप्रति मन्त्री महासेठ खुसी थिएनन्। भट्टराईको अभियानलाई प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलले साथ दिएपछि मन्त्री महासेठ देखावटी रुपमै सिन्डिकेटको विपक्षमा उभिए। वैशाख २३ गते यातायात व्यवसायी र मन्त्रालयबीच भएको बार्तामा मन्त्री महासेठले भट्टराईलाई मिडिया सामू सिन्डिकेटबारे एक शब्द नबोल्न कडा निर्देशन दिएका थिए। ‘महानिर्देशकले नीतिगत रुपमा सिन्डिकेट हटाउने फाइल अगाडि बढाउन थालेको थिए,’ स्रोतले भन्यो, ‘ती फाइल कार्यान्वयन आउनु अगाडि नै मन्त्रीले महानिर्देशकलाई विभागबाट हटाइयो।’

प्रकाशित: १५ जेष्ठ २०७५ ०६:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App