१६ चैत्र २०८० शुक्रबार
राजनीति

महासेठको ‘कारवाही’मा परेका भट्टराईलाई विष्टले श्रम मन्त्रालय लगे

काठमाडौं– सिण्डिकेटविरुद्ध कडा कदम चालेर चर्चामा आएका सहसचिव रुपनारायण भट्टराईको श्रम तथा रोजगार मन्त्रालयमा सरुवा भएको छ। सरकारले विहीबार गरेको २८ सहसचिवको सरुवामा भट्टराई श्रम मन्त्रालय पुगेका हुन्। 

सिण्डिकेटविरुद्ध एक्सन लिँदा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको सरुवा ‘कारवाही’मा परेका यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक भट्टराईलाई श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले आफ्नो टिममा ल्याएका हुन्। मन्त्री विष्ट वैदेशिक रोजगारमा रहेको समस्या सुधार्न प्रयत्नशील छन्। 

मन्त्री महासेठले यातायात व्यवसायीसँगकाे मिलेमताेमा भट्टराईलाई विभागबाट मन्त्रालय तानेर जगेडामा राखेका थिए। जगेडामा फालेपछि बिदामा बसिरहेका बेला भट्टराईलाई श्रममन्त्री विष्टले आफ्नै पहलमा श्रम मन्त्रालय तानेका हुन्।

स्रोतका अनुसार मन्त्री विष्टले भट्टराईलाई वैदेशिक रोजगार विभागमा पठाउने तयारी गरेका छन्। म्यानपावर व्यवसायलाई व्यवस्थित बनाउन र रोजगार विभागको गिरेको शाख फर्काउन भट्टराईलाई महानिर्देशक बनाएर पठाउन लागिएको हो। यसअघिका महानिर्देशक भ्रष्टाचारमा फसेपछि विभागको विश्वश्नीयतामाथि नै प्रश्न उठ्ने गरेको छ। 

सरकारले बढुवा भएका १२ सहसचिवको पदस्थापन गरेको छ भने १६ सहसचिवको सरुवा गरेको हो। सरुवा सूचीको एक नम्बरमा शिवलाल तिवारी रहेका छन्। सामान्य प्रशासन मन्त्रालयमा कार्यरत उनलाई प्रदेश ३ स्थित प्रदेश प्रमुखको कार्यालय हेटौंडा सरुवा गरिएको छ।

सूचीको अन्तिम नम्बरमा सामान्य प्रशासन मन्त्रालयमै कार्यरत रामकृष्ण सापकोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ।

प्रकाशित: १० जेष्ठ २०७५ ११:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App