७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘सरकार सर्वसत्तावाद कायम गर्न उन्मुख छ’

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान र प्रजातन्त्रको आवरणमा वर्तमान् सरकार सर्वसत्तावादी व्यवस्था कायम गर्न उन्मुख रहेको गम्भिर आरोप लगाएका छन्।

बिहीबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै अध्यक्ष थापाले यस्तो आरोप लगाएका हुन। उनले वर्तमान सरकार प्रतिपक्षी र विपक्षी दलहरुको क्रियाकलापप्रति असहिष्णु हुनु सरकार सर्वसत्तावादी व्यवस्था कायम गर्न उद्दत रहेको प्रमाण भएको जिकिर गरे।

राष्ट्रियताको पक्षमा विगतमा लिएको अडान र केपी ओलीलाई जनताले मत दिएको तर, जनताको म्याण्डेटअनुसार शान्ति, स्थिरता र प्रजातन्त्रलाई बलियो बनाउनेमा अहिले शंका पैदा भएको थापाको आरोप छ।

अध्यक्ष थापाले भने, ‘भेनेजुएलामा हुयोगो चाभेजले, टर्कीमा एर्डोगानले र रसियामा पुटिनले पनि संविधान र प्रजातन्त्रको आवरणमा नै सर्वसत्तावाद व्यवस्था कायम गरेका हुन्, संविधान बमोजिम प्रजातान्त्रिक आवरणमा, यति गरिसकेपछि चुनाव जित्नपनि गाहा«े नहुने, मिडियाले पनि चुईंक्कपनि बोल्न सक्दैन्, व्यापारीहरुको हालत त्यही हुन्छ, यो सर्कल अब नेपालमा सुरु हुन लागेको छ।’ यद्यपी उनले अहिले नेपालमा यी कुराको संकेतमात्रै देखिएको सुनाए। 

१९६० वा ७० को दशकमा प्रजातन्त्रको समाप्ती सैनिक ‘कु’ बाट हुने गरेको भएपनि अहिले सैनिक शासन वा ‘कु’ हुने खतरा विश्वमै अत्यधिक कम हुँदै गएको अध्यक्ष थापाले स्मरण गराए। उनले थपे, ‘तर संविधान बमोजिम र प्रजातन्त्रकै परिधिभित्रै रहेर चुनाव जितेर सर्वसत्तावाद र अधिनायकवाद कायम गरिन अहिलेको ट्रेण्ड रहेकोे छ।’ 

थापाले अबको २ देखि ३ वर्षभित्रै वर्तमान सरकारले ९० प्रतिशत कर्मचारी, सुरक्षा निकाय, न्यायालय सबैमा आफ्नो प्रभाव जमाउने आशंका व्यक्त गरे । उनले भने, ‘अब हेर्दै जानुहोला, सरकारले अब मिडियामा आक्रमण गर्छ, नक्कली समस्या खडा गर्छ, मिडियापछि व्यापारीहरुलाई विभिन्न हत्कण्डा अपनाएर दुःख दिने काम सुरु गर्छ, सरकार न्यायालय, संवैधानिक निकाय, प्रशासनिक संयन्त्र लगायतका क्षेत्रहरुलाई पार्टीकरण गर्न उद्धत रहेको आशंका बढेर गएको छ।’

उनले अघि थपे, ‘निवाचित् सर्वसत्तावादी मोडलको अभ्यास गर्न खोजिँदैछ।’ आवरणमा भ्रष्टाचार नियन्त्रण भन्ने तर, आफ्ना विरोधीलाई कारबाही र समर्थनलाई संरक्षण दिने काम हुने थापाको दाबी छ।

संविधानलाई स्वागत नगरेको र नाकाबन्दी लगाएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको क्रममा स्वागत गर्नुसम्म ठिक भएपनि नागरिक अभिनन्दन गरिनु गलत भएको उनको भनाई छ। 

संविधान जारी गर्दा भारतले नेपालमाथि आर्थिक नाकाबन्दी लगाएकोले त्यो पीडा नेपालीहरुले अझैसम्मपनि विर्सन नसकेको अवस्थामा मोदीलाई अभिनन्दन गरिनु अनावश्यक थियो भन्ने उनको दाबी छ। 

भारतले नेपालको संविधान अपूर्ण र समावेशी नभएको भनेर विश्वभरि नै योजनावद्ध रुपमा प्रचार अभियान चलाएको समेत उनले स्मरण गराए। उनले भने, ‘मोदीले भारतले लगाएको आर्थिक नाकाबन्दीको बारेमा दुःख समेत व्यक्त गरेनन्।’

सत्तामा पुगेपछि टिकिरहन बाहृय शक्तिको आर्शिवाद चाहिन्छ भन्ने विगतको आत्मसमर्पणवादी मानसिकता वर्तमान प्रधानमन्त्री केपी ओलीमा पनि देखिन थालेको त होइन?’ भन्दै उनले प्रश्न समेत तेर्साए । 

राष्ट्रियताको लहरमा एमाले र यसका नेतृत्वकर्ता केपी शर्मा ओलीलाई जनताले राज्य सञ्चालनको महत्वपूर्ण जिम्मेवारी दिएको उल्लेख गर्दै अध्यक्ष थापाले भने, ‘तर विगत १०० दिनको घट्नाक्रम हेर्दा, खासगरी एमाले र माओवादी केन्द्रबीचको एकता कायम गर्ने सिलसिलामा विकसित घट्नाक्रम हेर्दा र नेताहरुद्धारा व्यक्त भएका अभिव्यक्ति हेर्दा राष्ट्रियता बलियो बनाउने आधारमा आशंका पैदा भएको छ।’

प्रकाशित: १० जेष्ठ २०७५ ११:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App