१६ चैत्र २०८० शुक्रबार
राजनीति

प्रगतिशील र समाजवादउन्मुख बजेट आउँछ : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रगतिशील र समाजवाद उन्मुख बजेट ल्याउने बताएका छन्। 

संघीय संसद्मा रहेका नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुलाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको अपेक्षाअनुसार नै बजेट तयार पारिने बताए। 

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा छुटेका महत्वपूर्ण विषयलाई बजेटमा सम्बोधन गरिने उल्लेख गरे। परम्परागत ढंगले विकास निर्माणका काम अघि बढाउँदा लक्ष्यमा पुग्न नसकिने बताउँदै त्यसका लागि विकासको नयाँ प्रविधि प्रयोग गर्नै पर्ने स्पष्ट पारे। 

प्रधानमन्त्री ओलीले अहिले बहुमत प्राप्त कम्युनिष्ट सरकार भएकाले यसलाई कुनै बहानामा पनि उम्किने छुट नभएकामा जोड दिए। उनले भने, “हामीसँग बहुमत प्राप्त सरकार छ। त्यसकारण जनताका अपेक्षा पनि धेरै छन्। ती अपेक्षा पूरा गर्न सकिएन भने जनताले अर्को चुनावमा अप्रिय निर्णय गर्न सक्छन्।” प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रम प्रभावकारी ढंगले आएको स्पष्ट पारे। 

उनले जनता आवास कार्यक्रमलाई नयाँ ढंगले सञ्चालन गरिने, हिमाली क्षेत्रमा छरिएका बस्तीलाई एकीकृत गर्ने र हिमाली क्षेत्रमा पनि जनता आवास कार्यक्रम सञ्चालन गरिने जानकारी दिए। 

प्रधानमन्त्री ओलीले सांसदहरुलाई कुनै पनि विषयमा टिप्पणी गर्नुपर्ने भएमा नेतृत्वलाई भन्न आग्रह गरे। जथाभावी ढंगले असन्तुष्टि पोख्दा समस्याको समाधान नहुने भन्दै ओलीले त्यस्ता असन्तुष्टि पार्टी वा संसदीय दलको जिम्मेवार ठाउँमा राख्न आग्रह गरे। 

आफ्नो विज्ञता भएका विषयमा सांसदमा कुरा राख्न सांसदहरुलाई निर्देशन दिँदै अाेलीले भने, “अध्ययन गर्ने बानी बसाउनुहोस्। नजानेका कुरा सिक्नुहोस्। तर्क र क्षमता बढाउनुहोस्। आवेशमा आएर नबोल्नुहोस्। जनमतको कदर गर्ने बानी बसाउनुहोस्।” 

कार्यक्रममा नेकपाका अध्यक्ष पु्ष्पकमल दाहालले जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम आएको भन्दै जनताको पक्षमा केन्द्रीत हुन सांसदहरुलाई आग्रह गरे। करिब दुई तिहाइ प्राप्त वर्तमान सरकारले जनताको अपेक्षालाई सम्बोधन गर्ने खालको बजेट तयार पार्ने र आर्थिक समृद्धिको दिशामा केन्द्रित हुने स्पष्ट पारे। उनले वर्तमान सरकारले जनताको पक्षमा काम गर्नेबाहेक अरू कुनै छुट नरहेको भन्दै अधिकतम प्रयास गर्नुपर्नेमा जोड दिए। 

उनले जनताको भावनालाई सम्बोधन गर्ने गरी प्रस्तुत हुन आग्रह गर्दै जनपक्षीय एजेण्डा स्थापित गर्ने दायित्वलाई समेत ख्याल गर्न सांसदहरुलाई निर्देशन दिए। 

बैठकले नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको विधान मस्यौदा गर्न नेता भीम रावलको संयोजकत्वमा एक कार्यदल गठन गरेकाे छ। कार्यदलमा सांसदहरुमा देव गुरुङ, खगराज अधिकारी, कृष्णभक्त पोखरेल, रामनारायण बिडारी र रेखा शर्मा सदस्य छन्। सो कार्यदलले १५ दिनभित्र विधान मस्यौदा प्रस्तुत गर्ने समय दिइएको छ। रासस

प्रकाशित: ८ जेष्ठ २०७५ १३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App