७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेस संसदीय दल कार्यसमिति निर्विरोध

काठमाडौं – नेपाली कांग्रेस संसदीय दल कार्यसमिति सदस्यहरू सबै निर्विरोध निर्वाचित भएका छन्। संसदीय दल कार्यसमिति चयनका लागि मंगलबारका लागि र्निधारण गरीएको मनोनयन दर्तामा सबै पदमा एक÷एक मात्र उम्मेदवारी परेपछि उनीहरू सबै निर्विरोध भएका हुन्।

कांग्रेस संसदीय दलको नेता तथा कार्य समितिले मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै कार्यसमितिका सबै १८ जना निर्विरोध निर्वाचित भएको जनाएको छ। संसदीय दलको विधानको धारा १०को उपधारा २(क) र (ख) अनुसार कार्यसमिति चयनका लागि बिहान ११ देखि ३ बजेका लागि निर्धारण गरिएको मनोनयन दर्तामा आवश्यक संख्यामा मात्र उम्मेदवारी परेको जनाएको छ।

संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा भए पनि कार्यसमिति भने दुवै पक्षबीचको सहमतिमा चयन भएको छ। कांग्रेस संसदीय दलको विधानअनुसार प्रत्येक प्रदेशबाट एक÷एक जना निर्वाचित हुने व्यवस्था छ। जसअनुसार मीनेन्द्र रिजाल, तेजुलाल चौधरी, दिव्यमणि राजभण्डारी, प्रकाश पन्थ, देवेन्द्रराज कँडेल, रंगमती शाही र दिलेन्द्रप्रसाद बडु क्रमश एकदेखि सात प्रदेशबाट कार्यसमिति सदस्यमा निर्वाचित भएका छन्।

त्यस्तै, खस आर्य, आदिवासी जनजाति, मधेसी र दलितबाट दुई÷दुई जना निर्विरोध निर्वाचित भएका छन्। दलको विधानको व्यवस्था अनुसार हुने खस आर्यबाट तारादेवी भट्ट, राजेन्द्र कुमार केसी, आदिवासी जनजातिबाट प्रमिला राई र ज्ञानकुमारी छन्त्याल, मधेसीबाट जितेन्द्र नारायण देव र मीनाक्षी झा र दलितबाट मीनबहादुर विक र विमला नेपाली चयन भएका छन्।

त्यस्तै, थारूबाट नमिता चौधरी, मुस्लिमबाट अतहर कमाल मुसलमान र पिछडिएको क्षेत्रबाट रामबहादुर विष्ट निर्विरोध र्निवाचित भएका छन्।

यसअघि संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भइसकेका छन्। उनले विजयकुमार गच्छदारलाई दलको उपनेता, बालकृष्ण खाँणलाई प्रमुख सचेतक र पुष्पा भुषाललाई सचेतकमा मनोनित गरिसकेका छन्। उनीहरू देउवा निकट हुन्।

प्रकाशित: २ जेष्ठ २०७५ ०१:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App