१६ चैत्र २०८० शुक्रबार
राजनीति

संयुक्त सर्वे टोलीले समस्या समाधान गर्न सकेन

धनगढी – नेपाल र भारतका सीमामा दर्जनौ ठाउँमा विवाद रहेको छ। सीमा पिल्लर गायव पारेर भारत पक्षले नेपालको भूमि अतिक्रमित गरेको नेपालका सीमामा बासिन्दा बताउँछन्। लालपुर्जा भएको र बुावुबाजेले उपभोग गर्दै आएको जमिन अहिले भारतले आफ्नोमा पर्ने भन्दै सीमा सारेको उनीहरूको भनाइ छ। कैलाली भजनीको मोरियाघाट, कञ्चनपुर पुनर्वास आनन्दबजार, पारासनलगायतका बासिन्दाको लालपुर्जा भएर पनि जमिन उपभोग गर्न नपाएको समस्या हो। २०७३ साल फागुन २६ गते सीमा विवादकै कारण ३० वर्षीय गोविन्द गौतम भारतीय सुरक्षाकर्मीको गोलीबाट मारिएका थिए।

विवाद समाधान गर्न नेपाल र भारत प्राविधिक रहेका ३ वटा संयुक्त टोलीले काम गरिरहेका बेला पुनर्वासमा गौतम मारिएपछि यस क्षेत्रको सीमा विवाद समाधान गर्न अलग्गै ४ नम्बर नेपाल भारत सयुक्त सर्भे टोली गठन गरिएको थियो। टोलीले प्रदेश ७ का भारतसँग सीमा जोडिएका ५ जिल्लाका अध्ययन गरे पनि विवाद समाधान गर्न सकेको छैन। कैलालीको काला कुन्डा, कुसुमघाट र पूmलबारीस्थित मोहना दक्षीणी क्षेत्रमा सीमा विवादका कारण कुनै काम हुन सकेन। त्यस्तै कञ्चनपुरको डोकेबजारभन्दा पश्चिमी क्षेत्रमा सीमा विवाद समाधानको कुनै पहल नै भएन। कैलालीको ७ सय सीमा स्तम्भदेखि कञ्चनपुरको ८ सय ११ सीमा स्तम्भसम्म अध्यन भए पनि विवादित क्षेत्रमा भने सीमा सर्भे टोलिले विवाद निरूपणका लागि कुनै पहल गरेन।

पुनर्वासलगायतका सबैभन्दा विवादित ठाउँमा यो टोलीले काम नै गरेको छैन। जुन ठाउँको विवादलाई लिएर यो संयुक्त टोली गठन भयो, त्यही पुनर्वासमा यो टोलीले काम गरेको पाइएको छैन। भने दुवै देशका संयुक्त टोली सहमत भएको ठाउँमा स्थानीय सन्तुष्ट छैनन्। कैलालीको खग्रौला, भजनीको मोरियाघाट र धनगढी उपमहानगरपालिका नर्सरी भन्ने स्थानमा दुवै टोलीले सहमत भएको सीमामा स्थानीय मानेका छैनन्। यो टोलीले अवलोकन, मर्मत र नयाँ स्तम्भ निर्माण गर्ने जिम्मा पाएको थियो।

‘नेपालका बासिन्दाले अस्वीकार गरेका कारण मोरियाघाट र नर्सरीमा सीमा विवाद बाँकी रहेको हो,’ संयुक्त टोलीमा नेपालका तर्फबाट प्रमुख सुदर्शन धामीले बताए। स्थानीयलाई मनाएर सीमामा नयाँ स्तम्भ राख्ने भनेर अहिले स्थगित गरिएको उनले बताए। स्थानीयले उपयोग गर्दै आएको जमिन भारततिर जान लागेको भनेर सीमा स्तम्भ हाल्न दिएका छैनन् । दुई देशबीच सम्झौता भएको नक्साअनुसार अध्ययन गरेर विवादित, पिल्लर हराएका ठाउँमा सीमा पत्ता लगाएर सीमा स्तम्भ राख्न खोजेको उनले बताए। नेपालतर्फका बासिन्दाबाट समस्या भएको उनको भनाइ छ।

संयुक्त टोलीमा भारततर्फका प्रमुख आरसी भट्टले प्रणालीद्वारा स्तम्भ राखिने ठाउँ पत्ता लगाइसके पनि नेपालबाट समस्या भएकोले प्रशासनले स्थानीयलाई बुझाउनुपर्ने बताए। ‘नेपालबाट अवरोध भएकाले केही ठाउँका सीमामा स्तम्भ राख्न सकिएको छैन,’ उनले भने, नेपालका अधिकारीले स्थानीयलाई सहमत गराएर ती ठाउँमा स्तम्भ राख्नुपर्छ।’ स्थानीयले भने लालपुर्जा भएको र बावुबाजेले उपभोग गरेको जमिनसमेत भारततर्फ लैजाने प्रयास भएको आरोप लगाएका छन्। नेपालका तर्फबाट टोलीमा रहेका पनि भारतीय टोलीको प्रभाव परेर देशको भूभाग गुम्नेगरी सीमा स्तम्भ हाल्न सहमत भएको स्थानीयको भनाइ छ।

यो समिति सबैभन्दा बढी विवादित गोविन्द गौतमको हत्या भएको पुनर्वास क्षेत्रमा गएको छैन भने पारासनमा पनि गएको छैन। विवादित भएको बीचठाउँमा जानुभन्दा एक छेउबाट समाधान गर्दै जाने भनेर पुनर्वास क्षेत्रमा नगएको उनको भनाइ छ। पुनर्वासलगायत विवादित ठाउँमा दोस्रो चरणमा काम गरेर समस्या समाधान गर्ने उनको भनाइ छ।

‘भारतले दाबी गरेको भन्दा २ सय मिटर दक्षिणसम्म हाम्रो सीमा रहेको छ,’ पुनर्वासका सहिद गोविन्द गौतम सीमा सुरक्षा संघर्ष समितिका सहसचिव पूर्णबहादुर पौडेल भन्छन। भारतले पिल्लर गायव गरेर नेपालको भुभाग अतिक्रमण गरेको आनन्दबजारका बासिन्दा बताउँछन्।

गत मंसिरबाट नेपाल भारतको संयुक्त सीमा सर्भे टोलीले कैलाली र कञ्चनपुरका सीमा पिल्लरको अवलोकन, मर्मत तथा निमार्णको थालनी गरेको थियो। यो अवधिमा कैलाली र कञ्चनपुरमा रहेका ६५९ वटा सीमा पिल्लरको अवलोकन गरेको टोलीका नेपाल प्रमुख धामीले बताए।

१०१ वटा पिल्लरको मर्मत तथा ३१ वटा नया पिल्लार निमार्ण गरेको उनको भनाइ छ। मर्मत तथा निमार्ण गरिएकामध्ये अधिकांश कैलालीका सीमा पिल्लर रहेका छन्। १०१ वटा पिल्लरको मर्मत गरिएकोमा कैलालीमा मात्रै ९८ वटा र कञ्चनपुरमा ३ वटा रहेका छन्। कञ्चनपुरमा मात्र २ सय १७ पिल्लर गायव भएका छन । कञ्चनपुरमा सबैभन्दा बढी सीमा विवाद रहेको छ। यो विवादित ठाउँमा टोलीले काम नगर्दै पहिलो चरणको काम सिध्याएको बताएको छ। ‘पहिलो चरणको काम सम्पन्न भएको र बाँकी काम दोस्रो चरणका हुने छ,’ उनले भने।

बिहीबार नेपाल–भारत सीमा सर्भे टोलिका दुवै देशका प्रमुख , भारतको खिरी र पिलिभितका डिएम नेपालका तर्फबाट कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र दुवै देशका जिल्ला स्थानीय सुरक्षा निकायका प्रमुखको सहभागितामा सीमा सर्भे टोलीको कामको समीक्षासमेत गरिएको छ।

यो पटक सीमा अवलोकन भएका क्षेत्रमा अर्कोपटक समाधान हुने कैलालीका प्रमुख जिल्ला अधिकारी रिषिराम तिवारीले बताए।

प्रकाशित: २८ वैशाख २०७५ ०२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App