coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सप्तरीबाट १० हजार जना सहभागी हुने

राजविराज – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आउँदो शुक्रबार जनकपुरमा हुने नागरिक अभिनन्दनमा सर्वसाधारणको सहभागिता जुटाउन सरकारी खर्चमा सप्तरीबाट ५८ वटा बस जनकपुर जाने भएका छन्। मोदीको नागरिक अभिनन्दन समारोहलाई भव्य बनाउने उद्देश्यले स्थानीयस्तरमा गठित नागरिक अभिनन्दन व्यवस्थापन समन्वय समिति सप्तरीका अनुसार उक्त समारोहमा सप्तरीबाट सर्वसाधारणलाई लैजानका निम्ती प्रदेश सरकारले २२ वटा बस पठाउँदै छन् भने जिल्लास्थित १८ वटै स्थानीय तहलाई कम्तीमा २ वटा बसको व्यवस्थापन गर्न निर्देशन दिइएको छ।

जिल्ला समन्वय समिति सप्तरीका संयोजक प्रभारक यादवको संयोजकत्वमा रहेको नागरिक अभिनन्दन व्यवस्थापन समन्वय समितिमा सप्तरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतका उच्च पदस्थ अधिकारीसमेत रहेका छन्। समितिले मंगलबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी भारतीय प्रधानमन्त्रीको नागरिक अभिनन्दन समारोहमा सप्तरीबाट कम्तीमा १० हजार सर्वसाधारण लैजाने लक्ष्य रहेको जानकारी गराए।

‘१० हजार सर्वसाधारण यहाँबाट लैजाने हाम्रो योजना रहेको छ,’ पत्रकार सम्मेलनमा सहभागी सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले भने, ‘प्रदेश सरकारले पठाउने बसबाहेक स्थानीय तहलाई पनि कम्तीमा २ वटा बसको व्यवस्थापन गर्न हामीले आग्रह गरेका छांै, यसका अतिरिक्त बढीभन्दा बढी सर्वसाधारण, कर्मचारी, नागरिक समाजका अगुवा लगायतकालाई स्वस्पूmर्त समारोहमा सहभागी हुन आह्वान गरिएको छ।’ मोदी आउने दिन वैशाख २८ गते प्रदेश २ मा सार्वजनिक विदा रहेकाले उक्त अवसरलाई सदुपयोग गर्दै सरकारी कर्मचारीलाई पनि बढीभन्दा बढी संख्यामा समारोहमा उपस्थित हुन आग्रह गरिएको प्रजिअ पाण्डेले जानकारी गराए।

नागरिक अभिनन्दन व्यवस्थापन समन्व्य समिति सप्तरीको वैशाख २३ गते नै बसेको बैठकले उक्त समारोहमा सप्तरीवाट बढीभन्दा बढी सर्वसाधारणको प्रतिनिधित्व, समारोहमा जानसम्म सर्वसाधारणका लागि यातायात व्यवस्थापन, भ्रमणलाई लक्षित गर्दै उक्त अवधिसम्मका लागि सुरक्षा सतर्कता लगायतबारेमा विभिन्न छलफल तथा निर्णायसहितको तयारी थालिएको समितिका संयोजक प्रभारक यादवले जानकारी गराए।

भारतीय प्रधानमन्त्रीको नागरिक अभिनन्द समारोहलाई अवसरका रूपमा प्रयोग गर्दै सप्तरीको विकाससँग जोडिएका विभिन्न मुद्दालाई भारतीय प्रधानमन्त्री समक्ष उठाइयोस् भन्ने उद्देश्यका साथ आपूmहरूले प्रदेश–२ का मुख्यमन्त्री समक्ष ध्यानाकर्षण पत्रसमेत पठाउन लागेको समितिका संयोजक यादवले जानकारी गराए।

मुख्यमन्त्रीलाई पठाइएको ध्यानाकर्षणपत्रमा सप्तरीको तिलाठी र भारत बिहारको सुपौल जिल्लाअन्तर्गत पर्ने कुनौलीग्राम पञ्चायतबीच रहेको दशगजा क्षेत्रमा भारतीय बाँधका कारण थुनिएर रहेको खाँडो नदी निकासको मुद्दा भारतीय प्रधानमन्त्री समक्ष उठाइदिन आग्रह गरिएको छ। ‘खाँडो नदी निकासको समस्याले दुवैतिरका जनता उत्तिकै प्रभावित छन्, झन् बाढीका बेला त दुवैतिरका जनतालाई एक आपसमा जुध्नुपर्ने बाध्यता पनि उत्पन्न भइरहेको छ,’ जिल्ला समन्वय समिति सप्तरीका संयोजकसमेत रहेका यादवले भने, ‘वर्षौदेखिको मैत्री सम्बन्धको निरन्तरता राष्ट्रियस्तरमा सम्बन्ध विस्तारले मात्रै सम्भव हुँदैन, यसका निम्ती सीमाक्षेत्रमा बसोबास गर्ने सर्वसाधारणको पीडा पहिला सम्बोधन हुनुपर्छ।’

यसका साथै सप्तरीको छिन्नमस्ता नाकासँग जोडिने भारत विहारको न्यौरस्थित जोपी लोहिया गेटसम्म रेल्बे हेड तथा सप्तरीको तिलाठी कुनौली जोड्ने खाँडो नदीमा मैत्री पुल निर्माणका लागि भारतीय प्रधानमन्त्रीलाई आग्रह गर्न प्रदेश सरकारलाई पत्रमार्फत ध्यानाकर्षण गराइएको छ।

भारतीय स्वतन्त्रता संग्राम चलिरहँदा जेपी लोहिया, जयप्रकाश नारायण जस्ता स्वतन्त्रता सेनानी लामो समयसम्म सप्तरीमा बास बसेको विषयलाई दृष्टिगत गर्दै सप्तरीमा जेपी लोहिया–गजेन्द्रनारायण सिंह प्राविधिक विश्वविद्यालय स्थापना भारतीय सहयोगमा हुनुपर्ने अवधारणासहित उक्त मुद्दा समेत भारतीय प्रधानमन्त्री समक्ष उठाइदिन ध्यानाकर्षण पत्रमार्फत प्रदेश सरकारलाई आग्रह गरिएको छ।

कोसी ब्यारेजको पुनर्निर्माणका साथै कोसी सम्झौता अनुरूप मुआब्जा अझै पनि सप्तरीका किसानले पाउन नसकेका कारण भारतीय पक्षले यथाशीघ्र पीडित किसानलाई क्षतिपूर्तिसहितको मुआब्जा उपलब्ध गराउन भारतीय प्रधानमन्त्रीलाई आग्रह गर्नुपर्ने सुझावसहितको ध्यानाकर्षणपत्रमा मुख्यमन्त्रीलाई पठाइएको हो। ध्यानाकर्षणपत्रमा चतरा हाइड्यामको मुद्दासमेत उठाइएको छ।

प्रकाशित: २६ वैशाख २०७५ ०४:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App