१६ चैत्र २०८० शुक्रबार
राजनीति

प्रदेश ४ को पहिलो अधिवेशन सकियो, ८ विधेयक पारित

पोखरा– तीन महिनासम्म चलेको प्रदेश नं. ४ को हिउँदे अधिवेशन सोमबारदेखि सकिएको छ। सोमबार स्थानीय तहको सभासञ्चालन सम्बन्धि कार्यविधी विधेयक पारितसँगै सभामुख नेत्रनाथ अधिकारीले हिउँदे अधिवेशन सकिएको जानकारी सभामा गराएका थिए। मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुखले पठाएको पत्र पढेर अधिवेशन अन्त्यको घोषणा गरिएको थियो।

माघ ७ गते प्रदेशसभा सदस्यको सपथ र २२ गतेदेखि विधिवत रुपमा अधिवेशन सुरु भएको थियो। माघ २२ गतेदेखि वैशाख २४ गतेसम्म सञ्चालित अधिवेशन अवधिमा प्रदेशसभाको ३६ वटा बैठक सञ्चालन भएका छन्। प्रदेशसभाले सरकारको वार्षिक नीति तथा कार्यक्रमदेखि लिएर विनियोजन विधेयक सहित विभिन्न ९ वटा विधेयकहरु पारित गरेको छ। 

सभाको विभिन्न मितिमा पारित विधेयकहरुमा प्रदेशसभा नियमावली, आर्थिक कार्यविधी विधेयक, स्थानीय तहका पदाधिकारीहरुको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सभामुख÷उपसभामुख तथा प्रदेशसभा सदस्यहरुको पारिश्रमिक तथा सेवासुविधा सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक, मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक र सेवासुविधा सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक, प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, स्थानीय तहको सभा सञ्चालन सम्बन्धि विधेयक, विनियोजन विधेयक रहेका छन्।

प्रदेशसभाले पारित गरेका ९ वटा विधेयक मध्ये विनियोजन विधेयक र प्रदेशसभा सदस्यहरुको मासिक पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धिको विधेयक मात्र बहुमत (प्रतिपक्षीको असहमतिमा) ले पारित भएका हुन्। अन्य सबै विधेयक सर्वसहमतिको आधारमा पारित भएका थिए।

नियमावली अनुसारका चारवटै विषयगत समितिले पूर्णता पाएका छन्। प्रदेशमा अब महत्वपूर्ण विषय स्थायी नाम र राजधानीको विषयमा भने टुंगो लाग्न बाँकी नै छ। यसको लागि विशेष समिति गठन गरिएको र अबको एक महिनाभित्र उक्त समितिले प्रतिवेदन बुझाउनेछ।

यस्तै, प्रदेशसभा बैठकमा दुईपटक नियम निलम्बन भएको छ भने एकपटक नियमावली संशोधन समेत भइसकेको छ। प्रदेशसभा सदस्यहरुको पारिश्रमिक तथा सेवासुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको लागि नै नियमावली पहिलोपटक संशोधन गरिएको थियो।

प्रदेशसभा बैठकमा चारपटक विशेष समय र दुईपटक शून्य समयमा प्रदेशसभा सदस्यहरुले समसामायिक विषयमा कुरा उठाएका थिए। विशेष समय चैत १६ गतेको १५ औँ बैठक र शून्य समय २१ गतेको १६ औँ बैठकबाट सुरु भएको थियो। यस्तै, प्रतिपक्षीले अधिवेशन अन्त्यतिर ३६ औँ बैठकमा सदन अवरुद्ध गरेका कारण पहिलोपटक सदन स्थगित भएको थियो। 

यस्तै, विभिन्न विधेयकहरु माथि छलफलदेखि लिएर बजेट वक्तव्यमाथिको छलफलसम्म प्रदेशसभामा सबैभन्दा बढि बोल्ने नयाँ शक्तिका हरिशरण आचार्य रहेका छन्। नयाँ शक्ति २ सहित यो प्रदेशमा राष्ट्रिय जनमोर्चा ३ र नेपाली कांग्रेसका १५ प्रदेशसभा सदस्यहरु प्रतिपक्षमा रहेका छन्। तर, प्रतिपक्षमा रहेतापनि जनमोर्चाले विश्वासको मत भने सरकारलाई दिएको छ। जनमोर्चाको २, माओवादी केन्द्रको १२ र एमालेको २७ प्रदेशसभा सदस्यसहित प्रदेशमा दुई तिहाई बहुमतको सरकार रहेको छ।

प्रदेश सभाको हिउँदे अधिवेशन सफलतापूर्वक सम्पन्न भएको प्रदेशसभा सदस्यहरुले प्रतिक्रिया दिएका छन्। एमालेका मायानाथ अधिकारीले प्रदेशसभा गठनपछिको पहिलो, हिउँदे तथा ऐतिहासिक अधिवेशन समग्रमा सफल भएको प्रतिक्रिया दिए। ‘सामान्य विषयमा असमझदारी देखिएतापनि समृद्ध प्रदेशसको साझा एजेण्डामा सबै एक नै भएर अगाडि बढेका छौँ, आगामी दिनमा पनि यस्तै सहकार्य हुनेछ’ उनले भने, ‘एकाध बाहेक संसदीय अभ्यासमा सबै नयाँ भएको हुँदा सिक्दै र अगाडि बढ्दै जानेछौँ।’

यस्तै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रदेशदेखि सबै संरचना नयाँ रहेको र यसलाई सकारात्मक रुपले लिनुपर्ने बताए। प्रदेशको हितको विषयमा सबै एक हुने समझदारी कायम भएको उनले बताए।

‘संघमा फौज्दारी अभियोग लागेको सांसदको विषयमा विवाद देखिएतापनि प्रदेश नं. ४ को नियमावलीले नै निलम्बन हुने स्पष्ट कानुन बनाएको छ, यसले पनि हाम्रो प्रदेशको एकरुपता देखाउँछ’ उनले भने, ‘बजेटको विषयमा केही असमझदारी देखिएको थियो र सरकारले सम्बोधन पनि गरेर आश्वस्त बनायो, यसले प्रदेशका सबै सदस्यहरु सहमतिले अगाडि बढ्नेतर्फ उन्मुख रहेको प्रष्ट हुन्छ।’

नियमावलीलाई अक्षरशः पालना गर्नुपर्ने र नियमावलीलाई बलियो बनाएर विधिको शासन गर्नुपर्नेमा अगाडि बढ्नुपर्ने उनले बताए।

पहिलो अधिवेशन अन्त्यसँगै जेठ दोश्रो सातादेखि वर्खे अधिवेशन सुरु हुने संसद सचिवालयले जनाएको छ।

प्रकाशित: २४ वैशाख २०७५ १४:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App