२६ असार २०८२ बिहीबार
image/svg+xml
राजनीति

पहिलो पटक पुग्यो विकट गाउँमा सरकार

बाँकेको अति विकट मानिने राप्तीसोनारीको विकट गाउँमा पुगेका राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेललगायतको टीम। तस्विरः गणेश/नागरिक

राप्तीसोनारी गाउँपालिका-४ को सीमाक्षेत्र–खयरभट्टी, चुनभट्टी, गुर्दनगौडी, बाँसखोली, चुनपानी, माझपानीजस्ता गाउँहरूमा केही दिन यता असाधारण चहलपहल छ।

अघिपछि सरकारको अनुहार टाढाबाट मात्र देख्ने यी गाउँका बासिन्दाले, यसपटक सरकारलाई आफ्नै आँगनमा देखे। त्यो पनि बोलीमा होइन, कामको मूल्यांकन र समस्याको सुनुवाइ गर्न घरदैलोमै आइपुगेको सरकार।

यी बस्तीहरूमा सरकारको उपस्थिति विरलै देखिन्छ। विकट भौगोलिक बनावट, असहज बाटो र पहुँच अभावले गर्दा जनप्रतिनिधिहरूको नियमित पहुँच सम्भव हुँदैन।

‘हामी त भोट हाल्न मात्रै राज्यको सम्झना गर्छौं, बाँकी पाँच वर्ष त आफैँसँग लडिरहनुपर्छ,’ खयरभट्टीकी ७५ वर्षीया धनकुमारी चौधरी भन्छिन्, ‘तर अहिले त आफ्नै आँगनमा सरकार आएको छ। खुसी लाग्यो।’

गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलको नेतृत्वमा गाउँ सरकारको टोली वडा अध्यक्ष मिनराज खड्का, सचिवालय प्रमुख पवन शाहलगायतको टोलीले यी गाउँहरूमा पुगेर बाटो, विद्यालय, स्वास्थ्य चौकी, तटबन्ध, सडकबत्ती, प्रतीक्षालयलगायत निर्माण तथा सेवाहरूको स्थलगत अनुगमन गर्‍यो।

‘हामी योजनाबद्धरूपमा जनताको समस्या बुझ्न र समाधान खोज्न गाउँगाउँ गइरहेका छौं,’ गाउँपालिका अध्यक्ष पौडेल भन्छन्, ‘गाउँको विकास कागजमा मात्र होइन, जमिनमै देखिनुपर्छ।’

वडाध्यक्ष खड्का भन्छन्, ‘यस्ता भ्रमणले हाम्रो कमजोरी पनि देखाउँछ र जनताको विश्वास पनि जिताउँछ। सबैभन्दा सन्तोषजनक कुरा के हो भने जनताको अनुहारमा उत्साह देखिएको छ।’

गुर्दनगौडीका स्थानीय नारायण चौधरी भन्छन्, ‘पहिलो पटक गाउँमै आएर सरोकारवाला निकायले विद्यालयको अवस्थाबारे चासो दिएको देख्दा हामी उत्साहित भएका छौं।’

छात्रा बिमला चौधरीको कुरा सुन्दा त लाग्छ, प्रतिनिधिको उपस्थिति आफैँमा अवसर हो, ‘पहिलोचोटि नेताहरूसँग प्रत्यक्ष बोलेकी हुँ, हाम्रो स्कुलको शौचालय बिग्रेको छ भनेकी छुँ। सुन्नुभयो।’

बाँसखोलीका किसान रामबहादुर चौधरी भन्छन्, ‘कसैले हाम्रो खेतमा पानी पुग्दैन भनेको सुन्थेनन्। अहिले त आफैँ हेर्न आइपुगे। बाटो राम्रो हुने भनेपछि अब मल बोकेर पाँच किलोमिटर टाढा जानुपर्ला भन्ने डर छैन।’

सीमाक्षेत्रलाई होमस्टेको रूपमा विकास गर्न सकिने सम्भावना रहेको गाउँपालिकाले जनाएको छ। अध्यक्ष पौडेलले पर्यटन सम्भावना पहिचान गर्दै आगामी बजेटमा साना पूर्वाधार निर्माणका साथै संस्कृति र प्राकृतिक स्रोतसाधन उपयोगमार्फत गाउँलाई आम्दानीमुखी बनाउने योजना सुनाएका छन्।

‘अहिलेको गन्तव्य बर्दिया हो तर पर्यटकलाई नयाँ अनुभव दिन सकिने हाम्रो क्षेत्र पनि छ। थारु संस्कृति, जंगलको छेउ, मौलिकता र शान्त वातावरण,’ वडाध्यक्ष खड्का बताउँछन्।

यी बस्तीहरूमा सडक अभाव, स्वास्थ्य सेवा नपुगेको, शिक्षाको गुणस्तर खस्किएको, खानेपानीका स्रोत कमजोर भएका समस्या साझा छन्। तर ती समस्याहरूको समाधान त्यतिबेला मात्रै सम्भव छ जब राज्यका प्रतिनिधि साक्षात् जनताकै बीचमा पुग्छन्।

‘सरकारलाई हेर्नु पर्‍यो भने कोहलपुर जानुपर्ने, आज त सरकारले हामीलाई हेर्न गाउँ नै आयो,’ चुनपानीका सीता विकले भनिन्, ‘अब त हाम्रो आवाज काठमाडाैंसम्म पुग्ला भन्ने आशा जागेको छ।’

राप्तीसोनारी–४ को सीमाक्षेत्रमा स्थानीय सरकारको यस्तो सक्रियता केवल औपचारिकता होइन, यो ‘उपेक्षित’ भनिएका गाउँहरूलाई राज्यको मूलधारमा ल्याउने प्रयास मानिएको छ।

विकासको मापन अब पूर्वाधारको गुणस्तर, सेवाको पहुँच र जनताको आत्मविश्वासमा हुने स्थानीयको विश्वास छ। यी गाउँमा अहिले सडक राम्रो छैन, स्कुलमा पर्याप्त शौचालय छैन, स्वास्थ्य केन्द्रमा कर्मचारी छैनन् तर जनताको अनुहारमा उज्यालो देखिएको गाउँपालिका अध्यक्ष पौडेलको दाबी छ।

प्रकाशित: २१ असार २०८२ १६:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App