१५ चैत्र २०८० बिहीबार
राजनीति

संसद्को दोस्रो अधिवेशन सुरु, चार अध्यादेश प्रस्तुत

काठमाडौं- प्रतिनिधिसभा बैठकमा विभिन्न चार अध्यादेश प्रस्तुत गरिएको छ। संघीय संसदको आजदेखि सुरु भएको दोस्रो अधिवेशनको बैठकमा गृहमन्त्री रामबहादुर थापाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले ‘राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७५’ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५’ प्रस्तुत गरे। 

त्यस्तै, कानुन मन्त्री तामाङले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७५’ र ‘संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी अध्यादेश, २०७५’ पेस गरेका थिए। 

बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले ‘प्रतिनिधिसभा नियमावली समितिको प्रतिवेदन, २०७५’ प्रस्तुत गरेका थिए। उनले राखेको नियमावली मस्यौदा समितिको म्याद थपसम्बन्धी प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको छ। 

बैठकले सभामुख र उपभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि अध्यक्षता गर्न खगराज अधिकारीको सट्टामा राधा ज्ञवालीलाई राख्ने प्रस्ताव पारित गरेको छ। अधिकारी नेकपा (एमाले) संसदीय दलको प्रमुख सचेतक हुन्।  

बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्रको ब्यहोरा पढेर सुनाएका थिए भने द्वितीय अधिवेशनको आजको पहिलो बैठकमा शहीदको सम्झनामा मौनधारण गरिएको थियो। 

प्रकाशित: २३ वैशाख २०७५ १३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App