नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्योलमा पर्दै गएका बेला आगामी नेतृत्वलाई लिएर मोर्चाबन्दी सुरु गरेका सात नेताहरू फेरि सेलाएका छन्। जेठको पहिलो साता पार्टीका पूर्वउपसभापति गोपालमान श्रेष्ठको संयोकत्वमा सात पूर्वपदाधिकारीको बैठक बसेको थियो। सभापतिका दाबेदारमध्येका सात नेताले महाधिवेशनलाई केन्द्रित गरेर सात प्रदेशमा कार्यक्रम गर्ने निधो गरेका थिए।
सरकारका उपप्रधानमन्त्रीसमेत रहेका पूर्वउपसभापति प्रकाशमान सिंहको नेतृत्वमा जेठको तेस्रो साताभित्र काठमाडौंमा बागमतीस्तरीय भेला आयोजना गर्ने निर्णय नेताहरूले गरेका थिए। त्यसको सम्पूर्ण जिम्मेवारी सिंहलाई दिइएको थियो। बागमती भेलापछि बाँकी ६ प्रदेशमा कार्यक्रम गर्ने उनीहरूको दाबी थियो। त्यसका लागि भन्दै सात नेताले आफूनिकटका सात अरू नेतालाई जिम्मेवारी पनि दिएका थिए। तर जेठ ५ पछि झन्डै डेढ महिना बित्न लाग्दा पनि महाधिवेशनको सामूहिक अभियान चलाउने र साझा उम्मेदवार बनाउने भन्दै ‘लन्च मिटिङ’मा जुटेका सात भाइ नेता छलफलमै जुट्न सकेका छैनन्। उनीहरूले बागमती प्रदेशसहित सातै प्रदेशमा गर्ने भनिएको कार्यक्रमको तयारी गरिएको छैन नै, त्यसबारे अहिले चर्चासमेत हुन छाडेको छ।
यद्यपि पूूर्वउपसभापतिसमेत रहेका कांग्रेस नेता गोपालमान श्रेष्ठले उपप्रधान तथा सहरी विकास मन्त्रीसमेत रहेका प्रकाशमान सिंह बजेटसहित सरकारको काममा केही दिन व्यस्त रहेकाले प्रदेश भेलामा केही विलम्ब भएको दाबी गरे। असार १६ गते सुरु हुने केन्द्रीय समितिको बैठकलगत्तै आफूहरू पूर्ववत् योजनाअनुसार कार्यक्रम र बैठकहरू हुने उनको भनाइ छ। ‘प्रकाशमानजीको कार्यव्यस्तताले गर्दा केही ढिला भएको हो,’ उनले भने, ‘राजधानीबाटै सुरु गर्ने सल्लाह भएकाले केही ढिला भएको हो। अन्य कुनै कारणले होइन।’
कांग्रेसका नेतात्रय बिपी कोइरालापुत्र डा. शशांक, गणेशमान सिंहपुत्र प्रकाशमान र महेन्द्रनारायण निधिपुत्र विमलेन्द्रबाट सुरु भएको लन्च मिटिङ विस्तार हुँदै जाँदा नेताहरू गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार र प्रकाशशरण महतसहितका नेताहरू एकअर्काको निवासमा जुट्दै आएका थिए।
पार्टी नेता डा. शेखर कोइरालाले आगामी महाधिवेशन केन्द्रित कार्यक्रम केही समयअघिदेखि नै चलाउँदै आएका छन्। पार्टीका नेता तथा कार्यकर्तालाई काठमाडौंमा मात्र होइन, जिल्ला–जिल्ला पुगेर उनले भेटघाटलाई तीव्र बनाउँदै आएका छन्। महामन्त्री गगनकुमार थापाले पनि महाधिवेशन केन्द्रित कार्यक्रम गर्न थालेको उनीहरूको बुझाइ छ। सोहीअनुसार फागुन पहिलो साता पदाधिकारी र पूर्वपदाधिकारीसहितका ११ नेताले सभापति शेरबहादुर देउवालाई भेटी उत्तराधिकारी तोक्न आग्रह गरेका थिए। देउवासँग निकट रहेका उनीहरूको भेटमा आफू सँगै रहेको महामन्त्री थापाले बताएका थिए।
देउवाले मुख नखोलेपछि कांग्रेसका नेताहरू आन्तरिक छलफलमा जुट्दै महाधिवेशन केन्द्रित अभियानमा जुट्ने निष्कर्षमा पुगेका हुन्। त्यसमा पार्टी उपसभापति पूर्णबहादुर खड्कासहितका अन्य पदाधिकारी र पूर्वपदाधिकारीलाई पनि जोड्ने नेताहरूले दाबी गरेका छन्। तर उपसभापति खड्का सभापति देउवाको आशीर्वाद लिएर आफैं नेतृत्वको दौडमा जिल्ला निस्कने तयारीमा छन्।
जिल्लादेखि पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालिसकेको र सरकारको पनि कार्यवाहक प्रधानमन्त्रीको भूमिका निर्वाह गरेको जनाउँदै आफ्ना लागि सभापतिबाहेक आगामी महाधिवेशनमा उम्मेदवार हुने अर्को विकल्प नभएको निकटहरूसँग बताउँदै आएका छन्। तर उनले सभापति देउवासँगको परामर्शपछि मात्र प्रचारमा निस्कने बताउँदै आएको निकटहरूको दाबी छ।
‘आफू पार्टी उपसभापतिको जिम्मेवारीमा रहेकाले अरू साथीहरूले जस्तै मै हुँ भन्दै हिँड्न मिल्दैन,’ खड्कालाई उद्धृत गर्दै निकट नेताले भने, ‘नयाँ र पुराना पुस्तालाई मिलाएर अघि बढ्न सक्ने त्यो अनुभव मसँग छ। सभापतिसँग कुरा गरेर छिट्टै जिल्ला निस्कन्छु।’
तर ‘लन्च मिटिङ’मा जुट्दै आएका सात पूर्वपदाधिकारी सबै आगामी महाधिवेशनमा नेतृत्वका आकांक्षी हुन्। उनीहरू सबै सभापति देउवासँग नजिकिने प्रयासमा छन्। देउवाको समर्थनसहित उत्तराधिकारी बन्न उनीहरू लालायित छन्। किनकि कांग्रेस विधानको विद्यमान व्यवस्थाले देउवालाई अब नेतृत्व प्रतिस्पर्धामा उत्रिने अधिकार दिँदैन। कांग्रेस विधानले लगातार दुई पटकभन्दा बढी सभापति बन्न प्रतिबन्ध लगाएको छ। त्यसैले देउवाको समेत विश्वास बटुलेर उत्तराधिकारी बन्ने होडमा नेताहरू लागिपरेका छन्।
१४औं महाधिवेशनमा देउवाका मुख्य प्रतिस्पर्धी बनेका डा. शेखर कोइरालाले सभापतिको तयारीलाई तीव्र बनाएका छन्। आगामी दिनमा अभियानकै रूपमा महाधिवेशन केन्द्रित अभियान सञ्चालन गर्ने तयारी तयारीमा छन्। तर महाधिवेशनका लागि प्रस्थान बिन्दु रहेको कांग्रेस क्रियाशील सदस्यता नयाँ र नवीकरणको काम समयतालिका अनुसार अघि बढ्न सकेको छैन।
विगतका महाधिवेशनमा पनि कांग्रेस क्रियाशील सदस्यताको विषयलाई लिएर निकै झमेला हुने गरेको थियो। पटकपटक थपिएको समयमा सदस्यता नवीकरणको काम सम्पन्न नभएपछि असार मसान्तासम्मको समय दिएर नयाँ र नवीकरणका लागि कांग्रेसले मातहतका निकायहरूलाई परिपत्र गरिएको छ। तर, ‘गुटैगुटको महासंघ’ जस्तो बनेको कांग्रेसमा सदस्यताको विषय पेचिलो बन्दै गएको छ। जसले गर्दा विधानको व्यवस्थाअनुसार चार वर्षभित्र महाधिवेशन नहुने त निश्चित नै भएको छ भने थपिएको अर्को एक वर्षमा पनि कांग्रेस महाधिवेशन हुनेमा अन्योल बढ्दै गएको छ।
कांग्रेस विधानअनुसार महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको चार वर्षे कार्यकाल आगामी मंसिरमा सकिँदै छ। विधानमा एक वर्ष कार्यकाल थप गर्न पाउने व्यवस्था छ। एक वर्ष कार्यकाल थप गर्दा कांग्रेसलाई २०८३ मंसिरसम्म महाधिवेशन गर्ने समय मिल्नेछ।
संवैधानिक व्यवस्थाअनुसार प्रत्येक राजनीतिक दलले साढे पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्छ। यो प्रावधान विगतमा प्रयोग गरेको कांग्रेसले अब पनि त्यसलाई उपयोग गर्नुपर्ने रणनीतिमा नेताहरू छन्। त्यस्तो अवस्थामा कांग्रेसलाई थप ६ महिना समय मिल्नेछ। त्यसो भएमा कांग्र्रेस १५औं महाधिवेशन २०८४ वैशाख/जेठसम्म गर्न उसले समय पाउनेछ।
सात पूर्वपदाधिकारीका साथै नेता शेखर कोइराला पनि सदस्यताको विषयलाई देखाएर महाधिवेशन २०८३ भन्दा पछि धकेल्न नहुने बताउँदै आएका छन्। सभापति देउवासहितका केही पदाधिकारीहरू पार्टीको १५औं महाधिवेशन २०८४ को आम निर्वाचनपछि धकेल्ने रणनीतिमा रहेको आरोप पनि केही नेताहरूले लगाउँदै आएका छन्। समयमा महाधिवेशन नगराउन सदस्यतासहितको पूर्वतयारीमा पदाधिकारीहरूले ध्यान नदिएको असन्तुष्ट नेताहरूको आरोप छ।
यद्यपि कांग्रेसले सदस्यता नयाँ र नवीकरण लगायत विषयमा छलफल गर्न झन्डै एक वर्षपछि आगामी सोमबार १ बजेका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बोलाएको छ। कांग्रेस केन्द्रीय समितिको बैठक आकस्मिकबाहेक गत साउन–भदौपछि बसेको छैन।
प्रकाशित: १३ असार २०८२ ०६:३६ शुक्रबार





