coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘व्यक्तिमा होइन प्रक्रियामा असहमति’

काठमाडौं – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टी पदाधिकारी मनोनयनमा सभापति शेरबहादुर देउवाले विधान र प्रक्रिया पूरा नगरेको गुनासो गरेका छन्। पार्टी उपसभापति र महामन्त्रीमा मनोनित भएपछि शनिबार साँझ नेता पौडेललाई भेट्न पुगेका विमलेन्द्र निधि र पूर्णबहादुर खड्कासँग सभापतिले पार्टीलाई मिलाएर लैजान नखोजेको गुनासो गरेका हुन्।

‘पदाधिकारी जो भएपनि कांग्रेसकै नेताहरु हुनेहुन्,’ पौडेललाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘व्यक्तिका विषयमा मेरो गुनासो र असहमति होइन। सभापतिले सबैलाई समेटेर लैजानुहोस् र पार्टीको विधि, प्रक्रिया पुराहोस् भन्ने चाहना हो।’

पार्टी सुदृढ बनाएर लैजान आफ्ना तर्फबाट संधै सहयोग रहने आश्वासन दिंदै नेता पौडेलले विधि र विधानमा सम्झौता नगर्न दाबी गरेका थिए। ‘कि सहमतिबाट जानुप¥यो होइन भने पार्टी विधि र विधानअनुसार चल्नुपर्छ,’ पौडेलले भनेका थिए, ‘एकले अर्को पक्षलाई निषेध गरेर जाने अहिलेको बेला होइन। पार्टी शीर्ष नेताबीच मतभेद भएपनि संगठन निर्माणमा एकतावद्ध भएर जानुपर्छ।’

पार्टी विभागहरुलाई तत्काल पूर्णता दिन आग्रह गर्दै पौडेलले विधान संशोधनका लागि तत्काल मस्यौदा समिति गठन गर्न नेताहरुलाई सुझाएका छन्। कानुनी र पार्टीको मर्मर भावना बुझ्ने व्यक्तिहरुलाई मस्यौदा समितिमा राखन सुझाउँदै पौडेलले जिल्ला सभापतिहरुको भावना समेटेर संशोधन प्रस्ताव लैजानुपर्ने धारणा राखेका थिए।

उपसभापति निधि र महामन्त्री खड्काले पार्टीका सबै नेताको भावनालाई समेटेर नै संगठन अघि बढाउने पौडेललाई आश्वासन दिएका थिए। पार्टीलाई मजबुत बनाएर लैजान पौडेलसहित सबै नेताहरुको सहयोग आवश्यक रहेको जनाउँदै दुबैले आपसी सल्लाह र परार्मसमै अघि बढ्ने बताएका छन्।

पार्टी विधान संशोधनका लागि मस्यौदा समितिका साथै विभाग आपसी छलफलमै तत्काल गठन गर्ने उनीहरूले पौडेललाई सुनाएका छन्।

त्यसअघि उनीहरूले पार्टी महामन्त्री शशांक कोइरालालाई उनकै निवास टोखा र सभापति शेरबहादुर देउवालाई बूढानीलकण्ठ गएर भेटेका थिए।

पौडेल पक्षको असहमतिकाबीच शुक्रबार बसेको निर्वाचित केन्द्रीय समिति बैठकले निधिलाई उपसभापति, खड्कालाई महामन्त्री र प्रकाशशरण महतलाई सहमहामन्त्रीमा मनोनित गरेको थियो। आफ्नो पक्षलाई नसमेटी पदाधिकारी मनोनयन प्रक्रिया अघि बढाएपछि रुष्ट बनेको पौडेल पक्षले विधानको व्यवस्थालाई अघि सार्दै आएका छन्। पदाधिकारी मनोनयनमा नेता पौडेलका साथै कृष्णप्रसाद सिटौला एकै ठाउँमा भएक छन् भने महामन्त्री शशांक कोइरालासहित सभापति पक्ष अर्कोतिर देखिएसँगै कांग्रेसमा नयाँ धु्रवीकरण सुरु भएको छ।

पदाधिकारी मनोनयसँगै सुरु भएको नयाँ विवाद समाधान गर्न शीर्ष नेताहरुसँगको भेटघाटलाई निधि र खड्काले तीव्र बनाएका हुन्।

प्रकाशित: २३ वैशाख २०७५ ०२:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App