८ वैशाख २०८१ शनिबार
राजनीति

माेदी पटनाबाट जनकपुर अाएर 'रामायण सर्किट'को उद्घाटन गर्ने

जनकपुर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहारको पटना हुँदै नेपाल भ्रमणमा आउने भएका छन् । मोदी पटनाबाट सिधै जनकपुरस्थित १२ विघामा अवतरण गर्ने कार्यक्रम रहेको छ । मोदीलाई स्वागत गर्न भने नेपालका एक वरिष्ठ मन्त्री जाने कार्यक्रम छ ।

त्यहाँबाट मोदी जानकी मन्दिर आउनेछन् । जानकी मन्दिरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र मोदीले संयुक्तरुपमा 'रामायण सर्किट'को उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए।

‘मिडियामा आएजस्तो भारतीय प्रधानमन्त्रीलाई स्वागत गर्न प्रधानमन्त्री ओली होइन, मन्त्रिपरिषद्का एक वरिष्ठ मन्त्री जानेछन् । प्रधानमन्त्री ओली र समकक्षी मोदीको जानकी मन्दिरमा हुनेछ । जहाँ दुबैले रामायण सर्किटको उद्घाटन गर्नेछन्,’ अर्यालले नागरिकन्युजसँग भने। 

त्यसपछि प्रधानमन्त्री ओली सिधै काठमाडौं फर्किनेछन् भने मोदी पुनः १२ विघामा हुने नागरिक अभिनन्दनमा सहभागी हुनेछन् । नागरिक अभिनन्दनका लागि प्रदेश सरकारले एक लाख मानिस भेला गर्ने तयारी गरेको छ ।

नागरिक अभिनन्दन सकेपछि प्रधानमन्त्री मोदी काठमाडौ र मुस्ताङका कार्यक्रममा व्यस्त हुनेछन् । 

यसैबीच मोदीको भ्रमणकै तयारी स्वरुप मंगलबार गृहमन्त्री रामबहादुर थापाले जानकपुरस्थित जानकी मन्दिर र १२ विघाको अनुगमन गरेका छन् । उनले सो क्रममा भारतीय प्रधानमन्त्री मोदीको भ्रमण राजनीतिक नभएर धार्मिक रहेको बताए । उनले सुरक्षा व्यस्था चुस्त पार्न तीनवटै सुरक्षा निकायका प्रमुखलाई निर्देशनसमेत दिएका छन् । 

प्रकाशित: १८ वैशाख २०७५ ०६:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App