८ वैशाख २०८१ शनिबार
राजनीति

जनप्रतिनिधि विरुद्ध कांग्रेसको विरोध

विरोध सभामा सहभागीहरु । तस्बिर : नागरिक

रुकुम – जनप्रतिनिधिहरूले मनलाग्दी ढङ्गबाट काम गरिरहेको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ । रूकुमकाे सदरमुकाम मुसीकोट खलंगामा एक विरोध सभाको आयोजना गरी कांग्रेसले विरोध जनाएको हो।

स्थानीय तहबाट जनतालाई सेवा सुविधा दिने काम भन्दा पनि त्रसित पार्ने काम भइरहेकाले यसको विरुद्धमा संघर्षका कार्यक्रम सुरु गरिएको कांग्रेसले जनाएको छ । स्थानीय तहले गरेको कर वृद्धि, टुंगिएको केन्द्र विवाद बिझ्याउनु, जनता भन्दा नेता तथा कार्यकर्ता मुखी योजना छनौट गर्नु, प्रदेश सभाले कानून निर्माण नगर्दै स्थानीय तहले प्रतिपक्षदलको राय सुझाव नलिई कानून निर्माण गर्नुको विरोध जनाएको छ । उनीहरुले यस्ता कार्य तत्काल नसच्याए गाउँ गाउँमा विरोध सभा गर्ने कांग्रेसको चेतावनी छ। 

‘सिंहदरबार गाउँ गाउँमा आएपछि जनताले सेवा सुविधा पनि त्यसै अनुसार पाउनुपर्छ’ नेपाली कांग्रेसका सभापति प्रेमप्रकाश ओलीे भने ‘त्यसो नहुँदा कांग्रेस विरोधमा उत्रिएको हो।’ ‘हामीले पहिले देखिनै स्थानीय तहका जनप्रतिनिधिहरुलाई भन्ने गरेका थियौ’ सभापति ओलीले भने,  ‘तर उनीहरुले कुनै सुनुवाई नगरी जनताको मर्म विपरित आफ्नो स्वेच्छाचारी तरिकाले काम गर्न थाले ।’ ‘यो हाम्रा लागि सह्य हुँदैन्’ उनले भने । काँग्रेसले निर्वाचन जितेका वडा र कांग्रेसको प्रभाव क्षेत्र रहेका ठाउँमा षड्यन्त्रपूर्ण तरिकाले विकास निर्माणका काममा विभेद भइरहेको कांग्रेसको आरोप छ।

यस्तै कार्यक्रमा काँग्रेस रुकुमका नेता एवम् पूर्व राज्यमन्त्री गोपलजी जङ्ग शाहले मिलेर बसेको समाजमा द्वन्द्व मच्चाउने काम स्थानीय सरकारबाट भएको आरोप लगाए। ‘यस जिल्लामा रहेका सबै राजनीतिक दलको सहमतिमा पहिले नै सबै स्थानीय तहका केन्द्रको टुंगो लगाइएको थियो’ उनले भने, ‘अहिले सार्ने कामले एक आपसमा द्वन्द्व सिर्जना भइरहेको छ।’ जुन विषय टुंगिएको छ त्यही विषय विवादमा ल्याइएको उनले बताए। अहिले स्थानीय तहले जनताको ढाड सेक्ने गरेर कर लगाएकाले यसको तत्काल पुर्नविचार गर्नुपर्ने उनको भनाई थियो । जनताको आर्थिक हैसियत अनुसार करको दर निर्धाण नगरी यसैलाई निरन्तर दिएमा आफ्नो पार्टीले निर्वाचनमा जितेका वडामा करको दर घटाउने कांग्रेसले घोषणा गरेको छ । यस्तै कार्यक्रममा नेपाली काँग्रेसका पूर्व सभापति मानबहादुर नेपालीले निर्वाचनमा लागेको खर्च उठाउनको लागि राजनीतिक पूर्वाग्रही ढङ्गबाट विकास निर्माणका काम भइरहेको बताए।

जिल्लाका ६ स्थानीय तहमा नेकपा माओवादीले जितेका छ । निर्वाचित पछि यहाँका जनप्रतिनिधिहरुले कर वृद्धि गर्ने निर्णय गरेका थिए । उक्त कर वृद्धि अस्वभाविक भएको जनगुनासो बढ्न थालेपछि कांग्रेसले विरोध जनाएको हो।

प्रकाशित: १७ वैशाख २०७५ ०८:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App