१६ चैत्र २०८० शुक्रबार
राजनीति

‘भारतमा एउटा रियलाइजेसन भएको छ, नेपालले फाइदा लिनुपर्छ’ (भिडियाे)

काठमाडौं– नेपाल–भारत सम्बन्धका जानकारहरुले सन्तुलित परराष्ट्र नीतिमा जोड दिएका छन्। आइतबार मदन भण्डारी फाउण्डेसनद्वारा आयोजित ‘नेपाल भारत सम्बन्ध : विकसित र गतिशील’ विषयक बहस कार्यक्रमका सहभागीले भारतसँग नेपालको सम्बन्ध सन्तुलित हुनुपर्नेमा जोड लिएका हुन्। 

‘नाकाबन्दीपछि भारतमा एउटा रियलाइजेसन भएको छ। ब्यूरोक्रेटमा हामीले गल्ती गर्यौ भन्ने भएको छ। नाकाबन्दीले भारतविरोधी जनभावना बढ्यो। न्युयोर्क, लण्डनमा नरेन्द्र मोदीले नेपालीको कालोझण्डाको विरोध खेप्नुपर्यो। चीनसँग ऐतिहासिक पारवहनसहित सन्धि सम्झौता भए। यी गतिविधीले नयाँ कन्टेन्टको मार्ग निर्धारण गर्यो’, पूर्व परराष्ट्रमन्त्री रामशरण महतले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि विकसित नेपाल–भारत सम्बन्धबारे चर्चा गर्न मदन भण्डारी मेमोरियल कलेजमा आयोजित कार्यक्रममा कनकमणी दीक्षित/टीका ढकालले प्रधानमन्त्रीको भारत भ्रमणमा मिडिया कन्टेन्टबारे तथा खड्ग केसी/सुजित मैनालीले १९९०–२०१८ सम्म प्रधानमन्त्रीको भ्रमणमा निस्किने नेपाल–भारत संयुक्त वक्तव्यको तुलनात्मक अध्ययन विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। 

कार्यपत्रमा उठेका प्रश्नको जवाफ दिने क्रममा नेपाली कांग्रेसका नेता समेत रहेका पूर्वपरराष्ट्रमन्त्री महतले भारतमा रियलाइजेसन आउनुमा नयाँ पोलिटिकल कन्टेन्ट पनि जिम्मेवार रहेको बताए। ‘भारतमाथि आत्मनिर्भर, सीमा विवाद (खुला सीमा) भयो र पोलिटिकल म्याचोरोटी भएन भने हेपाहा प्रवृति देखिन्छ। तर, गर्भमेन्ट आफ्नो अडानमा बस्नुपर्छ। नेशनल इन्ट्रेष्टमा कुनै कम्प्रमाइज हुनुहुँदैन’, महतले जोड दिए।

छिमेकी देशसँगको सम्बन्धमा नेपालको फोकस राजनीतिकभन्दा आर्थिक रुपमा बढी हुनुपर्ने भन्दै उनले नेपालले आफ्नो राष्ट्रहितमा छिमेकीसँग सहकार्य बढाउँदा अर्काे देशले अनावश्यक चासो दिन नहुने धारणा राखे। ‘दुबै छिमेकी (चीन र भारत)सँग पोलिटिकल र आर्थिक सम्बन्ध छ। हामीले अब आर्थिक सम्बन्धमा जोड दिनुपर्छ। राष्ट्रिय हितमा फाइदा लिनुपर्छ’, उनले भने। 

दिल्लीका मिडियाको हेपाहा प्रवृति र साउथ ब्लकको फेरिएको नीतिबारे सोधिएका प्रश्नको जवाफ दिँदै अर्का पूर्व परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले डिप्लोमेसीको सैद्धान्तिकीकरण मिडियाले नगर्ने बताए। 

परराष्ट्र नीतिको बोल्ड कार्यान्वयन र आत्मनिर्भर रुपमा चलाइनुपर्नेमा जोड दिँदै पाण्डेले दुई छिमेकीसँगको सम्बन्ध व्यवहारमै सन्तुलिन देखाउनुपर्ने बताए। ‘कोही रिसाउछ की भनेर चिन्ता लिने होइन’, उनले भने– ‘दुइटैलाई खुसी पार्न खोजे त आफै समस्या परिन्छ। अरुलाई खुसी पार्ने होइन आफ्नो स्वार्थ, राष्ट्रिय हित हेर्नुपर्छ। कोही रिसाउने, खुसी हुने उसको कुरा हो।’

नेपाल–भारत सम्बन्धको चर्चा गर्ने क्रममा नेकपा एमालेका नेता समेत रहेका पाण्डेले प्रधानमन्त्री ओलीको भ्रमणपछि सम्बन्ध सुदृढ हुँदै गएको र भारतीय प्रधानमन्त्री मोदीको भ्रमणमा उपलब्धिमुलक बनाउनुपर्नेमा जोड दिए। ‘नेपालले राष्ट्रिय हितमा कसरी फाइदा लिने त्यो क्लियर हुनुपर्यो। परराष्ट्र नीति पनि त्यस्तै बन्नुपर्छ। यी कुरामा ध्यान जानुपर्छ’, उनले सुझाव दिए।

नेपाल–भारत प्रबुद्ध समूह (इपिजी)का नेपाल तर्फका सदस्य निलाम्बर आचार्यले नेपाल–भारत सम्बन्ध पुनरावलोकन र पुनर्निर्माणको चरणमा रहेको जानकारी गराए। ‘असमान सन्धि सम्झौताहरु राष्ट्रिय हितको पक्षमा पुनरवलोकन गर्नुपर्छ। नेपालले विश्वलाई हेरेर अघि बढ्नुपर्छ। जहाँ (मित्र राष्ट्र)बाट जे सम्भव त्यो लिन्छौं। त्यसलाई कसैले आफ्नोविरुद्ध सहयोग लियो भनेर टाउको दुखाउने ठाउँ छैन्। नेपालले छिमेकसँग नयाँ सम्बन्धको प्रयास गरेको छ। अहिले विश्व परिस्थिती पनि प्रयासको अनुकुल छ। सफलता प्राप्त हुन्छ भन्ने लाग्छ’, उनले विश्वास दिलाए।

प्रकाशित: १६ वैशाख २०७५ १६:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App