८ वैशाख २०८१ शनिबार
राजनीति

दुई वर्षपछि पनि ओलीको भाषण उस्तै

सुन्धारास्थित धरहराकाे फेदमा बुधबार अायाेजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा अाेली । तस्बिर : नागरिक

काठमाडाैँ – भूकम्पले धरहरा ढालेका ठिक तीन वर्ष पुगेका दिन बुधबार ठुटे धरहराको फेद नजिकै मञ्च झकिझकाउ थियो। झकिझकाउ मञ्चमा उभिएर प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरे, ‘मै बनाउछु मेरो धरहरा, हरेक नेपालीको नारा।’
२०७२ फागुन ४ गते पनि ओलीले सोही स्थानमा उभिएर उस्तै घोषणा गरेका थिए, ‘म भन्छु हरेक नेपालीले बनाउँछु, एक–एक नेपालीले बनाउँछ, मै बनाउँछु धरहरा।’

ओलीले उही स्थानमा उस्तै गरी भाषण गर्दा समय भने करिब दुई वर्ष तीन महिना बितिसकेको छ । तर, यसबीच न ढलेको धरहरा बनाउन एउटा इँटा लगाइएको छ न त कसले बनाउने टुंगो नै लागेको छ । त्यैपनि ओलीले भने दुई वर्ष तीन महिनाअघिको वाचा बिर्सेझैँ बुधबार भाषणमा भन्न भ्याइहाले, ‘म इँटा बोक्न आउनुपर्छ भने  खर्पन लिएर आउनुपर्छ की डोको लिएर म आउन तयार छु,’ उनले भने,‘मैले सक्ने अन्य वैयक्ति सहयोग गर्न समेत तयार छु ।’ जसरी ओलीको बोली फेरिएको छैन भूकम्पले लडाएको तीन वर्षसम्म पनि धरहराको स्वरुप पनि फेरिन सकेको छैन । यसबीच सरकार फेरियो, काठमाडौं महानगरपालिकाले जनताबाट चुनिएको नेतृत्व पायो । तर, धरहराले भने पुनर्निमार्ण गरिदिने अभिभावक पाएन । यस्तो अवस्थामा पनि धरहरका निर्माण हुन नसक्नुका कारण पत्ता लगाएर पुनर्निर्माण अघि बढाउनुको साटो ओलीले दुई वर्ष तीन महिना पुरानो त्यही ‘डाइलग’ दोहोर्‍याए। 

धरहरामा प्रधानमन्त्रीले गरेका यी दुई भाषण नेताले बोल्ने तर काम भने नगर्ने प्रवृत्तिका उदाहरण हुन् । भूकम्पपछिको पुनर्निर्माणमा यस्ता दर्जनौँ उदाहरण भेटिन्छन्, जहाँ नेताले लोकप्रिय घोषणा त गर्छन् तर कार्यान्वन भने गर्दैनन् । नेताको यस्तै ओठे घोषणा कारण पुरातात्विक महत्त्वका सम्पदाको पुनर्निर्माण हुन नसकेको बताउँछन् काष्ठमण्डप पुनर्निर्माण अभियानका संयोजक विरेन्द्रभक्त श्रेष्ठ । ‘कला संस्कृति र  सम्पदा भनेको जीवन्त इतिहास हो। जहाँ ऐतिहासिक कालखण्डको पहिचान र अस्तित्व भेट्टिन्छ,’ उनले भने, ‘हाम्रा राजनीतिक नेताले सम्पदाको मर्म नै बुझ्न सकेन्। ओठे बोली बोल्ने तर,मनैदेखि काम नगर्ने प्रवृत्ति देखियो। जसको कारणले सम्पदा पुनर्निर्माणले गति लिनै सकेन्।’ उनका अनुसार कला,संस्कृति, सम्पदा, शिक्षा,स्वास्थ्य लगायतका क्षेत्रमा राजनीति गर्नु हुँदैन् । तर, यहाँ त्यहीमाथी नै अत्याधिक राजनीति गर्दा बन्न नसकेको हो । ‘राजनीतिक भाषणले सम्पदा बन्दैन,’ उनले भने, ‘राजनीतिक हस्तक्षेपकै कारणले सम्पदा ठेक्का पट्टामा गराउन खोजिन्छ, जसको सम्पदाको संरक्षण होइन, नष्ट गर्नेतर्फ उद्दत भइरहन्छ।’

आठ करोड रुपैयाँ उठ्यो 
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसाल धरहरा पुननिर्माणको लागि जनस्तरबाट आठ करोड रुपैयाँ संकलन भएको बताउँछन् । ‘मै बनाउँछु, मेरो धरहरा पुनर्निर्माणको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाको तलव दिएर सुभारम्भ गर्नुभएको हो,’ उनले भने,‘अहिलेसम्म आठ करोड रुपैयाँ संकलन भइसकेको छ । धरहरा पुननिर्माणको काम सुरु भइसकेपछि खाताबाट रकम झिकेर खर्च गरिनेछ।’

केपी शर्मा ओलीले२०७२ फागुन ४ को भाषण 
प्रधानमन्त्री केपी शर्मा ओली २०७२ फागुन ४ गते भूकम्पले ढलेको भग्नावेश धरहरा परिसरमा पुगेर मैं बनाउँछु, मेरो धरहरा  निर्माण गर्ने घोषणा गरेका थिए । प्रधानमन्त्री ओलीले भूकम्पले भत्काएर ठुटो मात्रै रहेको धरहरा परिसरमा पुगेर जनताकै पैसाबाट धरहरा निर्माण गर्ने घोषणा गरेका थिए । प्रधानमन्त्रीले भूकम्पले ढलेको धरहरा निर्माणमा एक महिनाको तनखा दिने उद्घोष गरे ।‘आफ्नै सम्पदा धरहरा आफैं निर्माण गरौं । दातृ निकायको सहयोग धेरै लिइयो । अब हामी आफैंले पनि केही गरौं । त्यसका लागि धरहरा जनताको पैसाबाट बनाऔं,’ उनले भने,‘धरहरा निर्माणको लागि छुट्टै आर्थिक संकलन गर्छाै । हरेकको मेहनत र पसिनाले बनाउँछु ।’  प्रधानमन्त्री ओलीले धरहरा पुननिर्माण गर्नको लागि पुरातत्व विभाग अथवा राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई छुट्टै बैंक खाता खोल्न समेत निर्देशन दिएका थिए । प्रधानमन्त्री ओलीले सरकारी खर्चमा नभई जनताको खर्चमा नभई जनताकै खर्चमा धरहरा निर्माण गर्ने दावी गरेका थिए। ‘म भन्छु हरेक नेपालीले बनाउँछ । एक–एक नेपालीले बनाउँछ । मै बनाउँछु धरहरा, मैले बनाउँछु, मेरो धरहरा नारा अन्तर्गत आर्थिक संकलन गर्छाै । छुट्टै खाता खोल्छौं ।’सांस्कृतिक धरोहरको पुननिर्माणको रुपमा छुट्टै अभियान संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले कार्यक्रमको आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने,‘हामी देश बनाउन सक्छौं । हामीले देशलाई नयाँ ढंगले उठाउन सक्छौं। त्यसअनुरुप नै धरहरा निर्माण गर्न सबैलाई अनुरोध गर्दछु।’ भाषणकै क्रममा प्रधानमन्त्रीओलीले तपाई सहमत हुनुहुन्छ नी, मै बनाउँछु, मेरो धरहरा ? भनेर उपस्थित दर्शक माझ प्रश्न गरेका थिए। कार्यक्रममा सरिक भएका दर्शकले ताली बजाएर नै धरहरा बनाउने अभियानमा समर्थन जनाएका थिए। तर, दुर्भाग्य भूकम्पले भत्काएको तीन वर्ष बितिसक्दा समेत धरहरा पुननिर्माणले गति लिन सकेको छैन् ।

२०७५ वैशाख १२ गते प्रधानमन्त्रीको भाषण 
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले धरहरा निर्माण गर्ने अनुकुल वातावरण भएकाले जतिसक्दो चाँडो पुर्ननिर्माण गर्ने बताएका छन् । भूकम्प गएको दिनको ३ वर्ष पुगेको अवसरमा धरहरा परिसरमा आयोजित कार्यक्रमा बोल्दैं ‘मै बनाउँछु मेरो धरहरा’ निर्माण कार्यलाई अघि बढाउने घोषणा गरेका हुन् ।‘मैले २०७२ फागुन ४ गते  मैं बनाउँछु, मेरो धरहरा अभियान घोषणा गरेको थिए । त्यसका निम्ति म इँटा बोक्न आउनुपर्छ भने  खर्पन लिएर आउनुपर्छ की डोको लिएर म आउन आउँछु ।’  प्रधानमन्त्री ओलीले अनुकुल वातावरण भएकाले पुर्ननिर्माण कार्यलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । ‘भत्किएका संरचना,पुरातात्विक महत्वका संरचनाहरु  काष्ठमण्डप, धरहरा, रानीपोखरी, हनुमानढोका दरबार, बसन्तपुर लगायतका संरचना निर्माणलाई अघि बढाउनेछौं,’ उनले भने,‘ कला संस्कृति र धार्मिक स्थललाई जोगाउँदै अघि बढ्नेछौं ।’ काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले ऐतिहासिक संरचना पुननिर्माणले गति लिने दाबी गरे। 

प्रकाशित: १३ वैशाख २०७५ ०६:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App