१५ चैत्र २०८० बिहीबार
राजनीति

निजी विद्यालयले चर्को शुल्क फिर्ता नगरे आन्दोलन : संयुक्त विद्यार्थी संगठन

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले निजी विद्यालयले चर्को शुल्क फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। बुधबार रिपोर्टर्स क्लबमा आयोजित ‘निजी विद्यालयको चर्को शूल्क वृद्धि र शुल्क मापदण्ड निर्देशिका कार्यान्वयनको सवाल’ विषयक अन्तरक्रियामा बोल्दै संगठनका नेताहरुले शुल्क फिर्ता लिन माग गरेका हुन्। 

कार्यक्रममा बोल्दै शिक्षा मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले कानूनभन्दा माथि कोहीपनि नभएको स्पष्ट पारे। उनले भने, ‘सबै निजी विद्यालय गलत छैनन, जसले चर्को शुल्क लिएका छन्, तिनीहरुमाथि अनुगमन हुनुपर्छ।’ अर्यालले कानूनको अटेर गर्ने विद्यालयलाई कारबाही गर्ने मन्त्रालयको तयारी रहेको विश्वास दिलाए। 

अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले आधारभुत र माध्यामिक तहको शैक्षिक प्रणालीमै ठूलो मतभिन्नता रहेको गुनासो पोखे। प्याब्सन र एन–प्याब्सनले शुल्क वृद्धि छैन भनेर गलत कुरा बोलेको उनको आरोप छ। शुल्क वृद्धि नघटाए ती प्रत्येक स्कुल अगाडि अभिभावक राखेर सार्वजनिक सुनुवाई गर्ने तामाङले चेतावनी दिए। उनले भने, ‘नेपाल संसारको दोस्रो ठूलो गरिब देश हो, तपाईहरु पनि त्यही अनुसार चल्नुहोस्। मनोमानी ढंगले अघि बढे सह्यै हुँदैन, हामी अहिलेपनि आन्दोलित छौं।’ 

प्याब्सनका अध्यक्ष विजय सम्वाहाम्फेले शिक्षाको मापदण्ड बनाउनुपर्नेमा जोड दिए। उनले सरकारी तथा निजी दुवै विद्यालयको पढाईको मापदण्ड एकै किसिमको बनाउनुपर्नेमा जोड दिए। 

राष्ट्रिय अभिभावक संघका अध्यक्ष धर्मदेव देवकोटाले प्राथमिक शिक्षा पाँच कक्षा सम्म निःशुल्क हुनुपर्नेमा जोड दिए। उनले भने, ‘निजीको पढाउने तरिका सामूदायिक विद्यालयमा पनि हुनुपर्यो। सबै नैतिक जिम्मेवारी सरकारले लिनुपर्छ।’
अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तोलाले देशमा लोकतन्त्र, गणतन्त्र आएको र, राजनीतिक व्यवस्थामापनि परिवर्तन आएको तर शिक्षा क्षेत्रमा लोकतन्त्र नआएको आरोप लगाए। 

निजी विद्यालय निर्देशिका र कानूनअनुसार किन चल्दैन् भन्दै उनले प्रश्न समेत तेर्साए। उनले अघि थपे, ‘निजी विद्यालयले गरेको ब्रम्हलुटलाई कसले नियन्त्रण गर्ने? म यही मञ्चबाट सोध्न चाहन्छु।’

उनले निजी विद्यालयहरुले मनोमानी ढंगले शैक्षिक शुल्क तोकिएको, शिक्षा क्षेत्रमा आतंक मच्चाइएको आरोप लगाए। उनले थपे, ‘एक क्लासमा पनि एक लाख शुल्क लिइएको छ, यस्था ठाउँमा निरीक्षण गर्नुपर्छ। हामी चुप लागेर बस्दैनौं, शुल्कवृद्धि घटाउनुपर्छ।’

नेविसंघका केन्द्रिय उपाध्यक्ष पुष्पकुमार शाहीले निजी विद्यालयहरुमा चर्को शुल्कवृद्धि भएकोप्रति कडा आपत्ति जनाउँदै शुल्कवृद्धि नघटाएसम्म आन्दोलन नरोकिने बताए। उनले भने, ‘हामी त आन्दोलित छौं। हामी विगतमा पनि आन्दोलित थियौं। शिक्षालाई संविधानलेपनि मौलिक हकमा राखेको  छ, मनलाग्दी गर्न पाईँदैन्।’

प्रकाशित: ५ वैशाख २०७५ १३:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App