संविधान संशोधनका अन्तर्वस्तुमा साझा धारणा तय गर्न मधेसकेन्द्रित ८ दल एक ठाउँ उभिएका छन्। काम गर्न सहज होस् भनेर उनीहरूले ८ सदस्यीय कार्यदलसमेत बनाएका छन्।
कार्यदलमा जनता समाजवादी पार्टी (जसपा) का इस्तियाक राई, जनमत पार्टीका शरदसिंह यादव, जनता समाजवादी पार्टी, नेपालका मनीष सुमन, नागरिक उन्मुक्ति पार्टी (नाउपा)का गंगाराम चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी, नेपालका केशव झा, जनता प्रगतिशील पार्टी (जप्रपा) का शिवजी यादव र तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का ब्रजेस सिंह छन्।
गत माघ १७ गते गठित कार्यदलले संविधान संशोधन भइहाले मधेस र मधेसी जनताको तर्फबाट के-के विषय समेट्ने भन्ने विषयको छिनोफानो गर्ने कार्यादेश पाएको छ।
.jpeg)
तर, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भने कार्यदलमार्फत मधेसकेन्द्रित ८ दललाई सरकारका विरुद्धमा उभ्याउने प्रयास थालेका छन्। जबकि, कार्यदलका चार दल सरकारमै सामेल छन्। जसपा, जनमत, नाउपा र लोसपा सरकारमै छन्। उपेन्द्रले भने उनीहरूलाई नै प्रयोग गरेर सरकारविरुद्ध उभ्याउने प्रयास गरेका हुन्।
जनमतका तर्फबाट कार्यदल सदस्य रहेका शरदसिंह यादव भन्छन्, 'कार्यदल नितान्त संविधान संशोधनका विषय तर्जुमा गर्न बनेको हो। तर, यसैलाई सरकारका विरुद्धमा खडा गर्ने प्रयास सुरु भएको छ।'
जसपाका तर्फबाट कार्यदल सदस्य रहेका इस्तियाक राईको भनाइ पनि त्यही छ। 'कार्यदलको कार्यादेश संविधान संशोधन भइहालेको खण्डमा के के विषय छान्ने भन्ने छ। यो या त्यो भन्ने विषय रहँदैन। संविधान संशोधनका विषय बाहेक यो कार्यदलले केही गर्दैन।'
त्यसो त कार्यदलमा रहेका प्राय: दलसँग उपेन्द्र खुसी छैनन्। कार्यदलमा रहेका दलहरूमध्ये संसदीय हैसियतका आधारमा पनि उनी तेस्रो हुन्। पहिलो जसपा हो भने दोस्रो जनमत हो। जसपा र जनमतसँग क्रमश:७ र ६ सिट हुँदा उपेन्द्रसँग ५ सांसद मात्रै छन्।
जसपा आफ्नै दल जसपा नेपाल विभाजन भएर बनेको दल हो। पार्टीका तत्कालीन सङ्घीय परिषद् अध्यक्ष अशोक राईले १२ मध्ये ७ सांसद लिएर पार्टी विभाजन गरेका हुन्। यता जनमतका अध्यक्ष डा.सीके राउतसँग सप्तरी २ मा उनले दोब्बरभन्दा बढी मतान्तरले पराजय भोग्नुपर्यो।

यसबाहेक जनमतसँग उपेन्द्रको मधेस-प्रतिस्पर्धासमेत छ। उपेन्द्र र सीकेबीच मधेसमा कुन पार्टी स्थापित हुने भन्ने प्रतिस्पर्धा छ। कुनै बेला मधेसको सबैभन्दा ठूलो दलको नेतृत्व गरेका उपेन्द्र अहिले सङ्घीय र प्रादेशिक दुबै सरकारबाट 'आउट' छन्।
उपनिर्वाचनबाट भए पनि संसद् छिरेका उनी सत्ताभन्दा टाढा जान त्यति रुचाउँदैनन्। अहिले आफूलाई जसपा, जनमतलगायतका दलहरूले नै 'रिप्लेस' गरेकाले उनीहरूलाई नै प्रयोग गरेर सरकारविरुद्ध उभ्याउन प्रयास गरेको कार्यदलका एक सदस्य बताउँछन्।
तर, कार्यदल आफ्नो कार्यविधि र कार्यादेश बाहिर नजाने ती सदस्यको भनाइ छ। 'संविधान संशोधन बाहेक अरु विषयमा हाम्रो कन्सर्न छैन,' ती सदस्य भन्छन्, 'उपेन्द्रजीले यताउता गर्न खोज्दै हुनुहुन्छ।'
उपेन्द्रको दल जनता समाजवादी पार्टी, नेपालका तर्फबाट कार्यदल सदस्य रहेका मनीष सुमन भने यो कुराको खण्डन गर्छन्।
प्रकाशित: २० माघ २०८१ १६:४७ आइतबार