३० माघ २०८१ बुधबार
image/svg+xml
राजनीति

अख्तियारलाई हर्कको पत्र: मन्त्रीले रातारात कालोपत्रे गरे, छानबिन होस्

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई(साम्पाङ)ले  कोसी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले नगर क्षेत्रमा रातारात सडक कालोपत्रे गरेको भन्दै अख्तियारलाई पत्र लेखेका छन्। मेयर साम्पाङले आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मन्त्री राईले गरेको काम गुणस्तरहीन भएको भन्दै छानबिन गर्न माग गर्दै पत्र पठाएका हुन्। 

साम्पाङले लेखेका पत्रमा उपमहानगर पालिकालाई कुनै जानकारी नदिइ शनिवार राति ९–१० बजेको समयमा मन्त्री राईबाट धरानको वडा नम्बर ४ र १५ को बिचको काठे पुलमा पर्ने सडकमा कालोपत्रे गरेको उल्लेख छ। जसमा राति ९–१० बजेदेखि बिहान ३ बजेसम्म सडक कालोपत्रेको काम भएको ‘बुझिएको’ भनेका छन्। 

‘यसरी आधारातमा पिच गर्नु पने, नगरी नहुने ताहुती के पयो र काम गर्दा धरान उपमहानगरपालिकालाई कुनै जानकारी नदिई काम गर्नु पर्ने बाध्यता के आइपर्‍यो?,’ पत्रमा भनिएको छ,‘सो लेखिबुझी उताको उत्तर जानकारी गराइदिन अनुरोध छ।’ 

रात्रिकालीन समयमा धरानमा कालोपत्रेको काम गर्दा प्रकाश नपुग्ने भएकाले गुणस्तरीय काम नहुने दाबी गर्दै साम्पाङले यो विषयमा छानबिन गर्न अनुरोध गरेका छन्। ‘साथै, धरान उपमहानगरपालिका क्षेत्रमा राति कालोपत्रेको काम नहुने÷गर्न नपाइने नियमको जानकारी गराउँदै अन्य स्थानहरूमा समेत यस प्रकारको कमसल गुणस्तरीय काममा रोक लगाउनका लागि आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइदिन हुन अनुरोध छ,’ पत्रको ब्यहोरामार्फत हर्कले भनेका छन्। 

हर्कले अख्तियारको इटहरी कार्यालयले लेखेको उक्त पत्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय सुनसरीलाई बोधार्थ दिएका छन्। 

प्रकाशित: २० माघ २०८१ १६:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App