नेकपा (एमाले) का सचिव तथा सांसद योगेश भट्टराईले वर्तमान सरकारलाई समयको धेरै सुविधा नभएको बताएका छन्। शुक्रबार (आज) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
'साढे ६ महिना त्यति लामो समय होइन। तर, छोटो समयमा हामीले अनगिन्ती सफलताहरू हासिल गर्नुपर्ने छ। संविधानलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्नुपर्नेछ। यी तमाम विषयहरूका सन्दर्भमा सरकारसँग त्यति धेरै समयको सुविधा छैन,' उनले भने, 'यो सरकारले जनअपेक्षालाई समयमै सम्बोधन गर्दै परिणाममुखी निष्कर्षमा पुर्याउन र जनतामा उत्साह जागृत गर्नका लागि तदारुकताका लागि काम गर्नुपर्ने चुनौती छ। सरकारको ध्यान यसका प्रति जाओस्।'
उनले सरकारले राम्रा कामहरू गरिरहेको पनि बताए। 'अर्थतन्त्र, पर्यटनलगायतका विषयमा राम्रा प्रयासहरू भएका छन्। तर, फेरि पनि त्यसबाट परिणाम निस्किनुपर्छ भन्नेमा जोड गर्न चाहन्छु,' उनले भने, 'प्रधानमन्त्रीजी आफैँ फिल्डमा खट्नुभएको छ, मन्त्रीहरूलाई, सचिवहरूलाई निर्देशन दिनुभएको छ।'
यसैगरी सांसद भट्टराईले अध्यादेशको प्रक्रियामा कसैले विरोध गर्नुपर्ने विषय नरहेको बताए। 'नेपालमा अध्यादेश ल्याउने सरकार केपी ओलीको सरकार मात्रै हो ? होइन, अहिले विपक्षी बेञ्चमा बस्नुभएका प्रतिपक्षी नेताले पनि अगाडि तीनवटा अध्यादेश ल्याउनुभएकै हो,' उनले भने।
माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीप्रति लक्षित गर्दै सांसद भट्टराईले भने, 'जुन पार्टी अध्यादेशबाटै जन्मिएको हो, उही दलले चाहिँ अध्यादेश हुँदैन भनिरहेको छ। योचाहिँ मलाई गजबै लागिरहेको छ।'
प्रकाशित: १८ माघ २०८१ १४:५७ शुक्रबार