अध्यक्ष अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले आउँदो चैत महिनामा संघीय परिषद्को भेला काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ।
आइतबार वीरगञ्जमा सम्पन्न पार्टीको दोस्रो केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले अध्यक्ष राईले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको पार्टी महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिए।
बैठकले पार्टीका जिल्ला र प्रदेश कमिटीहरूलाई पूर्णता दिन सांगठनिक प्रतिवेदन पारित गरेको छ। महासचिव राईका अनुसार संघीय परिषद्को बैठक आयोजनाभन्दा अगाडि पार्टी संरचनालाई पूर्णता दिने निर्णय गरिएको छ। उनले बैठकमा संविधान संशोधन र समसामयिक राजनीतिक मुद्दाहरूमा पनि छलफल भएको जानकारी दिए।
महासचिव राईले भने, ‘पार्टीको दोस्रो बैठक सफलतापूर्वक सम्पन्न भएको छ। बैठकले अध्यक्षज्यूबाट प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदन, सांगठनिक प्रस्ताव, र संघीय परिषद्को भेला चैतमा आयोजना गर्ने प्रस्ताव पारित गरेको छ। बाँकी रहेका जिल्ला र प्रदेश कमिटीहरू गठन गर्नुपर्ने प्रस्ताव पनि बैठकले स्वीकृत गरेको छ। यसका साथै, साना दलहरूलाई एकीकृत गरी अघि बढ्ने विषयमा समेत गहन छलफल भएको छ।’
बैठकमा मधेसवादी दलहरूबीच एकता र सहकार्यका सम्भावनाहरूबारे पनि छलफल भएको जनाइएको छ। जसपाले आगामी संघीय परिषद्को भेला पार्टीका संगठनात्मक र राजनीतिक विषयहरूलाई थप मजबुत बनाउने अवसरको रूपमा लिने योजना बनाएको छ।
प्रकाशित: १३ माघ २०८१ १६:३८ आइतबार