१ फाल्गुन २०८१ बिहीबार
image/svg+xml
राजनीति

जनताले विश्वास गरे ८४ मा बहुमत ल्याउँछौं: महासचिव चन्द

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले आगामी ०८४ सालको निर्वाचनलाई समाजवादी अभियानको मार्ग बनाउने उद्देश्यसहित नेकपालाई जिताउन अपिल गरेका छन्।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै महासचिव चन्दले नेकपालाई निर्वाचनमा विजयी गराए राष्ट्रिय स्वाधीनता र समाजवादको यात्रामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

उनले नेपाली जनतालाई संसदीय चुनावमार्फत समाजवादी अभियानको मार्गमा लैजाने आफ्नो चाहना रहेको बताउँदै, देशलाई स्वाधीन बनाउन र जनताको जीवनस्तर माथि उठाउन निर्वाचनमार्फत जनादेश मागिएको सुनाए।

महासचिव चन्दले नेपाली जनतासँग दया, माया वा पैसा होइन, विश्वास मात्र आवश्यक रहेको स्पष्ट पारे। उनले नेकपालाई एक पटक विश्वास गरिए, व्यवसाय र उत्पादन वृद्धिका लागि सहयोग गर्ने र कसैले पनि हेप्न नसक्ने गरी नेपालको व्यवसायलाई माथि उकास्ने प्रतिवद्धता जनाए।

उनले भने, ‘०८४ को निर्वाचनलाई समाजवादी अभियान र राष्ट्रिय स्वाधीनताको निम्ति प्रयोग गर्ने हाम्रो लक्ष्य हो। संसदीय चुनावका माध्यमबाट समाजवादको यात्रा सुरु गर्ने हाम्रो चाहना छ। नेपाली जनताले हामीलाई विश्वास गरे, बहुमत वा दुई तिहाई सिट जित्ने छौँ र देशको अग्रगमनका निम्ति काम गर्नेछौँ।’

महासचिव चन्दले ०८४ सालको निर्वाचनलाई अग्रगमन, स्वाधीनता र समाजवादको पक्षमा हुने महत्वपूर्ण अवसरका रूपमा लिएको बताए। उनले नेपाली जनतालाई एकपटक नेकपालाई समर्थन गरी समाजवादको यात्रामा सहभागिता जनाउन आह्वान गरे।

प्रकाशित: १३ माघ २०८१ १६:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App