३० वैशाख २०८२ मंगलबार
image/svg+xml
राजनीति

हरुवाहरूले हो मिसन ०८४ भन्ने, कांग्रेसलाई ०७९ कै म्यान्डेट छ: एनपी साउद

नेपाली कांग्रेसका नेता एनपी साउदले कांग्रेसलाई ‘मिसन ०८४’ भन्ने छुट नभएको बताएका छन् । पार्टी कामको सिलसिलामा गृह जिल्ला कञ्चनपुर पुगेका नेता साउदले ०७९ को चुनावबाट जनताले ‘म्यान्डेट’ दिइसकेकाले कांग्रेसले ०८४ कुर्नु पर्ने आवश्यकता नभएको बताएका हुन् ।

‘कांग्रेसलाई मिसन ०८४ भन्ने छुट छैन । हामी देशको ठुलो पार्टी भएकाले ०८४ कुर्नुपर्ने काम छैन । हारेकाहरूले हो, मिसन ०८४ भनेर जनतालाई भ्रमित बनाउने,’ शुक्रवार शुक्लाफाँटामा आयोजित कार्यक्रममा बोल्दै नेता साउदले भने, ‘कांग्रेसलाई जनताले ०७९ मा नै म्यान्डेट दिइसकेका छन् । त्यस कारण हामीले ०८४ कुर्नेभन्दा पनि आजदेखि नै जनताका आकांक्षा र विकासका काममा कटिबद्ध हुन जरुरी छ ।’ पार्टीबाट जितेर गएका तीन वटै तहका जनप्रतिनिधिले उदाहरणीय काम गरे ०८४ मा जनताले आफैँ कांग्रेसको खोजी गर्ने उनले दाबी गरे । 

‘आजका दिनमा काङ्ग्रेसबाट तीन तहमा गएका साथीहरूले उदाहरणीय काम गर्‍र्यौँ भने जनताले आफैँ ०८४ मा कांग्रेस भनेर खोज्ने छन्,’ नेता साउदले भने । 

जनता आकांक्षा र विकासका काममा कांग्रेसको मात्रै नभएर सबै राजनीतिक पार्टीको दायित्व रहेको भन्दै साउदले सस्तो लोकप्रियता धेरै नटिक्ने भएकाले इमानदारिताका साथ जनताको बिचमा गएर जनताका मागहरू पूरा गर्न पार्टीका नेता र जनप्रतिनिधिको मुख्य जिम्मेवारी रहेकोमा जोड दिए ।  

प्रकाशित: ११ माघ २०८१ १४:४७ शुक्रबार

#Nepali Congress #np saud