२९ माघ २०८१ मंगलबार
image/svg+xml
राजनीति

विपिन रिहा गराउन परराष्ट्र मन्त्री सक्रिय, कतारी मन्त्रीसँग कुराकानी

हमास र इजरायलबिच युद्ध विरामको चर्चा भइरहेका बेला परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि कूटनीतिक पहलमा तीव्रता दिएकी छन् । प्यालेस्टाइनी विद्रोही समूह हमासले युद्ध बन्दीका रूपमा राखेका जोशीको रिहाइका लागि परराष्ट्र मन्त्री देउवाले इजरायल, कतार, इजिप्टलगायतका देश तथा कूटनीतिक नियोगसँग आवश्यक पहललाई तीव्रता दिएकी हुन् । 

यसै क्रममा मन्त्री देउवाले मङ्गलवार बिहान कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल–खुलाइफीसँग फोन वार्ता गरेकी छन् । खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्ति वार्ताका प्रमुख मध्यस्थकर्ता हुन् । 

मन्त्री देउवाले खुलाइफीसँगको फोन वार्तामा हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केही बन्दीलाई रिहा गर्न लागेकामा खुसी व्यक्त गरेकी छन् । सोही क्रममा उनले नेपाली विद्यार्थी विपिनको रिहाइका लागि विशेष पहल गरिदिन मन्त्री खुलाइफीसँग आग्रह गरिन् । यस्तै कतार नेपालको सदैव असल मित्रराष्ट्र रहेको प्रसङ्ग उल्लेख गर्दै विपिनको विषयमा गम्भीर बनिदिन मन्त्री देउवाले आग्रह गरिन ।

कतारका मन्त्री खुलाइफीले हमास र इजरायलबिच युद्ध विरामको विषय सकारात्मक रूपमा अघि बढेको बताएका छन् । मन्त्री देउवासँग खुलाइफीले युद्ध विरामसँगै युद्ध बन्दी रिहाको विषय पनि उठेको जानकारी दिँदै  विपिनको रिहाइको विषय कतारको प्राथमिकतामा रहेको आश्वासन दिएका छन् । 

‘उहाँले सकेसम्म पहिलो चरणमा हमासले केही बन्दी रिहा गर्ने सूचना दिएको र सकेसम्म त्यसैमा नभए बाँकीको रिहाइ हुँदा विपिनलाई ले सकेसम्म पहिलो चरणमै र त्यो सम्भव नभएमा बाँकीको रिहाइका क्रममा विपिन अपहरणमुक्त हुने विश्वास व्यक्त गर्नुभएको छ,’ परराष्टमन्त्री देउवाको सचिवालयले भन्यो । 

यसअघि मन्त्री देउवाले इजिप्ट सरकारलाई पनि विपिनको रिहाइमा सहयोग गरिदिन आग्रह गरेकी थिइन । इजरायल र हमासबीच युद्ध विरामका लागि इजिप्टले पनि पहल गरिरहेको छ ।  

परराष्ट्र मन्त्री राणाले गत हप्ता मात्रै नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुवै देशसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिनका लागि आग्रह गरेकी थिइन । 

यस्तै नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासलाई बोलाएर पनि  विपिनको रिहाइ इजरायल सरकारकै प्राथमिकतामा राखिदिन पहल गर्न आग्रह गरेकी थिइन । 

प्रकाशित: १ माघ २०८१ १४:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App