श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगार महाशाखा स्थापना गरी स्वदेशमा रोजगारीको वातावरण बनाइने बताएका छन् ।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय संरचनाको चरणमा रहेको जानकारी दिए । मन्त्रालयको संरचना निर्माणका लागि ओएनएमको प्रस्ताव मन्त्रीपरिषदमा पुगेको बताउँदै मन्त्री भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको मात्रै काम गरेको जस्तो देखिएकाले मन्त्रालयअन्तर्गत आन्तरिक रोजगार महाशाखा स्थापना गर्न लागिएको उल्लेख गरे।
उनले सरकारले रोजगार दिने नभइ रोजगारीको वातावरण मात्रै निर्माण गरिदिने र रोजगारी निजी क्षेत्रले दिने बताए । मुलुकभित्रका रोजगारका सम्भावनाहरु खोजेर प्रवर्द्धन गर्ने, अघि बढाउने काममा आफूहरु लागिपरेको उनको भनाइ थियो ।
मन्त्री भण्डारीले वैदेशिक रोजगारीबाट सीप सिकेर आएका व्यक्तिहरु नेपालका लागि उपयुक्त जनशक्ति भएको बताए। उनले अहिलेको प्रविधिलाई प्रयोग गरेर सबै सेवा फेसलेस र पेपरलेस बनाउने काममा अघि बढिरहेको जानकारी दिए। –न्युज एजेन्सी नेपाल
प्रकाशित: २६ मंसिर २०८१ १६:०८ बुधबार