१५ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

तीन पटक फोन गरेर मन्त्री लेखीलाई गोइतले भनेका थिए- पैसा नदिए के गर्नुपर्छ, मलाई मात्रै थाहा छ !

को हुन् गोइत ?

मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीलाई जयकृष्ण गोइतको नामबाट पटक-पटक धम्कीपूर्ण फोन आएको छ । मन्त्री लेखीलाई ह्वाट्सएपमा पटक-पटक फोन गरेर धम्की दिइएको हो । मन्त्री लेखीको दाबी छ कि उनी जयकृष्ण गोइत नै हुन् ।

मन्त्री लेखीले नागरिकसँग भने, 'उहाँ जयकृष्ण गोइत नै हुनुहुन्छ । मलाई तीनपटक फोन गरेर धम्कीपूर्ण भाषामा पैसा माग्नुभयो ।' मन्त्री लेखीका अनुसार गोइतले सुरुमा आफू बिरामी रहेको र उपचार गराउनुपर्ने भन्दै सहयोग गर्न आग्रह गरेका थिए । तर, पछि धम्कीपूर्ण भाषा प्रयोग गरेर पैसा मागे ।

'उहाँले जसरी पनि पैसा दिनुपर्छ, नत्र के गर्नुपर्छ मलाई थाहा छ भनेर भन्नुभयो । पैसा नदिए म देखाउँछु, म देखाउँछु भन्नुभयो,' मन्त्री लेखीले भने, 'मलाई असाध्यै धम्क्याउनुभएको छ ।' 

मन्त्री लेखीले आफूलाई आएको धम्कीबारे प्रदेश सुरक्षा परिषद्को बैठकमा जानकारी गराएका छन् । उनी थप धम्की आए कानुनी बाटो खोजेर अगाडि बढ्ने तयारीमा छन् । 'तीन पटक ह्वाट्सएपमा फोन गरेर पैसा नदिए देखाउँछु भन्नुभएको छ । अब पनि धम्की आए सोच्नुपर्छ,' मन्त्री लेखीले भने, 'कानुनी बाटोबाट अगाडि बढ्नुपर्ने पनि हुन सक्छ ।'

को हुन् गोइत ?

गोइत ती नै नेता हुन्, जो दुईपटक सप्तरी क्षेत्र नं. ३ मा नेकपा (एमाले) बाट प्रतिनिधि सभाको उम्मेदवार बनेका थिए । पछि उनले नेकपा (माओवादी केन्द्र) प्रवेश गरे । तर, माओवादी केन्द्रमा धेरै समय रहेनन् ।

माओवादी केन्द्रले गोइतको नेतृत्वमा मधेसी राष्ट्रिय मुक्ति मोर्चा गठन गरेको थियो । पछि उक्त मोर्चाबाट उनलाई हटाएर मातृका यादवलाई संयोजक बनाइयो । गोइतलाई भने जिल्ला कमिटीमा सीमित पारियो । त्यसपछि उनी जनतान्त्रिक तराई मुक्ति मोर्चा बनाएर सशस्त्र गतिविधिमा संलग्न भए । अहिले उनी भूमिगत छन् । भनिन्छ, उनी भारतमा छन् ।

विद्यार्थी कालदेखि नै वामपन्थी विचारधारामा विश्वास गर्ने उनी २०६१ साउन १० गतेदेखि भूमिगत भएका हुन् । तराई-मधेसमा सशस्त्र आन्दोलन गर्ने सबैभन्दा पुरानो संगठन गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा नै हो । पछि सोही मोर्चाबाट विभिन्न समूहहरू बने । त्यसमध्ये कतिपयले सरकारसँग वार्ता गरेर मूलधारको राजनीतिमा समावेश भइसकेका छन् ।

तर, गोइत भने अहिले पनि भूमिगत नै छन् । उनका निकटस्थहरू भन्दछन् कि सम्भवत: अब उनी मूलधारको राजनीतिमा आउने छैनन् ।

प्रकाशित: १४ मंसिर २०८१ १८:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App