१६ चैत्र २०८० शुक्रबार
राजनीति

रोजगारी सिर्जनाका लागि श्रममन्त्रीको अग्रसरता

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले देशभित्रै रोजगारी सिर्जना र श्रमिकको हितका लागि प्रदेशका सामाजिक विकासमन्त्रीसँग छलफल गरेका छन्।

७ वटै प्रदेशका सामाजिक विकास मन्त्रीलाई काठमाडौंस्थित मन्त्रालयमा बोलाई मन्त्री विष्टले श्रम, रोजगार तथा सामाजिक सुरक्षा सम्बन्धि विषयमा संघ र प्रदेशको कार्यगत समन्वय र संविधानमा भएका जिम्मेवारीलाई कसरी प्रभावकारी र समन्वयात्मक रुपमा कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेका हुन्।

मन्त्रालयका सहसचिव कृष्णप्रसाद ज्ञवालीका अनुसार छलफलमा प्रदेशका मन्त्रीले रोजगारी सिर्जना र श्रमिकको हितका लागि प्रभावकारी नीति अंगिकार गर्न विभिन्न क्रस कटिङ इस्युलाई समन्वयात्मक रुपमा छलफल गरी प्रभावकारी कार्यान्वयन हुनुपर्ने कुरामा जोड दिएका थिए। मन्त्रालयका सचिव लक्ष्मण प्रसाद मैनालीले संघ र प्रदेशका अधिकार तथा तिनको कार्यान्वयनमा आउनसक्ने चुनौतिबारे अवगत गराए।

कार्यक्रममा बोल्दै मन्त्री विष्टले प्रदेशको सम्भावना र उपयुक्तताको आधारमा जनशक्ति उत्पादन, विकास र परिचालन नीति अवलम्बन गरिने बताए। यसैगरी संघले मूलतः नीति निर्माण गर्ने र प्रदेश तथा स्थानीय तहले सोको कार्यान्वयनमा जोड दिनुपर्ने बताए।

आन्तरिक रोजगारको प्रवर्द्धन र वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने एवं व्यवसायिक र सीपमूलक तालिम कार्यक्रमलाई प्रदेशको आवश्यकता अनुरुप विस्तार गर्ने प्राथमिकताका साथ अघि बढ्नुपर्ने उनले बताए। श्रमको सम्मान गर्ने पद्धतिको विकास, न्यूनतम वेतनको सुनिश्चितता, श्रम सम्बन्धको प्रवर्द्धन एवं बाल श्रम अन्त्य गर्ने दिशामा समेत ठोस रणनीति साथ अघि बढ्नुपर्ने मन्त्री विष्टको भनाई छ।

प्रकाशित: २६ चैत्र २०७४ १०:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App