८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

सिकैचाका लागि एमालेबाट साउदेन उम्मेदवार, अन्य दल उम्मेदवार टुङ्ग्याउने अन्तिम गृहकार्यमा

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचाको वडाध्यक्षका लागि हुने उपनिर्वाचनमा नेकपमा एमालेले कुमारी साउदेनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

एमाले पोलिटब्युरो सदस्य तथा ताप्लेजुङ जिल्ला इञ्चार्ज तिलकुमार मेन्याङ्वोले वडा कमिटीको बैठकबाट साउदेनलाई उम्मेदवार बनाउने सर्वसम्म्त निर्णय भएको जानकारी दिए।

साउदेन २०७९ सालको स्थानीय तहको निर्वाचनमा तीन मतान्तरले कांग्रेसका दिलप्रसाद बोखिमसँग पराजित हुँदै जिल्लाको एकमात्र महिला वडाध्यक्ष हुने मौकाबाट चुकेकी थिईन्।

एमालेबाट छत्रबहादुर काङवा शक्तिलाल पौडेल र अमित काङवा समेतले उम्मेदवार बन्न आकांक्षा देखाएका थिए। अन्तिम समयमा साउदेनलाई उम्मेदवार बनाएर चुनावमा जाने सर्वसम्मत निर्णय भएको एमाले ताप्लेजुङका सचिव सन्तोष चाम्लिङले जानकारी दिए।

कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बन्न ५ जनाले नाम लेखाएका छन्। वडा सभापति गोपाल चिमरिया, उपसभापति योगेन्द्र काङवा, भीम लक्सम्बा, राजबहादुर योङया र टेकनाथ पौडेलले नाम लेखाएको वडा सभापति चिमरियाले बताए।

उम्मेदवारबारे निर्णय भई नसकेको कांग्रेसका जिल्ला सचिव युकहांगवीर (डम्बर) हाङगामले बताए।  माओवादी केन्द्रले उम्मेदवारबारे गृहकार्य भइरहेको जनाएको छ। उसले यसअघि कार्यवाहक वडाध्यक्ष भएर काम गरेका वडा सदस्य अम्बि साउदेनलाई वडा सदस्यबाट राजीनामा दिएर वडाध्यक्षको उम्मेदवार बन्न आग्रह गरेको स्रोतले बताएको छ।

माओवादी केन्द्रको सिरिजङ्गा गाउँपालिका कमिटी अध्यक्ष डाक्टर चित्रकुमार मावो लिम्बूले उम्मेदवारको सूची तयार भएको र केहिदिन भित्रै उम्मेदवार बारे अन्तिम निर्णयमा पुग्ने जानकारी दिए।

यसपटक गठबन्धनको कुरा नरहेको उनले बताए। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले समेत उम्मेदवार खडा गर्ने जनाएको छ। जिल्ला संयोजक वीरेन्द्र श्रेष्ठको नेतृत्वमा राश्वपाको टोली सिकैचा पुगेर फर्किएको छ। ‘हाम्रो उम्मेदवार रहन्छ,तर को रहन्छ भन्ने अन्तिम निर्णय भएको छैन’श्रेष्ठले भने।

२०७९ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित वडाध्यक्ष बोखिम वैदेशिक रोजगारीको सिलसिलामा हङकङ गएर करिव ११ महिना पछि उतैबाट राजीनामा पत्र पठाएपछि सिकैचामा उपनिर्वाचन हुन लागेको हो।

सिकैचाको उपनिर्वाचनमा १ हजार ५ सय बढी मतदाता हुने देखिएको छ। जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका निमित्त जिल्ला निर्वाचन अधिकारी बान्दवराज(विपिन)दुलालका अनुसार कुञ्जारी मतदानस्थलमा १ हजार २६ जना र ओसे मतदान स्थलमा ५ सय २ जना गरी कूल १ हजार ५ सय २८ जना मतदाता हुने देखिएको हो।

यद्यपी, मतदाताको आधिकारिक तथ्याङ्क भने निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशित गर्दा मात्र यकिन हुने भएको छ।

प्रकाशित: २६ कार्तिक २०८१ १०:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App