coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सर्वोच्चले माग्यो उच्च अदालतको निर्णय

काठमाडौं – सर्वोच्च अदालतले साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्तलाई धरौटीमा थुनामुक्त गर्ने जिल्ला र उच्च अदालतको निर्णय मगाएको छ। न्यायाधीश शारदाप्रसाद घिमिरेको एकल इजलासले सुन तस्करीका आरोपितलाई धरौटीमा छाड्ने काठमाडौं जिल्ला र उच्च अदालत पाटनको निर्णय–कैफियत मगाउन आइतबार आदेश दिएको हो।

सुन तस्करीका मुख्य अभियुक्तलाई छाड्ने जिल्ला अदालत र उच्च अदालतविरुद्ध महान्यायाधिवक्ताको कार्यालय सर्वोच्चमा पुगेको थियो। जिल्ला अदालत र उच्च अदालतले गत वर्ष साढे ३३ किलो सुन तस्करी काण्डका मुख्य अभियुक्त रोशन भनिने गुप्तलाल भुसाललाई धरौटीमा रिहा गर्ने निर्णय गरेका थिए।

प्रहरीले सुन तस्करीका मुख्य अभियुक्त मानेका भुसाललाई जिल्ला अदालत काठमाडौंले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उच्च अदालत पाटनले पनि जिल्ला अदालतको निर्णयलाई सदर गरेपछि महान्यायाधिवक्ताको कार्यालय अन्तरकालीन आदेशविरुद्धको निवेदनसहित सर्वोच्च पुगेको हो।

सुन तस्करी र संगठित अपराध संलग्न व्यक्तिलाई जिल्ला अदालतले थुनछेक बहसमै धरौटीमा रिहा गर्नु गलत निर्णय भएको भन्दै गत बिहिबार सर्वोच्चमा निवेदन दर्ता गरिएको थियो।

घटना यस्तो थियो...
२०७३ साल पुस २१ गते गैरकानुनी बाटोबाट नेपाल भित्रिँदै गरेको ३३ किलो ५ सय ७७ दशमलब ४० ग्राम सुन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको थियो।

त्यसपछि ब्युरोले १७ करोड बढी रुपैयाँ बिगो दाबी गर्दै ३३ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। भुसाल जिल्ला अदालतमा मुद्दा दर्ता गरेपछि फरार भएका थिए। केही समयपछि उनी आफैं अदालतमा उपस्थित भएका थिए। त्यसपछि भएको थुनछेक बहसमा जिल्ला अदालतले उनलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो।

न्यायाधीश शारदाप्रसाद घिमिरेको एकल इजलासले सुन तस्करीका आरोपितलाई धरौटीमा छाड्ने काठमाडौं जिल्ला र उच्च अदालत पाटनको निर्णय–कैफियत मगाउन  आदेश दिएको छ।

मुद्दाका आरोपितमध्ये सुन ल्याउन सघाउने पाँचजना जेलमा छन्। सुन तस्करीका मुख्य नाइके भनिएका भुसाल धरौटीमा छुटेका थिए।

विमानस्थलबाट सुन तस्करीमा सघाएको आरोपमा एसएसपी श्यामबहादुर खत्रीसमेत पक्राउ परेका थिए। खत्रीलाई जिल्ला अदालतले दुई लाख रुपैयाँमा छाडेको थियो। पछि उच्च अदालत पाटनले २ लाख रुपैयाँ पनि नचाहिने आदेश दियो। एसएसपी खत्रीलाई प्रहरी नियमावलीअनुसार अदालतले धरौटी माग्नासाथ उनको पद निलम्बन भएको थियो। कानुनअनुसार अदालतले धरौटी मागेपछि मुद्दाको टुंगो नलागेसम्म प्रहरी सेवामा हाजिर हुन नपाउने व्यवस्था छ। जिल्लाले मागेको धरौटी रकमलाई उच्च अदालतले  मिनाहा गरेपछि उनी काममा फर्केका थिए।

प्रहरीले सुनसहित तस्करीमा संलग्न भरिया बनेर काम गर्ने दिलबन्धु थापा, सन्तोष काफ्ले, गोपालबहादुर शाही, भन्सारका कर्मचारी श्रीनारायण यादव, राजकुमार ढकाल, श्यामकृष्ण श्रेष्ठलगायतलाई पक्राउ गरेको थियो।

हाल थुनामा रहेका ५ जनाले आफूहरुलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए। सर्वोच्चले थुनामा राख्न पाउने आदेश गरेको थियो। महान्यायाधिवक्ताको कार्यालयले यसअघि पनि सर्वोच्चमा निवेदन दर्ता गरिसकेको छ। दुवै निवेदन एकैसाथ राखी सर्वोच्चमा सुन तस्करीमा संलग्नहरुको विषयमा सुनुवाइ हुनेछ।

प्रकाशित: २६ चैत्र २०७४ ००:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App