८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

उपनिर्वाचन: उदयपुरमा माओवादीको उम्मेदवार टुङ्गियो, एमाले र कांग्रेसले तय गर्दै

नेकपा (माओवादी केन्द्र) ले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा रिक्त २ वडाध्यक्ष पदका लागि उम्मेदवार टुङ्गो लगाएको छ। त्रियुगा नगरपालिका १२ र बेलका नगरपालिका ९ को रिक्त वडाध्यक्ष पदका लागि पार्टीले उम्मेदवार टुङ्गो लगाएर अनुमोदन गर्न प्रदेश कमिटी पठाएको जनाएको छ।

पार्टी त्रियुगा नगर कमिटी इन्चार्ज बिमल किरातीले त्रियुगा १२ मा नवीनकुमार राईलाई उम्मेदवार बनाउने निर्णय गर्दै एकल नाम माथिल्लो कमिटीमा सिफारिस गरेको बताए। ०७९ को स्थानीय तह निर्वाचनमा माओवादीबाट वडाध्यक्ष उठेका राई विजयी हुने नेपाली काँग्रेसका उम्मेदवार चुडाराज काफ्लेसँग ३५ मतले पराजित भएका थिए।

राईले ४ सय ४ मत पाउँदा काफ्लेले ४ सय ३९ मत पाएका थिए। पार्टी नगर कमिटी सदस्य तथा वाईसिएल पूर्व नेता रहिसकेका राई पार्टीनिकट भूपु प्रहरी सङ्गठनमा आबद्ध भई क्रियाशील छन्।

उता बेलका नगरपालिका ९ को वडाध्यक्षमा माओवादीले भरत घिमिरेको नाम सिफारिस गरेको छ। पार्टी बेलका नगर कमिटी अध्यक्ष मनोज तामाङले रिक्त वडाध्यक्ष पदका लागि घिमिरेको एकल नाम माथिल्लो कमिटीमा सिफारिस गरेको बताए। माध्यमिक विद्यालयमा अध्ययन गर्दैदेखि राजनीति थालेका घिमिरे जनयुद्धकालीन कार्यकर्ता तथा पार्टीको बेलका नगर कमिटी सचिवसमेत हुन्। उनी पार्टीनिकट अनेरास्ववियु (क्रान्तिकारी)का पूर्व केन्द्रीय सचिवसमेत भइसकेका छन्।

उपनिर्वाचनका लागि कांग्रेस र एमालेले पनि उम्मेदवार चयन गर्ने अन्तिम तयारीमा पुगेका छन्। त्रियुगा १२ मा कांग्रेसले कार्यवाहक वडाध्यक्ष अनिता थापा र मृतक वडाध्यक्ष काफ्ले पुत्र सञ्जिवको नाम सिफारिस गरेको छ। गत निर्वाचनमा महिला सदस्य विजयी थापा काफ्लेको निधनपछि कार्यवाहक भएर काम गर्दै आएकी छिन्। निर्माण व्यवसायी सञ्जिव काफ्लेलाई बाबुको विरासतको रुपमा पार्टीले उठाउने सम्भावना पनि उत्तिकै छ।

दुईमध्ये कसलाई उम्मेदवार बनाउने भन्ने विषय पेचिलो बन्दै गएको काँग्रेसकै कार्यकर्ताहरू बताउँछन्। शेखर समूहका नगरप्रमुख वसन्त बस्नेत थापाको पक्षमा छन् भने जिल्ला सभापति हिमाल कार्की काफ्लेलाई उम्मेदवार बनाउन चाहन्छन्। यद्यपि कांग्रेसको विधानमा वडा कार्यसमितिको सिफारिसमा नगर समितिको राय लिएर उम्मेदवार तोक्ने अधिकार क्षेत्रीय समितिलाई दिएको छ। 

उता बेलका ९ मा ७ जनाको नाम सिफारिस भएकोमा पछिल्लो समय ३ जना दाबेदार रहेका छन्। नवीन बस्नेत, सुशीला थापा र राकेश खत्रीमध्ये एक जनाले टिकट पाउने पार्टी नगर सभापति अम्बिका निरौलाले बताए।

क्षेत्रीय सभापति खगेन्द्र राई (निर्मल काजी)ले त्रियुगा १२ वडा समितिबाट सिफारिस भई आएको थापा र काफ्ले दुई जनामध्ये एकले टिकट पाउने बताए। पहिले जितेको वर्चस्व कायम राख्न पनि उत्कृष्ट उम्मेदवार छान्नुपर्ने भएकाले विबेक पु¥याएर निर्णय गर्ने उनी बताउँछन्। क्षेत्रीय समितिको बैठक छिट्टै राखेर दुवै वडाको उम्मेदवार टुङ्ग्याउने सभापति राईले बताएका छन्।

एमालेले गएको चुनावमा पराजित रमेश राउतलाई नै १२ नं. वडाको उम्मेदवार बनाउन चाहे पनि उनले नमानेपछि बाँकी ४ जनामध्येबाट उठाउने भएको छ। ०७९ को चुनावमा राउतले काफ्लेभन्दा २९ मत ४ सय ८ मत ल्याएका थिए। यसपटक भने उनी उम्मेदवार नबन्ने भएपछि वडा कमिटीको सिफारिसमा परेका सागर नेपाल, कुलबहादुर राउत, लक्ष्मी चौधरी र प्रथमलाल चौधरीमध्येबाट छनौट गर्ने तयारी गरेको छ।

बेलका ९ मा एमालेले रञ्जित राई, सुरेन्द्र बस्नेत र भुषण राईलगायत ५ जनाको नाम सिफारिस गरेको जनाएको छ। जसमध्ये कसले टिकट पाउने भन्ने चित्र प्रष्ट नभइसकेको एमालेजनको भनाई छ। एमाले उदयपुरका अध्यक्ष भागवत राउतले दुवै वडाको उम्मेदवार टुङ्ग्याउने गरी बैठक बोलाउने तयारी भइरहेको बताए। वडा कमिटीले गरेको सिफारिस अनुसार अब्बल कार्यकर्तालाई उम्मेदवार बनाउने अध्यक्ष राउतले बताए।

०७९ को चुनावमा कांग्रेस र माओवादी गठबन्धनबाट खड्का वडाध्यक्ष जितेका थिए। अहिले भने त्रिपक्षीय भिडन्त हुने मतदाताहरू बताउँछन्।

त्रियुगा १२ का वडाध्यक्ष काफ्लेको चुनाव जितेकै साल फागुनमा शिवरात्रिको साँझ गाउँबाट घर आउने क्रममा मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो। उनको निधनपछि रिक्त हुन गएको वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो। सो वडामा ३ हजार ८ सय ४० मतदाता रहेका छन्। गएको निर्वाचनमा १ हजार ७ सय मत खसेपछि धाँधली हुँदा स्थगित भएको निर्वाचन अदालतले ७ दिनपछि मान्यता दिएर गणना भएको थियो।

बेलका ९ का वडाध्यक्ष पदमबहादुर खड्काको पनि मोटरसाइकल दुर्घटनामै निधन भएको हो। कांग्रेसबाटै निर्वाचित वडाध्यक्ष खड्का ०८१ असारमा बेलकादेखि इटहरी जाने क्रममा मदन भण्डारी लोकमार्गमा आफ्नै मोटरसाइकल दुर्घटनामा परी निधन भएर रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो। सो वडामा ३ हजार १ सय मतदाता रहेको निर्वाचन कार्यालय उदयपुरले जनाएको छ। 

प्रकाशित: २२ कार्तिक २०८१ १४:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App