coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपाल चीनतर्फ ढल्केको छैन : ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले स्वतन्त्र परराष्ट्र नीति अँगालेको जनाउँदै भारत र चीनसँगको नेपाल सम्बन्धलाई एकअर्कासँग तुलना गर्न नहुने बताएका छन्। भारततको तीनदिने राजकीय भ्रमणमा रहेका ओलीले आफ्नो नेतृत्वको वर्तमान सरकार चीनतर्फ नढल्केको पनि स्पष्ट पारेका छन्।

‘हामीले स्वतन्त्र परराष्ट्र नीति अँगालेका छौं। अन्तर्राष्ट्रिय सम्बन्धका आधारमा सन्तुलित नीति अपनाएका छौं। चीन हाम्रो नजिकको छिमेकी हो। मैले भन्दै आएको छु– भारतसँग हाम्रो बहुमुखी सम्बन्ध छ। म एउटासँगको सम्बन्धलाई कुनै पनि रुपमा अर्कोसँग गरिने तुलनाको विरुद्धमा छु,’ भारतीय अखबार द टाइम्स अफ इन्डियाको अनलाइन संस्करणका प्रकाशित अन्तर्वार्तामा ओलीले भनेका छन्।

नेपालले भारतसँग कनेक्टिभिटी, व्यापार र अन्य क्षेत्रमा सहकार्य बढाउन चाहेको बताउँदै ओलीले भनेका छन्, ‘यसो भनिरहँदा हामी कहिल्यै पनि दुविधामा रहँदैनौं कि हाम्रा दुइटा छिमेकी छन्।’ नेपालले सबैसँग मित्रता चाहेको र कसैसँग पनि दुस्मनी नचाहेको उनले बताएका छन्। उनले भनेका छन्, ‘हाम्रो सौभाग्य यो हो कि हाम्रा दुवै छिमेकी असल मित्र र सहयोगी छन्। दुवैले दु्रत रुपमा विकासका सबै सूचकमा प्रगति गरिरहेका छन् र दुवैले विश्वव्यापी अजेन्डा स्थापित गर्न सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।’

‘वर्तमान सरकार चीनतर्फ ढल्लेको छ भन्ने अफवाह मिडियाले निर्माण गरेको हो।

नेपालले दुवै छिमेकी मुलुक भारत र चीनसँग असल, मैत्री र सहयोगी सम्बन्ध बनाउन चाहेको उनले स्पष्ट पारेका छन्। छिमेकी मुलुक विरोधी कुनै पनि गतिविधि आफ्नो भूमिबाट हुन नदिने नेपाल नीति रहेको पनि उनले दोहो¥याएका छन्। दुवै छिमेकीबाट नेपालले पनि यस्तै आशा राख्नु प्राकृतिक भएको उनले बताए।

‘वर्तमान सरकार चीनतर्फ ढल्लेको छ भन्ने अफवाह मिडियाले निर्माण गरेको हो। अनावश्यक रुपमा यस्तो अफवाह फैलाइएको छ । हामी यस्तो किन सोच्छौं? किन हामी गुण र दोषका आधारमा विशेष सम्बन्धलाई हेर्दैनौं?’ ओलीले अन्तर्वार्तामा भनेका छन्, ‘नेपालले चीनसँग सहकार्य गर्दा ढल्केको देख्नेले खासगरी आर्थिक क्षेत्रमा भारत–चीनको आपसी संलग्नताको परिमाण देख्दा के भन्ने हो? भारत–चीनबीचको व्यापारको परिमाण हेरौं।’ नेपालले यस्तो सम्बन्ध र संलग्नतालाई सधैं सकारात्मक रुपमा लिने उनले बताए।

ओलीले दुई छिमेकीबीचको सम्बन्ध विस्तार नेपालको हितमा हुने बताए। ‘भौतिक कनेक्टिभिटी, व्यापार र अन्य माध्यमबाट दुवै छिमेकीसँग सम्बन्ध विस्तार गर्ने हाम्रो इच्छा छ। म यो स्पष्ट पार्न चाहन्छु– नेपाल कहिल्यै पनि एक छिमेकी राष्ट्रको विरुद्धमा अर्को छिमेकीसँग गएर उभिँदैन,’ ओलीले भने।

राष्ट्रिय स्वार्थलाई हेरेर नेपालले वान बेल्ट वान रोड (ओबिओआर) मा आबद्ध हुने निर्णय लिएको उनले बताएका छन्। चीनसँग द्विपक्षीय सहयोगका आधारमा ओबिओआरमा नेपालले सहभागिता जनाएको उनले स्पष्ट पारेका छन्। ओलीले भनेका छन्, ‘हाम्रो उच्च प्राथमिकतामा आर्थिक विकास रहेको छ। हाम्रा छिमेकी र अन्य राष्ट्रले अविश्वसनीय प्रगति गरिरहेका बेला नेपाल गरिब भएर बस्न सक्दैन। हामीलाई पनि समृद्धि चाहिन्छ। हामीलाई थाहा छ– समृद्ध नेपाल नै हाम्रा छिमेकीको हितमा हुनेछ।’
उत्तरको छिमेकी मुलुक चीनसँग कनेक्टिभिटी बढाउन र नेपालमा पूर्वाधार विकास गर्न ओबिओआरमा नेपाल सहभागी भएको उनले प्रस्ट्याएका छन्।

प्रकाशित: २४ चैत्र २०७४ ००:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App