२३ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारको काम सन्तोषजनक भएन: डा.कोइराला

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा शेखर कोइराला। तस्बिरः चुमन बस्नेत/नागरिक

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारको काम सन्तोषजनक नभएको बताएका छन्।

मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा कोइरालाले दुई ठूला दल मिलेर बनेको सरकारले सन्तोषजनक काम गर्न नसकेको बताएका हुन्। 

डा कोइरालाले मुलुकका दुई ठूला दल मिलेर बनेको सरकारप्रति जनताले जे अपेक्षा गरेको गरेका थिए सो अनुसार सरकारले काम गर्न नसकेको धारणा राखे।  ‘दुई ठूला दल मिलेर बनेको सरकारले जनतालाई जुन भरोसा दिलाउन सक्नुपर्थ्यो त्यो गर्न सकेको छैन’ डा कोइरालाले भने, ‘सरकारले मुलुक भरी उद्योगहरू बन्द भइरहँदा त्यस्ता उद्योगहरूलाई सञ्चालन गर्ने वातावरण र सञ्चालन भइरहेका उद्योग बन्द नहुने अवस्था अझै सृजना गर्न नसकेका कारण अर्थतन्त्रलाई पनि सुधार गर्न सकिरहेको छैन।’

कोइरालाले सरकारले बाढी पहिरोमा उद्धार, राहतलगायतका काम पनि प्रभावकारी रुपमा गर्न नसकेको टिप्पणी गरे। उनले संविधान संशोधनको विषयमा पनि काम हुन नसकेको भन्दै  चाँडो काम गर्नुपर्ने धारणा राखे। कोइरालाले तत्काल कांग्रेस एमालेको गठबन्धन नटुट्ने पनि स्पष्ट पारे। कोइरालाले भने‘दुई ठूला दलको गठबन्धन तत्कालै यत्तिकै टुट्दैन।’ 

प्रदेशको प्रश्नले कोइराला रुष्ट 

सञ्चारकर्मीहरूले कोशी  प्रदेशमा कहिले मन्त्री पठाउने भन्ने प्रश्न सोधेपछि डा कोइराला रुष्ट बनेका छन्। कोइरालाले मैले मन्त्री पठाउने हैन भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई नै थाहा होला भन्ने जवाफ दिए। कोशी प्रदेशमा डा कोइरालाले दुई वटा मन्त्रालय मागेका थिए। तर, संस्थापन पक्षले कोइरालालाई एउटा स्वास्थ्य मन्त्री र एउटा राज्य मन्त्री दिने जनाएको थियो।

पार्टीभित्रको गुटमा मन्त्रालय भागबण्डामा कुरा नमिलेपछि कोसी सरकारमा कांग्रेस ढिलो गरी समावेश भएको थियो। मन्त्रालय बाँडफाँटमा डा कोइरालाको असन्तुष्टिकै कारण अझै पनि कांग्रेसले सबै मन्त्रीहरूलाई सरकारमा पठाउन सकेको छैन। डा कोइराला खेमालाई दिएको स्वास्थ्य मन्त्री र एउटा राज्यमन्त्री अझैसम्म नियुक्त हुन सकिरहेको छैन।

कोशी सरकारमा कांग्रेस सहभागी भएको एक महिना पुग्न लाग्दा पनि डा कोइरालाले आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्री नपठाएका कारण प्रदेश सरकारले अझैसम्म पूर्णता पाउन सकेको छैन। 

प्रकाशित: २२ आश्विन २०८१ १४:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App