११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘संघीय सांसद’ को ‘लाइन’ मिलाउँदै मुख्यमन्त्री आचार्य

लोभ देखाउँदै, पार्टी प्रवेश गराउँदै

‘प्रदेशभित्रका सबै जिल्ला हेर्नुपर्छ, अब गृहजिल्ला आउजाउको क्रम कमै हुन्छ’ भन्दै करिब १५ दिनअघि जिल्ला भ्रमण सकेर राजधानी दाङ फर्किएका प्रदेश मुख्यमन्त्री चेतनारायण आचार्य बुधबार एकाएक जिल्लामा देखापरे।

उनी आउँदा खासै हल्ला नभए पनि जिल्ला समन्वय समितिको वार्षिक समीक्षा कार्यक्रममा सहभागी हुन आएको खबर प्रवाह भयो। सामान्य कार्यक्रममा सहभागी हुन आएको विषय धेरैलाई शंकास्पद नै लागेको थियो। समीक्षा कार्यक्रमलाई सम्बोधन गरेर छिटो फर्कनुपर्ने भन्दै हिँडेका मुख्यमन्त्री आचार्य एमाले पार्टी कार्यालयमा पसे।

एकैछिनमा सञ्चारकर्मीहरूले पार्टी प्रवेश कार्यक्रमको फेसबुक लाइभ गरे। मुख्यमन्त्री खासमा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन जिल्ला आइपुगेका रहेछन्।

राष्ट्रिय जनमोर्चाका जिल्ला नेता कविराम खनाल, नेकपा माओवादी केन्द्रका जिल्ला नेता पदम क्षेत्री, नेकपा माओवादी केन्द्रकै भूमिकास्थान नगर अध्यक्ष नरेन्द्रमान मुखिया, नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष भगवता पाण्डे, देउराली यातायात प्रालिका अध्यक्ष गोविन्द बन्जाडेलगायत जनमोर्चा तथा माओवादीका केही दर्जन व्यक्ति नेकपा एमालेमा प्रवेश गरे।

मुख्यमन्त्री आचार्यले उनीहरूलाई पार्टीमा स्वागत गरेका छन्। पार्टी केन्द्रीय सदस्यसमेत रहेका आचार्यले प्रभावशाली व्यक्तिहरूको पार्टी प्रवेशले संगठन थप मजबुत बन्ने बताए। उनी समीक्षासँगै पार्टी प्रवेश कार्यक्रममा सहभागी भएर बुटवल फर्किएका छन्।

युवामाझ लोकप्रिय रहेका कवि खनाललाई आउने निर्वाचनमा प्रदेशसभा ‘क’ को उम्मेदवार बनाउने गरी पार्टीमा भित्र्याएको एमाले स्रोतले जनाएको छ। माओवादीका नेता पदम क्षेत्रीलाई मालारानी गाउँपालिकाको अध्यक्ष बन्ने गरी पार्टीमा भित्र्याइएको हो।

कतिपयलाई ठेक्कापट्टा मिलाइदिने, कतिपयलाई वडाध्यक्ष बनाइदिने शर्तमा पार्टी प्रवेश गराइएको बताइएको छ। मुख्यमन्त्री भएपछि ‘पावर’ दुरूपयोग गरेर पार्टीमा प्रवेश गराइएको जनमोर्चाका जिल्लास्तरीय नेताहरूले बताएका छन्। राजनीतिमा व्यापार भइरहेको भन्दै उनीहरूले बिक्ने नेताहरूका बारेमा धेरै टिप्पणी नगर्ने बताए।

यता माओवादीका जिल्लास्तरीय नेताहरूले पार्टीको खोल ओढेर सधैं एमालेलाई सहयोग गर्दै आएका मान्छेहरू जाँदा पार्टीलाई कुनै फरक नपर्ने बताए। पार्टीले कारबाही गर्न लागेपछि उनीहरू हतपत पार्टी प्रवेश गरेको माओवादी नेत्री छमकुमारी खनालले बताइन्।

दलको उपनेता रहेका बेला एकाएक मुख्यमन्त्री बनेका आचार्यको अबको दाउ संघीय सांसद बन्ने हो। टोपबहादुर रायमाझी थुनामा छन्। उनी निर्दोष साबित भएर थुनामुक्त भए पनि पार्टीले टिकट दिने सम्भावना कम रहन्छ।

 यो अवस्थामा २०८४ सालको निर्वाचनमा आचार्यकै सम्भावना बलियो भएर जान्छ। त्यसैको तयारीस्वरूप उनी गृहकार्यमा जुटेको एमाले वृत्तमा चर्चा छ। उपमहासचिव शंकर पोख्रेलले पनि संघीय सांसदका लागि ‘ग्रिन सिग्नल’ दिएर तयारी गर्न भनेको आचार्यनिकट नेताहरूले बताउने गरेका छन्।

मुख्यमन्त्री भएकै बेला विभिन्न सेटिङ गरेर शक्ति आर्जनमा उनी लागेका छन्। अन्य पार्टीभन्दा तुलनात्मक रूपमा नेपाली कांग्रेसका कम व्यक्तिलाई पार्टी प्रवेश गराए पनि आउने निर्वाचनको मुख्य प्रतिस्पर्धी कांग्रेस नै रहेको बुझेका आचार्यले कुन बेला पहिरो खसाल्ने हुन्, त्यो हेर्न बाँकी नै छ।

प्रदेशमा कांग्रेसकै समर्थनमा मुख्यमन्त्री बनेका आचार्यले कांग्रेसका जिल्ला नेताहरूसँग सहकार्य गर्न नखोजेको बताएका छन्। केन्द्रबाट गठबन्धन बन्ने र भत्कने भएकाले जिल्लाका नेताहरू रिसाएर फरक नपर्ने बुझेका उनले पेलेरै जाने मनस्थिति बनाएका छन्।

पार्टीभित्र फरक मत राख्ने आफ्नै नेताहरूलाई समेत उनले पेलेर जाने गरेका छन्। प्रदेश सांसद रामजीप्रसाद घिमिरे, नेता प्रेम नारायण गैरे, श्रीकृष्ण भुुसाल लगायत विष्णु पौडेलनजिक मानिएका नेताहरूलाई उनले फरक व्यवहार गर्दै आएका छन्। आफ्नै सहयोद्धा साथीहरूलाई नगन्ने आचार्यले अन्य पार्टीका नेता–कार्यकर्तालाई भित्र्याएर कति सफल होलान् भन्ने प्रश्न पनि छ।

बुधबार पार्टी प्रवेश गरेका नेता–कार्यकर्ता को पंक्तिले पार्टीलाई थप बलियो बनाउन भरपूर मद्दत गरे पनि पार्टीभित्रकै अर्को समूह मिलाउन नसके झन् ठूलो पहिरो एमालेभित्रै जान सक्ने तथ्यलाई नजरअन्दाज गर्न मिल्दैन।

 

प्रकाशित: ११ आश्विन २०८१ ०९:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App