१६ चैत्र २०८० शुक्रबार
राजनीति

पर्यटन मन्त्रीका सय दिने कार्ययोजना

काठमाडौं – सरकारले विदेशी पर्यटक नेपाल प्रवेश गर्ने एकमात्र हवाई विन्दु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई केन्द्रमा राखेर १ सय दिनभित्र गरिने प्रमुख काम सार्वजनिक गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले शुक्रबार ‘१ सय दिनभित्र गरिने प्रमुख कार्यहरू’ सार्वजनिक गरे जसमा त्रिभुवन विमानस्थ सञ्चालन समय बढाउनेदेखि आन्तरिक उडानलाई अन्यत्र सार्नेसम्मका योजना छन्।

‘हालको हवाई ट्राफिक चाप न्यूनीकरण गर्न आवश्यक व्यवस्था मिलाई मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल कम्तिमा २१ घन्टा सञ्चालन गर्ने लक्ष्य छ,’ पर्यटन मन्त्री अधिकारीले भने, ‘त्यसबाहेक एयर ट्राफिक कन्ट्रोल (एटिसी) क्षमता थप प्रभावकारी बनाउने र जहाजको उडान–अवतरण समय (स्लट) व्यवस्थापन पनि वैज्ञानिक बनाइने छ।’

उनका अनुसार त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान अन्यत्र स्थानान्तरण गर्न सम्भाव्यता अध्ययन भएको काभ्रेको ठूलीचौरका साथै अन्य सम्भाव्य स्थानमा पनि सञ्चालनका विकल्प अध्ययन गरिने छ। ‘अन्तर्राष्ट्रिय आगमनतर्फ यात्रुले अधिकतम एक घन्टाभित्र आफ्ना ब्यागेज संकलन गर्ने व्यवस्था मिलाउँछौं,’ उनले भने। त्यसैगरी अन्तर्राष्ट्रिय टर्मिनलमा यात्रु सुविधाका लागि ‘सेन्ट्रल एयरकन्डिसन सिस्टम’ र आन्तरिक टर्मिनलमा एयरकन्डिसनको व्यवस्था गर्ने उनको भनाइ छ। 

उता बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत गर्ने, यसको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको कोरियाली कम्पनी ल्यान्डमार्क वल्र्डवाइड (एलएमडब्लु) सँगको दायित्व व्यवस्थापन गर्ने र निर्माणको मोडालिटी तयार गर्ने मन्त्री अधिकारीइको कार्ययोजनामा उल्लेख छन्।

‘गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग, टर्मिनल भवनलगायत सिभिल निर्माण कार्यको भौतिक प्रगति ४० प्रतिशत पु-याउने लक्ष्य छ,’ उनले भने, ‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ढाँचा पुनरावलोकन तथा संपरीक्षण परामर्शदाता नियुक्त पनि गर्ने छौं।’ निजगढ, गौतम बुद्ध र पोखरा क्षेत्रीय तीनवटै राष्ट्रिय गौरवका आयोजना भएकाले प्रभावकारी कार्यान्वयनमा जोड दिइएको उनले बताए। 

मन्त्री अधिकारीका सय दिने कार्ययोजनामा पशुपति र लुम्बिनी क्षेत्र विकासका विभिन्न कामदेखि भूकम्पबाट क्षतिग्रस्त रानीपोखरी, ललितपुरका मणिमण्डप र कृष्ण मन्दिर, हनुमानढोका दरबार, स्वयंभूस्थित अनन्तपुर र किमडोल गुम्बा, आनन्दकुटी बिहान, खोकना मच्छिन्द्रनाथ, चाँगुनारायणस्थित बलम्बु पाटी, छिन्नमस्ता मन्दिर, पाटन देगुतलेजु, भक्तपुर महामञ्जुश्री सत्तल, तलेजु मन्दिरलगायत प्रमुख सम्पदा पुनर्निर्माण र संरक्षण गर्ने उल्लेख छ।

त्यसैगरी संस्कृति संरक्षण र प्रवद्र्धन, ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्वका सम्पदा संरक्षण, अभिलेख डिजिटाइजेसन र सुदृढीकरण, संग्रहालय निर्माण तथा व्यवस्थापन, पर्यटकीय तथ्यांक अद्यावधिक, दिगो पर्यटन व्यवस्थापन, पर्यटकीय सेवा–सुविधाको गुणस्तर, एकीकृत पर्यटन पूर्वाधार विकासका लागि सय दिनभित्र गर्न सकिने कामबारे कार्ययोजनामा उल्लेख छ।

प्रकाशित: १८ चैत्र २०७४ ०४:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App