१५ चैत्र २०८० बिहीबार
राजनीति

‘मेरो १४ वर्षे वनबास र ओलीजीको १४ वर्षे जेलबास जनताकै लागि थियो’

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबै नेपाली एकजुट भएर शान्ति, सुशासन र समृद्धिको नयाँ यात्रामा अगाडि बढ्ने संकल्प गर्नुपर्ने बताएका छन्। 

शनिबार काठमाडौंको राष्ट्रिय सभागृहमा रिपोर्टर्स क्लबको २० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै दाहालले अब जनताको अपेक्षा पूरा गर्ने समय आएको बताए। सरकारका लागि यतिबेला चुनौती र अवसर दुवै भएको भन्दै उनले यस्तो अवसर र चुनौती इतिहासमा पटक पटक नआउनेतर्फ ध्यानाकर्षण गराए। 

अध्यक्ष दाहालले जनताको अपेक्षा पूरा गर्नेगरी सुशासन र समृद्धिको यात्रामा जानसक्ने वा नसक्ने भन्नेबारे वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकार अग्निपरीक्षामा रहेको बताए। पूर्वप्रधानमन्त्री समेत रहेका उनले भने, ‘प्रधानमन्त्रीज्यू, अग्निपरिक्षामा हुनुहुन्छ। हामी सबै नेतृत्वकर्ताहरु पनि अग्नि परीक्षामा छौँ।’ 

‘ल पार्टी एकताको घोषणा भयो। घोषणा भइ नै सक्यो। म १४ वर्ष वनवास बसें, ओलीजी पनि १४ वर्ष जेल बस्नुभयो, मेरो र उहाँको वनवास र जेलवास नेपाली जनताकै लागि थियो, अहिले हामीले पाएको अवसरको सदुपयोग गर्छौं, पार्टी एकता हुन्छ।’ 

कुनैपनि देशले ठूलो क्षति र पीडाको बिचबाट गुज्रेपछि नै राष्ट्रले छिटो–छिटो समृद्धिको यात्रा तय गर्ने बताउँदै उनले अब नेपाल पनि समृद्धिको बाटोमा हिँड्ने विश्वास दिलाए। प्रकृतिले दिएको स्रोत र साधनको सही सदुपयोग गरेर देश विकास गर्नुपर्ने उनको धारणा थियो। 

भारत र चीन दुवै छिमेकी राष्ट्रसँग राम्रो सम्बन्धन बनाएर देश विकास गर्नुपर्नेमा जोड दिएका दाहालले दुवै देशबाट विकासका लागि लाभ लिनुपर्ने बताए। विगतमा राजनीतिक दल वा नेतालाई भारतपरस्त र चीनपरस्त भनेर अनावश्यक आरोप लगाउने गरिएको भन्दै अबका दिनमा त्यस्तो आरोप प्रत्यारोपको वातावरण अन्त्य गर्नुपर्ने उनको धारणा छ। 

नेपालमा विदेश नीतिका सम्बन्धमा फुटाउ र राज गर भन्ने प्रवृत्ति देखिने गरेको उल्लेख गर्दै दाहालले राष्ट्रिय एकता हुन नदिने चलखेल रोक्नका लागि छिमेकीहरुसँगको सम्बन्ध सन्तुलित बनाइने बताए। ‘अब समय फेरिएको छ। नेपाली जनता सार्वभौम छन्। जनता विभाजित होइन, एकतावद्ध बनाउनुपर्छ।’

उनले कार्यक्रमको मञ्चबाटै एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताको घोषणा गरिदिए। ‘ऋषि धमलाले पार्टी एकताको घोषणा गर भन्नुभयो, ल घोषणा भयो। घोषणा भइ नै सक्यो। म १४ वर्ष वनवास बसें, ओलीजीपनि १४ वर्ष जेल बस्नुभयो, मेरो र उहाँको वनवास र जेलवास नेपाली जनताकै लागि थियो, अहिले हामीले पाएको अवसरको सदुपयोग गर्छौँ, पार्टी एकता हुन्छ।’

प्रकाशित: १७ चैत्र २०७४ १४:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App