१५ चैत्र २०८० बिहीबार
राजनीति

२ कानुन तयार, एउटा विधेयक दर्ता

प्रदेशसभाकाे बैठकमा सहभागीहरू । तस्बिरः अशोकसुजन

मकवानपुर – प्रदेश नम्बर ३ को प्रदेश सभा बैठकले २ वटा कानुन तयार गरेको छ। शुक्रबार बसेको प्रदेश सभा बैठकले प्रदेशका केही सार्वजनिक लिखित प्रमाणीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक सर्वसहमत रुपले पारित गरेको हो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशका केही सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धी विधेयक र आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित सम्बन्धी विधेयक प्रस्तुत गरेका थिए। प्रदेश सभा नियमावली २०७४ को नियम १ सय १० र १ सय ११ बमोजिमको शर्तहरूको अधिनमा रही शुक्रबारसम्म कार्यव्यवस्था शाखामा संशोधन प्रस्ताव दर्ता गर्न सकिने भएपनि संशोधन प्रस्ताव नै दर्ता नभएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

एउटा विधेयक प्रदेश सभामा दर्ता
प्रदेश नम्बर ३ को मन्त्रिपरिषदले स्थानीय तह सेवा सुविधा सम्बन्धी विधेयकलाई थप परिमार्जन गर्दै पारित गरेको छ । शुक्रबार हेटौंडामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले यसअघि पारित गरेर पुनः छलफलका लागि फिर्ता लिएको विधेयकलाई पारित गरेको हो । विधेयकलाई शुक्रबारै प्रदेशसभा सचिवालयमा दर्ता गर्ने प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताएपनि दर्ता भने भएको छैन । बैठकपछि मन्त्री ढुंगेलले प्रदेश सभामा उठेका राजधानीको विषयलाई प्रक्रिया अनुसार गरिने बताए । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रीहरुको सेवा सुविधाको विषयमा पनि सैद्धान्तिक सहमति गरेको उनले बताए।

मुख्यमन्त्रीलाई सम्मान तथा ज्ञापन
मकवानपुर इसाई आवाजले प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलको सम्मान गरेको छ । मकवानपुरबाट निर्वाचित भई मुख्यमन्त्री भएको भन्दै आवाजले गुड फ्राइडेको अवसरमा मुख्यमन्त्री पौडेललाई सम्मान गरेको हो । कार्यक्रममा पौडेललाई मकवानपुरको इसाई आवाजले ज्ञापनपत्र समेत बुझाएको छ । नेपाल धर्म निरिपेक्ष राज्य भएकोले सबै धर्मलाई समान ढंगबाट हेर्नुपर्ने, धर्म परिवर्तन गर्दा हुने कारबाहीलाई हटाउनुपर्ने, उच्चस्तरीय इसाई आयोग निर्माण गर्नुपर्ने लगाएतको माग राखिएको मकवानपुर इसाई आवाजका सहसचिव सुन्दर दाहालले बताए ।

 

प्रकाशित: १६ चैत्र २०७४ १५:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App