१५ आश्विन २०७७ बिहीबार
राजनीति

कर्णाली प्रदेश : कर्मचारी नआउँदा समस्या, मन्त्रीको बास होटलमै

सुर्खेत – कर्णाली प्रदेशमा २४ जनाको दरवन्दी रहेको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा हालसम्म पाँच जना कर्मचारी मात्रै हाजिर भएका छन्। सामान्य प्रशासन मन्त्रालयले खटाएका सचिव प्रकाशकुमार रघुवंशीसहितका कर्मचारी अझै हाजिर हुन आएका छैनन्। मन्त्रालयमा नौ जना प्राविधिक अधिकृतको दरबन्दी छ। ति मध्ये केशवराज रिमाल मात्रै हाजिर भएका छन्।

१४ दिनअघि मन्त्री नियुक्त भएका खड्क खत्रीले सचिवसहितका कर्मचारीलाई हाजिर हुन पटक–पटक ताकेता गरिरहेका छन्। ‘खटाइएका अधिकांस कर्मचारी अन्तर प्रदेशका भएकाले कोही पनि यहाँ आउन मान्दैनन्’ मन्त्री खत्रीले भने, ‘कर्मचारी नहुँदा कुनै पनि कामहरु अघाडि बढाउन सकिएको छैन्।’ भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा खटाइएका सचिव रघुबंशीको पदावधि सकिन सात महिना बाँकी छ। उनी यहाँ (प्रदेश) मा आउन अनिच्छुक देखिएका छन्। 

आर्थिक मामिला तथा योजना मन्त्रालयले आर्थिक कार्यविधि विधेयक तयार गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको छ। यो विधेयकलाई अन्तिम रुप दिनका लागि कानुन सचिव, उपसचिवलगायत जनशक्तिको आवश्यकता पर्छ। सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्को कार्यालयलाई एक कानुनसहित दुई सचिव र पाँच जना उपसचिवलाई खटाएको छ। हालसम्म प्राविधिकतर्फका कर्मचारी आएका छैनन्। ‘कानुन सचिव नहुँदा आर्थिक मामिला तथा योजना मन्त्रालयले पठाएको विधेयकलाई अन्तिम रुप दिन सकिएको छैन्’ मन्त्रालयका एक कर्मचारीले भने, ‘खटाइएका कर्मचारी हाजिर नहुँदा सबै ठाउँमा समस्या भइरहेको छ।’

कर्मचारी अभाव यि दुई मन्त्रालयमा मात्रै होइन्, सबैको अवस्था उस्तै छ। प्रदेश सरकार सञ्चालनका लागि सामान्य प्रशासन मन्त्रालयले दुई सय १५ जना कर्मचारी खटाएको छ। प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभा सचिवालयसहित सात वटा मन्त्रालयका लागि खटाइएका यि कर्मचारी मध्ये अझै एक सय ४९ जना अझै हाजिर भएका छैनन्।
सरकारले विभिन्न विधेयक, नीति तथा कार्यक्रम, मन्त्रालयगत योजना तर्जुमा, प्रदेशको वर्तमान अवस्था र आगामी कार्ययोजनासहितको स्वेतपत्र जारी गर्ने तयारी गरिरहेको छ। ‘यि काम गर्नका लागि प्राविधिक जनशक्तिको हामीलाई खाँचो छ’ कार्यबहाक मुख्यमन्त्री प्रकाश ज्वालाले भने, ‘खटाइएका कर्मचारी पनि नआउँदा लक्ष्य अनुसारको काम गर्न सकिरहेका छैनौं।’

कर्मचारी नआएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही आइतबार काठमाडौं गएका छन् । उनले केन्द्र सरकारसँग कर्मचारी र बजेटका विषयमा कुराकानी गर्ने भौतिक पूर्वाधार मन्त्री खड्ग खत्रीले जानकारी दिए । ‘कर्मचारी र बजेटका विषयमा मुख्यमन्त्रीले केन्द्र सरकार र सरोकारवालासँग छलफल गर्नुहुनेछ’ मन्त्री खत्रीले भने, ‘तत्कालै कर्मचारीको अभाव पूर्ति हुने अपेक्षा हामीले गरेका छौं।’

मन्त्री होटलमै
एक साताअघि बसेको कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले मन्त्री तथा विशिष्ट कर्मचारीको आवास व्यवस्थापनका लागि भौतिक पूर्वाधार तथा विकास मन्त्री खड्ग खत्रीको संयोजकत्वमा समिति गठन ग¥यो। समितिलाई मन्त्री र विशिष्ट कर्मचारीका लागि आवासको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको थियो। 

समितिले अझै मन्त्री र कर्मचारीका लागि आवासको व्यवस्थापन गर्न सकेको छैन्। समितिका संयोजक खत्री नै होटलमा बसिरहेका छन्। ‘सात मध्ये पाँच जनाको व्यवस्थापन भएको छ, बाँकी दुई जना अझै होटलमै छौं’ मन्त्री खत्रीले भने, ‘क्षेत्रीय संरचना कायमै रहेकाले समस्या भइरहेको छ।’ खत्री वीरेन्द्रनगरको भेरी होटलमा बसिरहेका छन्। यस्तै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला फूलवारी होटलमा बस्ने गरेका छन्।

प्रकाशित: २० फाल्गुन २०७४ २१:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App